• होमपेज
  • देश
  • सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

  • मङ्लबार, साउन १५, २०७५
सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५’ बमोजिमको संरचना यही साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रको परिवर्तित आवश्यकता परिपूर्ति तथा विशेष सुरक्षा प्रदान गर्न हालको संचरनालाई परिमार्जन गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भएको बताउनुभयो ।  हाल ६३ जिल्लामा उपस्थिति जनाएको सशस्त्र प्रहरी बल अब ७७ जिल्लामा उपस्थित हुनेछ ।

हाल विद्यमान पाँच वटा बाहिनीहरुको संख्यामा वृद्धि गरी सातै प्रदेश र उपत्यकामा एक गरी आठ बाहिनी स्थापना गरिएको उहाँले दिनुभयो । सशस्त्र प्रहरी बल ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन एवं संशोधनको प्रक्रिया अघि बढेको जानकारी दिँदै उहाँले प्राविधिक सेवालाई स्तरोन्नति गरिने बताउनुभयो ।

त्यस्तै विद्यमान तालीम केन्द्र यथावत राखी थप नयाँ पाँच तालीम केन्द्र स्थापना गरिएको छ । झापादेखि कञ्चनपुरसम्मका सीमावर्ती जिल्ला र सिन्धुपाल्चोकमा हाल रहेका ८७ सीमा निरीक्षण पोस्ट (बिओपी) लाई अन्तर्राष्ट्रिय मान्यताअनुसार गणबाट परिचालित हुने गरी पोस्टको संख्या वृद्धि गरिएको उहाँले बताउनुभयो । पोस्टको संख्या वृद्धि गरिएसँगै पोस्टमा खटिइने जनशक्तिको पनि वृद्धि गरिएको छ ।

हाल एउटा विओपीमा २३७ जनशक्ति कार्यरत रहेकामा अब उक्त जनशक्ति बढाएर ६२१ पु¥याइएको छ । सशस्त्र प्रहरी बललाई बढीभन्दा बढी प्रभावकारी र जनमुखी बनाइने उल्लेख गर्दै उहाँले संगठनमा व्यक्तिगत सरुवा पद्धतिको अन्त्य गर्दै युनिट सरुवा प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका र चितवनको कुरिनटारलगायत सबै बाहिनीमा ५०÷५० जनाको दरले विपद् उद्धारका क्षेत्रमा दक्ष जनशक्ति खटिइएको जानकारी दिँदै प्रवक्ता पाण्डेले यस अवधिमा उद्धार कार्यमा चार हजार ७१९ सशस्त्र प्रहरी परिचालित भएको बताउनुभयो ।

आपत्विपद्का समयमा उद्धार कार्यका लागि ७७ वटा छुट्टाछुट्टै टोली गठन गरिएको छ । त्यस्तै १३ स्थानमा एम्बुलेन्ससहित प्राथमिक उपचारको सामग्री तथा अन्य सुरक्षा सामग्रीसहित चौविसै घन्टा तैनाथ रहेको बताइएको छ ।

नेपाल सरकारको भ्रष्टाचार र लैगिंक हिंसामा शून्य सहनशीलता, मानवअधिकारको पूर्ण सम्मान गर्ने नीतिको अक्षरशः पालना गरिएको बताउँदै प्रवक्ता पाण्डेले अनुशासनहीन कामकारवाही गरी जवाफदेही नहुने र आचरण विपरीत कार्य गर्ने २१० प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले गत वैशाखदेखि असारसम्म कूल रु तीन करोड ८९ लाख ४४ हजार ९४३ बराबरको चोरी पैठारी निकासी, अवैध सवारी साधन बरामद गरी सम्बन्धित कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरी बलमा हाल ३७ हजार १०० जवान तथा अधिकृत कार्यरत छन् । प्रत्यक्ष रुपमा सेवा प्रदान गर्न दैनिक रुपमा नौ हजार जनशक्ति खटिइएको बताइएको छ । हाल प्रदेश नं १ र कर्णाली प्रदेशमा क्षेत्रीय अस्पताल रहेकामा अब सबै प्रदेशमा अस्पताल स्थापना गरिने लक्ष्य लिइएको छ ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा तथा सीमा व्यवस्थापन, विपद् व्यवस्थापन तथा सेवा, सुरक्षा, सहयोग र उद्धार, औद्योगिक सुरक्षा, राजस्व तथा भन्सार सुरक्षा एवं राजस्व संकलन अभिवृद्धि गराउन सहयोग पु¥याउँदै आइरहेको छ । त्यस्तै सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, दंगा नियन्त्रण, अपहरित व्यक्तिको उद्धार र विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको सुरक्षालगायत जिम्मेवारी पूरा गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार