• होमपेज
  • फिचर
  • थारूको अर्गाानिक सौन्दर्य

थारूको अर्गाानिक सौन्दर्य

  • मङ्लबार, चैत्र ६, २०७४
थारूको अर्गाानिक सौन्दर्य

निर्मल धिताल । पूर्वजहरूले बाइसे चौबीसे राज्यबाट एकीकृत गरी एउटा सिङ्गो नेपाल बनाए । विभिन्न जातजाति धर्म, संंस्कृती, भेषभूषालगायत मानिसहरूमा आ–आफ्नै विविधता भएका कारण मानिसहरूलाई उनीहरूको काम वा अन्य पक्षबाट ४ वर्ण ३६ जात भनी वर्गिकरण गरे ।

तर त्यो वर्गिकरण न्यायसंगत थिएन । त्यही वर्गिकरणका कारण छुवाछुतजस्तो कुप्रथा जन्मियो । जुन आजसम्म पनि समाजमा जीवित छ । यही जगमा टेकेर सौन्दर्यशास्त्रको निर्माण भयो । जुन सबैभन्दा ठूलो दुर्घटना थियो । त्यही भयावह निर्णयको कारण आजसम्म पनि एउटा समुदाय पीडित छ ।

तर पनि हामीले त्यही कुरालाई मानिरहेका छौं । यो दुःखलाग्दो कुरा हो । तर मिथक या सौन्दर्यशास्त्रको निर्माण हुनको लागि समाजमा शताब्दीयौंसम्म प्रयेग हुनुपर्ने हुन्छ । र यो भत्किन उति नै समय लाग्छ, जति बनिनमा समय लागेको थियो ।
तर हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ ।

नेपालमा बहुसंख्यक जातिहरू भएता पनि नेपालले जातीय द्वन्द्व र कलहको सामना भने गर्नुपरेको छैन । विश्वमा नै नेपाल शान्तिको प्रतीकका रूपमा परिचित छ । यहाँका हरेक जातजातिहरूको आफ्नो छुट्टै अस्तित्व, पहिचान र महत्व छ । आफ्नै किसिमको अर्गानिक सौन्दर्य छ । तिनै आदिम सौन्दर्य बोकेर बाँचिरहेको एउटा समुदाय हो थारू समुदाय ।

पूर्वदेखि पश्चिमका समुदाय तथा तराईदेखि पहाडसम्म जाडो महिनामा मनाउने एक मात्र पर्व माघी हो पर्व । माघी पर्वलाई सम्पूर्ण जातजातिले मनाउने भएता पनि थारू समुदायले विशेष गरी परिवारको दीर्घायु तथा रोग व्याधीबाट बच्न विभिन परिकारहरू खाएर मनाउने चलन रहेको छ ।

विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा थारू समुदायले समाजका लागि बडघर चुन्ने, अगुवा तथा नेताहरू चुनेर वर्षभरिको हिसाबकिताब गर्ने चलन रहेको छ । थारू समुदाय एकदमै उदार भाव, सहयोगी स्वभाव भएका तराईका आदिवासी हुन् ।

माघी पर्वका दिन घरकी बहिनी र छोरीलाई विशेष दान दिने चलन समेत रहेको छ । शरीरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग उत्तम रहेको मान्यता छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ
विशेषगरी माघीमा थारू समुदायले घोगी, ढिक्री, मुरही, खिचडी, तिलको लड्डु, खँरिया, अन्डाभात, तरुल, माछा, खाने गर्दछन् ।

नेपालका आदिवासी र भूमिपुत्र थारूहरू नेपालको तराई र भित्री मधेसमा बसोबास गर्दछन् । २०६८ सालको जनगणनाअनुसार थारूको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ । केही लोकप्रिय थारू परिकार ढिक्री चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइने थारूको मौलिक परिकार हो, ढिक्री । जसलाई ढकिया (सानो मुख भएको माटोको भाँडो)माथि स्टिम गरी पकाइन्छ ।

ढिक्री
थारू समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ । ठाउँ विशेषअनुसार ढिक्रीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ ।

लाइलड्डु नयाँ वर्ष, नयाँ जन्मजस्ता शुभ समयमा भुजियालाई गुँदमा मुछेर बनाइएको परिकारलाई थारूले लाइलड्डु भन्छन् ।
माघीको दिन थारू परिवारमा घरको चामल, दाल, नुन, खुर्सानीजस्ता अनाज परिवारका सबै सदस्यलाई भाग लगाइन्छ । बिहान ४ बजे नै नुहाएर शुद्ध भइसकेपछि सबैले आ–आफ्नो भाग छोएर लाइलड्डु भोग गर्ने नियम रहेको छ ।

कसार
माघी पर्वमा विभिन्न परिकारसँगै कसार पनि खाइन्छ । भुटेको चामल पिँधेर बनाइएको लड्डुलाई कसार भनिन्छ । दूधपुवा दूधपुवा पनि थारू जातिले खाने परिकार हो । चामलको पिठो मुछेर माटोको भाँडामा रोटी पकाइन्छ । तात्तातै रोटीलाई उम्लिरहेको दूधमा डुबाएर दूधपूवा बनाइन्छ । शरीरलाई दूध र चामलबाट पाइने पौष्टिक तत्व पाइने हुनाले यो स्वास्थ्यवद्र्धक हुन्छ ।

घोँगी
थारूको अति प्रिय भोजन हो, घोँगी । शंखेकीराजस्तै देखिने घोँगी खोला अनि तलाउमा पाइने सामुद्रिक जीव हो । त्यसैले यसलाई ‘थारू सी फुड’ पनि भनिन्छ । घोँगी खाएपछि ढाड, घुँडा, जोर्नीको दुखाइ निको हुने थारू समुदायको विश्वास रहेको छ । घोँगी बटुलेपछि सफा गर्ने थारू समुदायको आफ्नै प्रविधि छ । सफा गरी उसिनेर पकाइएको घोँगीलाई चुसेर खाइन्छ ।

गंगटा
गंगटा थारू समुदायमा प्रसिद्ध सी फुड गंगटा पनि हो । गंगटालाई विभिन्न तरिकाले पकाउन सकिन्छ । छिपछिपे पानी, दलदले हिलो, खोलाको मुहान नजिक गंगटा पाइन्छन् । गंगटाको खुट्टा केलाइन्छ । त्यसपछि राम्रोसँग पखालेर तेलमा फ्राई गरी पकाइन्छ । यसलाई फ्राइड वा सुप दुवै तरिकाले पकाएर खाने चलन रहेको छ । झिँगे माछा
पानीमा झिँगाजस्तै उफ्रिहिँड्ने माछा झिँगे माछा हो । झिँगे माछा सबै समुदायले खान्छन् । थारूको पनि यो प्रिय परिकार हा । तलाउ, पोखरीमा पाइने यो माछालाई जालले छोपेर मारिन्छ । झिँगे माछालाई प्रोटिन र क्याल्सियमको स्रोतका रूपमा लिइन्छ ।

सानो बाम
सानो आकारको बाम माछालाई पनि थारूको प्रिय परिकार मानिन्छ । थारूले सानो बाम माछालाई तारेर सस्युँ र लसुनमा पकाउने चलन रहेको छ । उच्च प्रोटिनयुक्त हुने र स्वादिलो हुने भएकाले थारू समुदायमा यो धेरै मन पराइन्छ ।

ऐँठा
घोँगीभन्दा ठूलो आकारको हुन्छ, ऐँठा । घोँगी चुच्चो आकारको हुन्छ भने ऐँठा अलि चेप्टो गोलो आकारको हुन्छ । घोँगीलाई पोथी र ऐँठालाई भाले भनिन्छ । । ऐँठालाई उसिनेर मासु निकालिन्छ । उसिनेपछि भित्रको मासुको भाग आफैँ बाहिर निस्कन्छ । त्यसरी निस्केको मासुलाई सेकुवा वा तास बनाएर खाने चलन रहेको छ । ऐँठा पनि घोँगीजस्तै सामुद्रिक जीव भएकाले प्रोटिन र क्याल्सियमयुक्त मानिन्छ ।

सितुवा
सितुवा पानीमा पाइने एक प्रकारको जीव हो । यसको बाहिरी भाग कडा खोलले बनेको हुन्छ । यो जमेको पानी या तलाउहरूमा पाइन्छ । सितुवालाई पहिले उसिन्नुपर्छ । उसिनेपछि बाहिरी खोल खुल्छ । खोल फुटाएर भित्री भागमा रहेको मासु मात्र खाइन्छ ।

अनई माछा
अनई माछा सर्पजस्तो आकारको हिले माछालाई थारू जातिले अनई माछा भन्छन् । यो पानीको स्रोतनजिकका माटो, हिलो र दलदलमा पाइन्छ । हिलोमा बस्ने भएकाले यसलाई समात्न निकै गाह्रो हुने गर्छ । सर्पजस्तो भए पनि यो माछाले टोक्दैन । पुच्छरको भाग माछाको जस्तो चेप्टो हुनाले अनई माछालाई चिन्न सकिन्छ । अनई माछा खाए रगत बढाउने र मेरुदण्ड, जोर्नी दुखेको ठीक पार्छ भन्ने थारू समुदायमा विश्वास रहेको छ ।

 

यो थारू समुदायले बनाउने परिकारहरू हो । प्रकृतिप्रेमी उनीहरू प्रकृतिलाई पूजा गर्छन् । प्रकृतिले दिएका या प्रकृतिमा पाइएका कुराहरूलाई इश्वरीय उपहार मान्ने यो समुदायको हर क्रियाकलाप प्रक्रितिसँग जोडिएको छ । तर पछिल्लो समय उनीहरूको आफ्नो जीवनशैलीमाथि हमला भइरहेको छ । कतिले त उनीहरूको दुःखलाई बेचेर मागिखाने भाँडो बनाएका छन् । यो दुर्भाग्यपूर्ण कुरा हो । यसबारे बौद्धिक वर्ग र समाजशास्त्रीहरूले आवाज उठाउन जरुरी छ । राजतिलक साप्ताहिकबाट

Facebook Comments

सम्बन्धित समाचार