• होमपेज
  • बजार
  • ५० हजारमै बन्छ मोडुलर किचेन

५० हजारमै बन्छ मोडुलर किचेन

भान्छालाई कसरी चिटिक्क बनाउने

  • बिहिबार, कार्तिक १४, २०७६
५० हजारमै बन्छ मोडुलर किचेन

घरलाई आकर्षक बनाउन धेरै पक्षको समिश्रण मिलेको हुनुपर्छ । घरको इन्टेरियर डिजाइन, रङरोगन, बैठक कक्ष इत्यादिका साथै भान्छाकोठा तथा डाइनिङको पनि यसमा महत्त्वपूर्ण भूमिका रहन्छ ।

खासगरी भान्छामा धेरैको रुची हुन्छ। यसका लागि पछिल्लो समय बजारमा कस्ताकस्ता सामग्रीहरू आएका छन् र त्यसका लागि के कति बजेट छुट्याउनुपर्ला त?

पछिल्लो समय घरको भान्छा भन्नासाथ ‘मोडुलर किचेन’ अर्थात् आधुनिक भान्छा भन्ने बुझाइ स्थापित हुँदै गएको छ । यस्तो आधुनिक भान्छाले आकर्षक र छरितो डिजाइन, सेटिङ, त्यहाँ प्रयोग भएको चिम्नी, चुल्होका साथै अन्य आधुनिक उपकरणहरू जनाउँछ । अझै भान्छालाई व्यवस्थित बनाउन फ्रीज, ओभनलगायतका किचेन अप्लायन्सहरूले महत्त्व राखेका हुन्छन् ।

त्यसो त एउटै भान्छाकोठा (डाइनिङसहित) का लागि ५०औं लाख रुपैयाँ खर्चिएर बनाइएको पनि भेटिन्छ काठमाडौंमै । तर यो आम नेपालीको हैसियतभन्दा धेरै टाढाको कुरा हो । यसैले सकेसम्म कम खर्चिएर चिटिक्कको आधुनिक भान्छा बनाउन चाहन्छन् अधिकांश परिवार ।

मध्यमस्तरको मोडुलर किचेन तयार पार्न अहिले न्यूनतम दुईदेखि साढे २ लाख रुपैयाँको हाराहारी लाग्ने यससँग सम्बन्धित व्यवसायीहरूको भनाइ छ । यद्यपि, सस्ता सामग्रीहरू प्रयोग गर्ने हो भने सामान्य किसिमको मोडुलर किचेन ५० हजार रुपैयाँमै बनाउन सकिने त्रिपुरेश्वरस्थित मोर्डन किचेनका सञ्चालक दिनेश श्रेष्ठ बताउँछन् ।

काठमाडौंको कालीमाटीस्थित युरिका किचेन ग्यालरीले एक लाख रुपैयाँमै आकर्षक मोडुलर किचेन तयार पारिदिने यसका सञ्चालक दिपुल थापाले बताएका छन् । दशैंलाई लक्षित गरेर कम्पनीले ग्राहकलाई यो मूल्यमा आधुनिक भान्छा तयार पारिदिने अफर ल्याएको उनले जानकारी दिए ।

भान्छाकोठाको आकारका साथै प्रयोग हुने प्रणाली, सामग्री र अन्य उपकरणका साथै तिनको ब्रान्ड र गुणस्तरले मोडुलर किचेनको खर्च निर्धारण गर्ने उनले जानकारी दिए । श्रेष्ठको मोर्डन किचेनले नै पनि १२ लाख रुपैयाँसम्मको मोडुलर किचेन तयार पारिसकेको उनले बताए ।

नजिकिँदो चाडपर्वलाई ध्यानमा राखेर कम्पनीले मोडुलर किचेन बनाउँदा कुल लागतको १० देखि १५ प्रतिशत र चुल्हो, चिम्नीलगायतका सामग्री खरिदमा दुईदेखि पाँच प्रतिशतसम्म छुट दिने यसकी सञ्चालक उर्मिला वन्तले बताइन् ।

मोडुलर किचेनलाई आकर्षक बनाउन किचेनमा प्रयोग हुने टायलदेखि टल युनिट अर्थात् भर्टिकल क्याबिनेटको मूल्य ३० हजारदेखि तीन लाख रुपैयाँसम्म पर्ने युरिका किचेनका थापाको भनाइ छ ।

एक लाखसम्मका किचेन चिम्नी 
नेपाली बजारमा अहिले दर्जनौं ब्रान्डका चिम्नीहरू पाइन्छन् । मार्टिन, फेवर, ग्लेन, इलिका, एल्डा, सनराइज, स्मार्ट, एसके इनर्जी इत्यादि त्यसमध्येका केही बान्ड हुन् जसको अधिकतम मूल्य एक लाखसम्म रहेको छ ।

नेपाली बजारमा पाइने इटालियन ब्रान्डका चिम्नी तथा अन्य किचेन एसेसरिजहरू पनि पछिल्लो समय भारतमै उत्पादन भएर आउने गरेका सम्बन्धित व्यापारीहरू बताउँछन् । सनराइज, स्मार्ट तथा एसके इनर्जी चिनियाँ ब्रान्ड हुन् । यी चिम्नी भारतीय उत्पादनभन्दा सस्तो पर्छ । व्यवसायीहरूका अनुसार भारतीय चिम्नीको मूल्य १३ देखि १८ हजार रुपैयाँसम्म पर्छ । इटालियन ब्रान्ड मार्टिनको चिम्नीलाई भने ४० हजार रुपैयाँ पर्ने बताइएको छ ।

फेबर, ग्लेन, ऐलिका, एल्डा इत्यादि नेपाली बजारमा पाइने भारतीय चिम्नी ब्रान्ड हुन् । यी फरक फरक ब्रान्डका भए तापनि यिनको मूल्य भने खासै फरक नरहेको मोर्डन किचेनकी वन्तले बताइन् । क्यासल तथा बाफ्फल फिल्टर प्रयोग गरिएको फेबर ब्रान्डको चिम्नी विभिन्न विशेषतामा आउँछ । यसको टच सिस्टम तथा एलईडी लाइट प्रयोग गरिएका चिम्नी दुईदेखि तीन फीटसम्म भित्तामा झुन्ड्याउन मिल्ने बताइएको छ । यस्तो चिम्नीको मूल्य विशेषता हेरेर १६ देखि ९५ हजार रुपैयाँसम्म पर्ने विक्रेताले जानकारी दिएका छन् ।

फेवरकै अर्को चलेको प्रडक्ट हो मिरर चिम्नी । नेपाली बजारमा यसको मूल्य साढे ९३ हजार रुपैयाँ रहेको छ । यसले प्रतिघण्टा एक हजार घनमिटरसम्म बाफ सोस्ने विक्रेताहरूको भनाइ छ । टच स्क्रिनबाटै चलाउन मिल्ने यो अत्याधुनिक चिम्नीलाई धेरै उपभोक्ताले मन पराएको विक्रेताहरू बताउँछन् । यी चिम्नी अटो क्लिन हुड तथा बाफ्फल फिल्टर प्रविधिसहितको पाउन सकिन्छ ।

नेपाली बजारमा पाइने धेरैजसो किचेन स्टोभ (चुल्हो) चीन र भारतबाट आयात हुने गरेका छन् । भारतीय ब्रान्डभन्दा कम मूल्यमा आउने भएकाले चिनियाँ चुल्हो उपभोक्ताको रोजाइमा बढी पर्ने गरेको व्यवसायीहरू बताउँछन् ।

बजारमा फेर्रे, ग्लेन, फेबर, एलिका, उबर, बाल्ट्रा, हुभर, एभरेडी, सिल्क इत्यादि ब्रान्डका चुल्हो पाइन्छन् । यी चुल्होहरूको मूल्य सात हजारदेखि २७ हजार रुपैयाँसम्म पर्ने विक्रेता कम्पनीहरूले जानकारी दिएका छन् ।

फेबर ब्रान्डमा बिल्ट इन हब तथा हब कुक टपमा इटालियन बर्नरको प्रयोग भएको छ । बिल्ट इन हब चुल्होको मूल्य करीब साढे २३ हजारदेखि ४३ हजार रुपैयाँसम्म पर्ने देखिएको छ । यस्तै, फेबरको कुक टप चुल्हो ३० देखि ४५ हजार रुपैयाँसम्ममा पाउन सकिन्छ ।

टर्किस ब्रान्ड ‘फेर्रे’ को चुल्होको मूल्य २१ देखि साढे ४६ हजार रुपैयाँसम्म पर्ने अल्ट्रा इन्टेरियरका सञ्चालक श्री खनालले जानकारी दिए । यो ब्रान्डको चुल्हो सुरक्षाको दृष्टिकोणले उच्चस्तरीय मानिने उनले बताए । यसका चुल्हो दुईदेखि पाँचवटासम्म बर्नर भएका पाइन्छन् ।

यस्तै, पछिल्लो समय नेपाली बजारमा विद्युतीय चुल्हो पनि प्रवेश गरेको छ । विद्युत्बाट चल्ने यस्ता चुल्होको १३ देखि ४३ हजार रुपैयाँसम्म पर्ने विक्रेताहरूले जनाएका छन् । यस्तै, किचेन रेन्जको मूल्य ग्यासबाट चल्नेको करिब ६४ हजार रुपैयाँसम्म र विद्युतीय किचेन रेन्जको डेढ लाख रुपैयाँसम्म पर्नेछ । किचेन रेन्जमा माइक्रोवेभ ओभन र बर्नर स्टोभ दुवै हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि