• होमपेज
  • पर्यटन
  • ऋखार जाने भक्तजन बढे

ऋखार जाने भक्तजन बढे

  • सोमवार, भदौ २५, २०७५
ऋखार जाने भक्तजन बढे

कमल खत्री । डुँगा आकारको ढुँगा । ढुँगा माथि मन्दिर । ढुँगाको फेदीमा तलाउ । पहाडको टुप्पोमाथि रहेको यो क्षेत्र पवित्र धार्मिक स्थल ऋखार हो । रघुगंगा गाउँपालिका–८ मा अवस्थित ऋखार धार्मिक स्थल त हो नै प्राकृतिक सौन्दर्यको हिसाबले पनि मनोरम छ । धौलागिरि हिमालको फेदीमा करीब ४ हजार ६०० मिटर उचाइमा पर्ने यो ठाउँमा वैशाखदेखि असोजसम्म नै पूजाआजा हुने गर्छ ।

ऋखार मन्दिरमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले हरेक वर्ष यहाँ पुग्ने भक्तजनको संख्या बढ्दै गएको छ । जनैपूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की लगायतका क्षेत्रबाट भक्तजनहरु पुग्ने गरेको ऋखार संरक्षण तथा सुधार समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो । यस वर्ष जनैपूर्णिमामा ३०० भन्दा बढी भक्तजन ऋखारमा पुगेका थिए ।

सप्तऋषिहरुले तपस्या गरेको ऋखारमा पूजा गर्न चोखो र अघिल्लो दिनदेखि नै व्रत बसेको हुनुपर्ने मान्यता रहेको छ । मनोकांक्षा पूरा आशा बोकेर दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी यहाँ भक्तजनहरु पुग्ने गरेका छन् । ऋखारमा वर माग्न गएका भक्तजन र सर्वसाधारण यस क्षेत्रबाट देखिने मनोरम दृश्यले लोभिएर फर्कने गरेका छन् ।

ऋखारको धार्मिक महत्व सुनेर पहिलो पटक पूजा र दर्शनका लागि पुगेका बेनी नगरपालिका–९ का याम बहादुर चोखालले यो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो ठाउँ प्राकृतिक रुपमा पनि मनोरम रहेछ । यहाँ पदमार्गलगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ । वस्तीदेखि धेरै टाढाको ठाउँ भएकाले स्वास्थ्य र सुरक्षाको समेत प्रवन्ध गर्न सक्ने हो भने यो क्षेत्र उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सम्भव छ ।”

सदरमुकाम बेनीदेखि तीन दिनको पैदल यात्रापछि ऋखार पुगिन्छ । आफ्नो मनोकांक्षा पूरा भएकाले हरेक वर्ष आफू ऋखार आउने गरेको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका सूर्यदक्त शर्माले बताउनुभयो ।

सप्तऋषिले तपस्या गरेको पुण्यभूमि ऋखारमा पूर्वाधारहरु नबनेको भए पनि वृद्धवृद्धादेखि युवायुवतीसमेत पुग्ने क्रम बढिरहेको पात्लेखर्क ऋखार युवा क्लबका सचिव अंकित पुनले बताउनुभयो ।

उहाँका अनुुसार ऋखार हुँदै धौलागिरि आधार शिविर, चेमले आधार शिविर जाने मार्गसमेत पहिचान भैसकेको छ । ऋखार मन्दिर परिसरमा वर्षौंदेखि रहेको दमाहा आकारको तामाको भाँडोमा बाहिरबाट पानी नराखिने र भित्रबाट जति पानी झिकेपनि नसकिने अनौठो विशेषता रहेको छ ।

लामो समयदेखि ऋखार क्षेत्रको विकासमा क्रियाशील रहँदैआउनु भएका ‘अद्भूतबाबा’ बम बहादुर शेरपुञ्जाले भन्नुभयो – “यहाँ आउने भक्तजनहरु सबैले यस भाँडाबाट जल लैजाने गर्छन् । भाँडामा बाहिरबाट कसैले पनि पानी राख्दैनन् । जति झिके पनि भाँडो रिक्तिँदैन । यसले ऋखारको महत्वलाई थप बढाएको छ ।”

पोखराबाट ऋखार मन्दिर पुग्नुभएकी हमती छन्त्यालले भन्नुभयो – म तीन पटक यस मन्दिरमा आइसकेकी छु । अघिल्लो वर्ष छोरो आएको थियो । यहाँ आएर छोरोले गरेको भाकल पूरा भयो । उनी अहिले अष्ट्रेलियामा छन् ।”

ऋखार जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी, पात्लेखर्क हँुदै पुग्न सकिन्छ । यहाँ पुग्ने भक्तजन र पर्यटकहरुलाई बस्नका लागि पात्लेखर्क, बगरखोला र ऋखारमा तीर्थबास भवन बनाइएको छ ।

यहाँ भक्तजनहरुलाई निःशुल्क खाना ख्वाउने व्यवस्था गरिएको हिमाली आमा समूहका सचिव एवं वडा सदस्य प्रिती गर्बुजाले जानकारी दिनुभयो । “पहिले यहाँ आएपछि आफन्तको घर खोज्नुपथ्र्यो, अहिले तीर्थबास भवनमा गाउँलेले नै खाना र बसोबास सबैको बन्दोबस्त मिलाउँछन् ।

बगरखोलामा पनि भक्तजनलाई खानाका लागि सामग्री जुटाइदिने गरेका छौं” – उहाँले भन्नुभयो । अग्लो पहाडको टुप्पोमा रहेको ऋखारमा सप्तऋर्षि कश्यप, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ, विश्वामित्र र अत्रीले तपस्या गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

पर्यटकीय गन्तव्य यस क्षेत्रमा पुग्न व्यवस्थित पदमार्ग निर्माण र यस क्षेत्रमा रहेका आकर्षणहरुको प्रचारप्रसार गर्न सकिए भक्तजनसँगै पर्यटकहरु समेत भित्र्याउन सकिने सम्भावना छ । ऋखार क्षेत्रमा पुग्ने भक्तजनहरुलाई स्थानीयवासीले सत्तल निर्माण गरिदिएका छन् भने वरपर रहेका भेडीगोठहरुमा समेत बास बस्ने व्यवस्था मिलाउने गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा यो वर्षलाई ‘म्याग्दी भम्रण वर्ष’को रुपमा मनाइरहँदा ऋखार क्षेत्रलाई उजिल्याउन पनि आवश्यक छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि