• होमपेज
  • पर्यटन
  • उठ्दैछ ऐतिहासिक नरसिंहकोट

उठ्दैछ ऐतिहासिक नरसिंहकोट

  • आइतवार, अशोज ३१, २०७८
उठ्दैछ ऐतिहासिक नरसिंहकोट

गलकोट, ३१ असोज (रासस)ः जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि अभियान नै थालेको छ ।

पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटलाई समेत प्राथमिकतामा राखेर विकास गर्न थालेको छ । तत्कालीन बाइसे चौबिसे राज्य हुँदा जिल्लाको विभिन्न ठाउँमा विभिन्न राजाले राज्य सञ्चालन गरेको पाइन्छ । यसमध्ये जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटको नरसिंहकोटमा पनि राजाले राज्य सञ्चालन गरेको बुढापाका बताउँछन् ।

भूरे राजाले राज गरेको यस स्थान अहिले निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । तत्कालीन अवस्थामा भुरे राजाले दरबार बनाएर करिब ७÷८ वर्ष राज गरेको स्थानीयवासी ८३ वर्षीय टीकाबहादुर कुँवर बताउनुहुन्छ । त्यस क्षेत्रमा राजाले आफू बस्ने दरबार, पौवाहरु निर्माण गरेको र विस्थापित भएपछि दरबार र पौवाहरु जीर्ण भएर भत्किएको उहाँले बताउनुभयो । दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडिसम्म भग्नावशेष भेटिने गरेको स्थानीयवासी बताउँछन् ।

नरसिंहकोट र राजकुटको अर्थ बेग्ला–बेग्लै भएको स्थानीयवासी बताउँछन् । ‘राजकुट’ तत्कालीन बाइसे चौबिसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोट’ भन्ने गरिएको र अहिले आएर ‘राजकोट’लाई राजकुट भन्ने गरिएको उहाँको भनाइ छ ।

यस्तै ‘नरसिंहकोट’ राजाले पूजा गर्ने नरसिंह देवताको नामबाट नामाकरण हुन पगेको कुँवरको भनाइ छ । तत्कालीन समयमा भुरे राजा र प्यूठानी राजाबीच युद्ध भएको र प्यूठानी राजले भुरे राजाको वंश नाश गरी दिएको र उनका सयौँ सिपाहीहरुको युद्धमा ज्यान गएको स्थानीयवासी कुँवरको दाबी छ ।

उहाँले प्यूठानी राजाले भुरे राजाका धेरै सिपाहीलाई भिरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरुको स्मृतिमा हालको नरसिंहकोटमा नरसिंह मन्दिर निर्माण गरिएको बताउनुभयो । उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको हो ।

नरसिंहकोटमा अहिले पनि मन्दिर छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बागलुङ, प्यूठान, गुल्मी लगायतका विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन् ।

केही वर्ष अगाडिसम्म उक्त स्थानमा भुरे राजाको दरबारका भग्नावशेष भेटिने गरेको कुँवर बताउनुहुन्छ । अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने स्थानीयवासी बताउँछन् । राजाले राज गरेको क्षेत्रमध्ये हाल करिब १०० रोपनी गुठीको जग्गा रहेको छ । त्यसमध्ये केही खेत र केही बाँझो जमिन बताइएको छ । ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणीय छ । त्यस क्षेत्रमा मन्दिर र राजाले निर्माण गरेको मौलो (पोखरीको बीचमा रहने वस्तु) समेत छ ।

राजा विस्थापित भएपश्चात् निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरेको छ । राजकुटमा पर्ने नरसिंहकोट गाउँपालिकाको नमूना पर्यटकीय गन्तव्यका रुपमा परिचत छ । यो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको छ । जसले धेरै पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ आउने जोे कोही यहाँबाट देखिने मनोरम दृश्यले मोहित हुने गर्दछन् । यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरु देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खलाहरु र उच्च मनोरम पहाडी भेगहरुको अवलोकन गर्न सकिन्छ ।

पछिल्लो समय आन्तरिक पर्यटकहरु समेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका–७ का वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले (नहकुल) जानकारी दिनुभयो । उहाँले बुर्तिबाङ बजारको नजिक पर्ने हुँदा आन्तरिक पर्यटक भित्र्याउन सहज भएको बताउनुभयो ।

नरसिंहकोट क्षेत्रमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टामा पुग्न सकिन्छ पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालजण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधानमा जाँदा केही फेरो पर्छ ।

बुर्तिबाङबाट अधिकांश पर्यटकहरु पैदल यात्रामै त्यहाँ पुग्ने गरेको पाइन्छ । नरसिंहकोटबाट नजिकै रहेको टापुले पनि धेरैको मन लोभ्याउने गरेको छ । नरसिंहकोटमा पुग्ने पर्यटक १५÷२० मिनेटमै टापुमा पुग्न सक्छन् । यस क्षेत्रको प्रवद्र्धनका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै भौतिक संरचना निर्माण र यस क्षेत्रको विकासमा जुटेको वडाध्यक्ष कुँवरको भनाइ छ ।

उहाँले सुरुको वर्ष पर्यटन पदमार्ग निर्माण गरेको र हालसम्म क्रमशः पर्यटन पार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माण लगायतका काम भएको बताउनुहुन्छ । उहाँले पहिलेको तुलनामा निकै परिवर्तन आएको बताउनुहुन्छ । नरसिंहकोट क्षेत्रलाई गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य भएको हुँदा यसको विकासका लागि सिङ्गो पालिकाको ध्यान केन्द्रित भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । उहाँले यसको विकासका लागि गुरुयोजना नै बनाएर पूर्वधार निर्माणमा जुटेको बताउनुहन्छ ।

Facebook Comments

सम्बन्धित समाचार