• होमपेज
  • पर्यटन
  • पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

  • आइतवार, मंसिर ७, २०७७
पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

जिल्लाको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर । यी दुवै कारणले बेथानचोक नारायणस्थान डाँडा निकै चर्चामा छ ।

भूगोलको हिसाबले निकै अग्लो रहेको सो ठाउँमा अचेल आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । हिमालका मनमोहक दृश्यसँगै तराईको समथर भूभागदेखि जिल्लाका विभिन्न पालिकाको भौगोलिक अवस्थालाई नियाल्नसमेत उपयुक्त रहेको सो ठाउँमा बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबजारबाट हिँडेर तीन घण्टामा सजिलै पुग्न सकिन्छ । यहाँबाट नजिकको आभास हुने गरी सूर्योदयको दृश्यावलोकन गर्नसमेत सकिने भएकाले हिजोआज सो ठाउँमा आन्तरिक पर्यटकको घुइँचो बढेको हो । हिउँदको समय, खुला आकाश, शान्त र मनोरम वातावरण, त्यससँगै नजिकैको जङ्गलबाट आउने चरचुरुङ्गीको सुमधुर आवाज सङ्गीतझैँ कानमा गुञ्जने गर्दा अर्को आनन्दको अनुभूति गर्न सकिन्छ । त्यसमाथि वरिपरि हरियाली जङ्गलदेखि माथिको ठूलाठूला चट्टानले बनेको अग्लो खुला ठाउँ, जहाँ बस्न, रमाइलो गर्न र वनभोज खानसमेत पर्याप्त ठाउँ भएकाले पनि पर्यटकको रोजाइमा बेथानचोक नारायणस्थान डाँडा पहिलो गन्तव्य बनेको छ ।

त्यहाँ पुग्ने पर्यटकको साझा अनुभूति छ, “जीवनमा प्राकृतिक, धार्मिक र स्वस्थ हुनु छ भने बेथानचोक नारायणस्थान डाँडा रोज्नु उत्तम हुन्छ ।” जानका लागि खासै गाह्रो नभएको, धार्मिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको नारायणस्थान डाँडा हरेक दृष्टिकोणले धेरै राम्रो लागेको काठमाडौँबाट घुम्न पुगेका टोलीको भनाइ छ । “धर्ममा आस्था राख्नेले नारायणको दर्शन गर्न पाउनु, प्रकृतिप्रेमी प्राकृितक सुन्दर दृश्यसँग एकाग्र हुन पाइने र मनोरञ्जन लिनका लागि उपयुक्त वातावरण भएकाले निकै सुन्दर छ”, टोलीका सदस्यहरूले भन्नुभयो । त्यहाँ पुग्नेहरुले भने फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँहरुको भनाइ छ ।

त्यहाँ पहिलोपटक घुम्न पुग्नुभएका ललितपुर पाटनका रिजन महर्जनले सूर्योदयको दृश्यावलोकन निकै राम्रो लागेको बताउनुभयो । वरिपरिबाट गुञ्जने चराचुरुङ्गीको सुमधुर आवाजसँगै नारायण मन्दिरको दर्शन गर्न पाउनु बेथानचोक नारायणस्थान डाँडाको अर्को विशेषता हो । यो स्थान समुद्री सतहबाट तीन हजार १८ मिटरको उचाइमा रहेको छ । पर्यटक बिहानीको सूर्योदय हेर्नका लागि बेलुका नै सो ठाउँमा गएर टेन्ट हालेर बस्ने र बिहान उठ्नासाथ सूर्योदयको दृश्यावलोकनपश्चात वरिपरिको दृश्य नियाल्दै मनोरम वातावरणमा आनन्द लिने गर्दछन् । सूर्यदेवको दर्शनसँगै त्यहीँ रहेको ऐतिहासिक नारायणको मन्दिरमा दर्शन गरी फर्कने गरेको त्यहाँ पुगेका पर्यटक बताउँछन् ।

स्थानीय बासिन्दा रमेशप्रसाद तिमल्सिनाका अनुसार नारायण मन्दिरको इतिहास धेरै पुरानो छ । भक्तपुरबाट भूपतिन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा गाउँपालिका–३ को मसानघाटमा आएर बसेको किंवदन्ती छ । अहिले सो ठाउँलाई शिवालय भनिन्छ । “सो ठाउँको ठीक पारिपट्टि नेवार बस्ती रहेको र बिहान सबेरै कुखुरा कराउने, ढिकीजाँतो चलाउने आवाजका कारण त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने छ”, उहाँले भन्नुभयो, “मासुचाहिँ देख्नै हुँदैन भगवान् नारायणलाई । हिंसा मन नपर्ने भएकाले वरिपरि जाँड, रक्सी र मासु खाएर होहल्ला गर्नुहुँदैन ।”

दृश्यावलोकनसँगै शान्त र सुन्दर ठाउँ भएकाले पनि पर्यटक धेरै मात्रमा घुम्न आउने गरेको उहाँले बताउनुभयो । पहिला मन्दिरको संरचना नै नभएका कारण विसं २०५६ मा राघवेन्द्र गुरुले त्यहाँ पुगेर मन्दिर स्थापित गर्नुका साथै कोटिहोम लगाएर थप व्यवस्थित गर्ने काम गरेको स्थानीय बासिन्दा बताउँछन् । विसं २०७६ मा भने भक्तपुरबाट इँटा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी मन्दिर निर्माण गरेको तिमल्सिनाले बताउनुभयो । विषेशगरी फागुन पूर्णिमामा मेला लाग्ने गरेको नारायणस्थान डाँडालाई थप व्यवस्थित गर्न आवश्यक रहेको स्थानीय बासिन्दाले पालिकासँग माग गरेका छन् ।

बेथानचोक–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले पर्यटकको रोजाइमा परेको नारायणस्थान डाँडामा कोरोना भाइरस प्रभावका कारण बन्दाबन्दीको समयमा स्थानीय सरकारले आवतजावतमा रोक लगाउनुका साथै मन्दिरसमेत बन्द गरेको र पछि पर्यटकको धेरै अनुरोधका कारण सो क्षेत्रमा प्रवेश खुला गरेको बताउनुभयो । प्रवेश खुला गरेसँगै पुनः सो ठाउँमा आन्तरिक पर्यटकको आवागमन निकै बढेको छ । अहिले दैनिक डेढदेखि दुई सयसम्म पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

पर्यटकको सङ्ख्यामा वृद्धिसँगै पालिका त्यहाँ जाने सिँढी बाटोको स्तरोन्नति, मन्दिरको जीर्णोद्धार गर्नुका साथै पर्यटकलाई बस्ने ठाउँको व्यवस्थापनमा लागेको उहाँले बताउनुभयो । त्यसका लागि पालिकाले फोहर व्यवस्थापन कार्यविधिसमेत निर्माण गरिसकेकाले अब सो क्षेत्रको सरसफाइ व्यवस्थापनको काम व्यवस्थित हुने उहाँको भनाइ छ ।

सो ठाउँमा घनाजङ्गल रहेका कारण बाटो बिराएर पर्यटक हराउन सक्ने अवस्थासमेत रहेको भन्दै त्यसका लागि विवरण सङ्कलन गर्ने तयारीमा स्थानीय सरकार रहेको छ । त्यसका लागि बेथानचोक नारायणस्थान डाँडा प्रवेशद्वार गेल्डुङबजारमा नाम सङ्कलन गरेर मात्रै नारायणस्थान डाँडा प्रवेशका लागि अनुमति दिने व्यवस्था गर्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यससँगै स्थानीय सरकारले सो क्षेत्रमा जान भौतिक विकासको पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार