चितवन, भदौं २८–
चितवनका थारु समुदायका महिलाहरुले आज धुमधामका साथ ‘जितिया पर्व’ मनाईरहेका छन् ।
तराईमा बसोबास गर्ने थारु जातिका महिलासंगै मधेसी, मैथिली महिलाहरुले पनि धूमधामसंग जितिया पर्व मनाईरहेका छन् । चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले आज समान रुपमा ब्रत बसेका छन् । थारु बाहुल्य रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका र पश्चिम क्षेत्र र माडीमा जितियाको रौनक छाएको छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ । आज अष्टमीको दिन भएकोले महिलाहरु विहानैदेखि ‘उपास’ ब्रत बसि झम्टा नाच नाचेर मनाईरहेका छन् ।
आजको दिनमा महिलाहरु नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । आज बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा अलिकति पिना बगाउँछन् । त्यसपछि सबै ब्रतालु महिलाहरु जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । त्यस रुखको चारैतिर ब्रतालु महिलाहरु फलफुल, पानी, दूध, दहि साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई “फराहर” भन्छन् ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु फेरि खोलामा नुहाएर खोलाको किनारमा निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा “गरग्वाङ” भनिन्छ), बनाएर मासको गेडाले पूजा गर्छन् । मासको गेडा केहि दिनपछि त्यस “गरग्वाङ” मा राम्ररी उम्रिएमा त्यस ब्रतालुको सन्तान सुखको राम्रो लक्षण मानिन्छ । खोलाबाट घर आइसके पछि ब्रतालुहरु दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइ“ठाको अङ्गारमा काठको धुप बाली सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई “पारन” भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ ।
चितवनमा करिव ८० हजार थारु समुदायको बसोबास रहेको छ ।