• होमपेज
  • Uncategorized
  • भोट हाल्न व्यग्र प्रतिक्षामा धनुषावासी

भोट हाल्न व्यग्र प्रतिक्षामा धनुषावासी

  • बुधबार, भदौ २१, २०७४
भोट हाल्न व्यग्र प्रतिक्षामा धनुषावासी

प्रकाश सिलवाल,

धनुषा, भदौ २१–

“पहिले किन चुनाव रोकियो थाहा भएन, हामी भोट हाल्न त्यसबेलै तयार थियौँ ।” यसो भन्नुहुने नगराइन नगरपालिका–४, बजारटोल निवासी रामशंकर ठाकुरलाई राम्रैसँग स्थानीय तहको निर्वाचन लागेको छ ।

सामान्य व्यवसायी भए पनि ठाकुरले बजार टोलमा निर्वाचन आउन लागेको र आफ्नो अधिकारका लागि भोट दिनुपर्छ भन्ने जनमत सिर्जना गर्दै आउनुभएको छ । गत वैशााख ३१ मा मुलुकका पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो भने पटकपटक मिति सार्दै प्रदेश नं २ मा भने तेस्रो चरणमा आउँदो असोज २ गतेका लागि तय भएको छ ।

तराई मधेशमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन नभएसम्म निर्वाचन हुन नदिने र आफू पनि भाग नलिने चेतावनी दिएपछि निर्वाचनको मिति सरेको थियो ।

व्यवस्थापिका संसद्बाट संविधान संशोधनको प्रस्ताव असफल भए पनि राजपाका अन्य केही माग पूरा भएसँगै सो दलले निर्वाचनमा भाग लिने निर्णय गरेपछि चुनावी माहोल तातेको छ । आजै हुने मनोनयन दर्ताका लागि यहाँका अधिकांश दलले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।

ठाकुरको विचारमा पञ्चायतकालदेखि यहाँ जसले जनताको विकासका लागि काम गरेको छ त्यसैले मत पाउँदै आएको जनाउँदै प्रमुख ठूला दलबीचमै प्रतिस्पर्धा देखिएको बताउनुभयो । तर स्थानीयवासी भने कुन दललाई जिताउने हो भन्नेमा खुलिहाल्न चाहँदैनन् । “भोट हाल्ने हो, कुनमा हाल्ने भन्ने त मतपेटिकामा गएपछि थाहा हुन्छ ।” सोही टोलका शिवजी मण्डलले भन्नुभयो ।

धनौजी गाउँपालिका–५, बहुअर्वाका दिलीप ठाकुर मतदानको तयारीमा आफू रहेको तर दल र नेताको व्यवहारका कारण उनीहरुका बारेमा धेरै बोल्न मन नलाग्ने प्रतिक्रिया दिनुभयो ।

यहाँका अधिकांश विद्यालयमा मतदानका लागि बुथ राखिएकाले करिब एक साता अघिदेखि विद्यालय प्रभावित हुने भएकाले पनि निर्वाचनको थप लहर देखिएको छ । राष्ट्रिय आधारभूत मावि, देवडिहाका प्रधानाध्यापक प्रेमलाल पासवान स्थानीय पर्वमा समेत बिदा दिनुपर्ने स्थितिमा निर्वाचनजस्तो महत्वपूर्ण सन्दर्भमा बिदा नदिए पनि पठनपाठन सुचारु हुन नसक्ने बताउनुहुन्छ ।

नेपाल पत्रकार महासंघ, धनुषाका पूर्व जिल्ला अध्यक्ष रामाशीष यादव ठूला दलहरुले नीति, सिद्धान्त छाडेर पैसा, जात र बाहुबली (शक्ति) का आधारमा उम्मेदवारी दिएकाले स्वतन्त्र, इमानदार र बुद्धिजीवीलाई निर्णय गर्न कठिन भएको टिप्पणी गर्नुहुन्छ ।

पहिलो चरणमा नभए पनि दोस्रो चरणमा प्रदेश नं २ मा पनि निर्वाचनमा हुनसक्ने स्थिति थियो भन्दै सामाजिक काममा सक्रिय उहाँले संविधान संशोधन नभए पनि राजपा निर्वाचनमा आएको अवस्थामा आखिर किन माग पूरा नगरी आयो त ? भन्ने प्रश्न कायमै रहेको बताउनुभयो ।

“न उसको माग पूरा भयो, न पहिले चुनाव हुन सक्यो, अहिले पनि सिके राउतहरु मतपेटिका बाहिर मतदान गर्न भन्दैछन्, आखिर जनताले आफ्ना जनप्रतिनिधि छान्न ढिला मात्र भयो । अब चुनाव आएको छ, जनताले निर्णय दिने नै छ,” यादव भन्नुहुन्छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार