• होमपेज
  • समाचार
  • बिपी प्रतिष्ठानका उपकुलपतिलाई कारबाहीको तयारी

बिपी प्रतिष्ठानका उपकुलपतिलाई कारबाहीको तयारी

  • बुधबार, असार ६, २०७५
बिपी प्रतिष्ठानका उपकुलपतिलाई कारबाहीको तयारी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई कारबाहीको तयारी थालिएको छ । प्रतिष्ठानमा भएको भ्रष्टाचारमा उपकुलपतिको प्रत्यक्ष संलग्नता भएको पुष्टि हुँदै गएपछि सरकारले उपकुलपतिलाई कारबाही गर्ने तयारी गरेको हो ।

प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरण र अंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माणमा सप्लायर्स र ठेकेदारसँगको मिलेमतोमा उपकुलपतिले नै करोडौं चलखेल गरेको थाहा पाएपछि सरकारले भ्रष्ट उपकुलपतिप्रति कडा निर्णय लिन लागेको उच्च स्रोतको दाबी छ ।

‘गतसाता बजेट पारित भएपछि सरकारले भ्रष्ट पदाधिकारी र कर्मचारीप्रति कडा कदम चाल्ने मनस्थिति बनाएको छ, वीपी प्रतिष्ठानका उपकुलपतिलाई राजीनामा दिन लगाउने नमाने हटाउने तयारी भएको छ’, स्वास्थ्य मन्त्रालय उच्च स्रोत भन्दछ ।
राजीनामा नदिए, गलहत्याउने

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उपकुलपति डा. रौनियारको काम कारबाहीबाट सरकार वाक्क भएको, पहिला नम्र तरिकाले राजीनामा गर्न लगाउने नमाने अख्तियार लगाएर ‘गलहत्याउन’ सकिने भएको छ । डा. रौनियारलाई एमआरआई, कार्डियोलोजी र अंकोलोजी काण्डमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्नसक्ने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार केही दिनभित्रै प्रतिष्ठानका मुद्दाहरूमा अख्तियारले ठोस निर्णय गरेर विशेष अदालत जाने तयारी गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले राजीनामा नदिए आयोगले एमआरआई १.५ टेस्ला उपकरण खरिद प्रकरणमा भएको ६ करोड बढी भ्रष्टाचार र अंकोलोजी, कार्डियोलोजी सेन्टर लागत स्टिमेट डिजाइनमा भएको भ्रष्टाचारमा नछाड्ने मनस्थिति बनाएको हो ।

मेडिकल माफियाको जालो तोडिँदै
प्रधानमन्त्री केपी ओली राज्यको श्री सम्पत्तिमाथि दोहन गर्ने कर्मचारी, पदाधिकारीप्रति कडा रूपमा प्रस्तुत भएपछि यातायात र स्वास्थ्य क्षेत्रका माफियाहरूको ओठ मुख सुकेको छ । यातायात क्षेत्रमा पञ्चायतकालदेखिको सिण्डिकेटको जालो तोडिएसँगै ओली सरकारको ध्यान स्वास्थ्य र शिक्षा क्षेत्रमा विद्यमान सिण्डकेट हटाउन केन्द्रित छ ।

स्वास्थ्य क्षेत्र हस्पिटेक इन्टरप्राइजेज, इष्टवेष्ट इन्टरनेशनल जस्ता मेडिकल माफियाको चंगुलमा छ । यिनीहरूले ७० प्रतिशतभन्दा बढी सरकारी स्वास्थ्य संस्थालाई ‘दुहुनो गाई’ बनाएका छन् । शिक्षा क्षेत्रमा पनि निजी क्षेत्रको मनपरी छ ।

गगन थापासँग कृष्ण सिटौलाको सर्त
प्रचण्ड नेतृत्वको तत्कालीन सरकारको भागवण्डामा उपकुलपति नियुक्ति अन्तर्गत नेपाली कांग्रेसको भागमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको थियो । सरकार बन्ने क्रममै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको प्रतिष्ठानप्रति गिद्दे दृष्टि प¥यो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र सिटौला गुटबाट स्वास्थ्यमन्त्री भएका गगन थापाले विभिन्न स्वास्थ्य प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा हुने चलखेल बुझेनन् । गगनलाई स्वास्थ्यमन्त्री बनाउने बेलैमा पदाधिकारी नियुक्तिमा सिटौलाले आफ्नो अनुकूल हुनुपर्ने सर्त तेस्र्याएका थिए ।

प्रतिष्ठानभित्र काङ्ग्रेसकै अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाको वर्चस्व छ, उनी प्रतिष्ठानका पूर्वउपकुलपति समेत हुन् । र, गत वर्षसम्म प्रतिष्ठानको सिनेट सदस्य समेत थिए । तर, जसै डा. रौनियार उपकुलपतिमा नियुक्ति भए, प्रतिष्ठानको बीजारोपण गर्ने डा. कोइरालालाई गगन थापासँगको मिलेमतोमा मिल्काइदिए ।

अनि आफू अनुकूलका भ्रष्ट व्यक्तिहरूलाई सिनेटमा ल्याए । कोइरालालाई बिपीबाट हटाउन सकियो भने आफ्नो गुट बलियो बन्नेछ र पार्टीभित्र वार्गेनिङ गर्न सकिन्छ भन्ने सिटौलाको ध्येय थियो । आँखा चिम्लेर सिटौलाका सर्त मानेका गगनले स्वास्थ्यमन्त्री भएपछि सिटौलाकै ग्राण्ड डिजाइनमा पदाधिकारी नियुक्तिमा चलखेल गर्न थाले ।

पदाधिकारी नियुक्तिमा भएको भित्री चलखेल
जब उपकुलपति नियुक्तिको समय आयो, सिटौलाले उपकुलपतिका सबै उम्मेदवारसँग गोप्य रूपमा करोडौंमा पदको लिलामी गर्दै छन् भन्ने गगनले भेउ पाए । तर त्यत्तिबेलासम्म धेरै ढिलो भइसकेको थियो । ‘बाहिर कुरा ल्याऊँ आफ्नै गुट सकिने, नल्याउँ आफू सकिने’ गगन परे आपत्मा ।

सिटौलाले अर्का युवा नेता प्रदीप पौडेललाई उपकुलपति पद लिलामीको दूत बनाएका थिए । जबसम्म नियुक्ति भएन, तबसम्म त्यही गुटका नेता प्रदीपले गगनलाई श्वास फेर्न पनि दिएनन् । गगनलाई फसेँ भन्ने त्यति बेलै हेक्का थियो तर, पार्टी बाहिर आएर सिटौलाको विरुद्ध विद्रोह गर्नसक्ने ल्याकत थिएन ।

अन्ततोगत्वा, गगनले आफ्नो इमेज पनि बचाइराख्ने, सिटौला र प्रदीपलाई पनि ब्यालेन्स गर्ने सूत्रको रूपमा स्वास्थ्य मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ जारी गरे । सबै स्वास्थ्य प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको प्रावधान हुँदाहुँदै ‘खुल्ला प्रतिस्पर्धा’ आह्वान गरे । यो खेलमा गगनले आफ्ना सल्लाहकार गंगालाल हृदय केन्द्रका डा. रामेश कोइरालालाई समेत दरखास्त हाल्न लगाए ।

रकम जोहो गर्न नसक्दा होस उड्यो
डा. रौनियारले उपकुलपति हुनकै लागि सिटौलालाई मोटो रकम बुझाए । नियुक्तिको अघिल्लो दिन काठमाडौंमा ४ दिन अथक प्रयत्न गरेर जम्मा पारेको नगद गाडीमा हालेर सिटौलाको एजेन्टलाई एक मेडिकल व्यापारीले नै बुझाइदिएका छन् ।

यो सँगै रौनियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता सिताराम मेहता, प्रदीप पौडेल लगायत विश्वनाथ शाह र माओवादी नेतालाई समेत छुट्टै रकम खर्च गरे ।

एकैपटक एकमुष्ट रकम जुटाउन डा. रौनियारले प्रतिष्ठानमा हाल अस्पताल निर्देशक डा. गौरीशंकर शाहबाट समेत अस्पताल निर्देशक बनाइदिने सर्तमा रकम असुलेको समाचार स्रोत भन्छ ।

आएको भोलिपल्टबाटै बार्गेनिङ
प्रतिष्ठानका पूर्वउपकुलपति डा. विपी दासको कार्यकाल सकिएको महिनौ भएको थियो । प्रतिष्ठानका काम कारबाही असरल्ल थिए । ठेकेदार, सप्लायर्सलाई करोडौं भुक्तानी रोकिएको थियो । यो सबै देखेका डा. रौनियारले एकैपटक करोडौं कमाउने सपना देखे, उपकुलपति भएको भोलिपल्टैबाट ठेकेदार, मेडिकल सप्लायर्सलाई वार्गेनिङ गर्न थाले ।

अस्पतालको स्वास्थ्य सेवा सुधार्नुको सट्टा भवन निर्माण, उपकरण खरिदमा उनको नजर पर्न गयो । र, धमाधम सार्वजनिक खरिद नियमावलीलाई समेत ‘धोती’ लगाउँदै प्रतिष्ठानको सरकारी श्री सम्पत्तिमा मनपरी गर्न थाले । फलस्वरूप, अहिले तिनै गलत कामको नतिजा उपकुलपति पद धर्मराएको छ ।

दीपक बोहराको साहस
प्रचण्ड सरकारले गरेको नियुक्ति अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । डा. रौनियारले पनि मुद्दा खेपिरहेका छन् । आउने बित्तिकै सार्वजनिक खरिद नियमावलीलाई समेत लत्याउँदै गरिएको उपकरण खरिद अंकोलोजी, कार्डियोलोजी सेन्टर लागत स्टिमेट र बजेट रकमान्तरणमा अनियमतिता भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले समेत गहन अनुसन्धान थाल्यो र भ्रष्टाचार भएको पुष्टि हुँदै गयो ।

स्वास्थ्यमन्त्री भएर आएका दीपक बोहराले प्रतिष्ठानको ४० औँ सिनेट बैठकमा उपकुलपतिले गरेका ‘काला कर्तुत’को स्पष्टीकरण सोध्ने आँट गरे । तर पदीय शक्तिको दुरुपयोग गरेर प्रतिष्ठानलाई ‘कोमा’ मा पु¥याएका उपकुलपति डा. रौनियारले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री र सहकुलपति तथा सिनेटलाई नै अवमूल्यन गरे ।

बारम्बार लिखित स्पष्टीकरण सोध्दा सिनेट सार्दै गएपछि अन्तिम अवस्थामा मन्त्री बोहराले उपकुलपति डा. रौनियारलाई पदच्युत गरी आवश्यक अनुसन्धान गरेर कानुनी कारबाही गर्न सिफारिस गरे ।

तर कांग्रेस नेता ज्ञानेन्द्र कार्कीको लोभलालच र प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठको आरजु देउवासँगको सम्बन्धले उपकुलपति रौनियार त्यस बखत जोगिए । नत्र तत्कालीन प्रधानमन्त्री देउवाले क्याबिनेटबाटै डा. रौनियारलाई बर्खास्त गर्ने तयारी गरेका थिए ।

नयाँ सरकार कारबाहीको तयारीमा
इतिहासमै सर्वशक्तीमान निर्वाचित सरकारको रूपमा उदाएको केपी ओली नेतृत्वको वामपन्थी सरकार र कांग्रेस नेताहरूलाई मोटो रकम नजराना बुझाएर नियुक्ति खाएका उपकुलपति रौनियारको काम कारबाहीमा तालमेल मिल्ने अनुमान समेत गर्न सकिन्न ।

कांग्रेस नेतृत्वको सरकारले नै गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा झन्डै बर्खास्त भएका डा. रौनियारको सम्बन्धमा प्रधानमन्त्री केपी ओली एक्सनमा आउने तयारी गरिरहेको बालुवाटार स्रोतको दाबी छ ।

अझ ‘वामपन्थी निकट ‘ए’ क्लासका निर्माण व्यवसायीहरूसँग डा. रौनियारले राजधानीमा गत हप्ता गोप्य बैठक गरेर सिनेटले स्थगित गरेको ४.५ अरबको क्यान्सर र मुटु रोग अस्पताल खोलिदिन सहयोग गर्न र त्यस आयोजनाबाट आउने सबै १० करोड कमिसन आफू नलिने र त्यहीबाट प्रधानमन्त्री ओलीलाई नै मिलाइदिने प्रस्ताव गरेको चर्चा समेत चलेको छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि