• होमपेज
  • समाचार
  • रुपन्देहीमा डेंगुबाट २ जनाको मृत्यु, ३ सय ४८ जना संक्रमित

रुपन्देहीमा डेंगुबाट २ जनाको मृत्यु, ३ सय ४८ जना संक्रमित

  • शनिबार, कार्तिक १८, २०७४
रुपन्देहीमा डेंगुबाट २ जनाको मृत्यु, ३ सय ४८ जना संक्रमित

बुटवल,कार्तिक १८–

रुपन्देहीमा ३ सय ४८ जना डेँगुका बिरामी भेटिएका छन् भने २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुद्धोधन गाउँपालिका वडा नं.६ का १६ वर्षीय युवती र अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. २ झारकी २४ वर्षीया महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। रुपन्देहीका २ सामुदायिक अस्पताललमा उनीहरुको मृत्यु भएको जनाइएको छ। अस्पतालको नाम र मृतकको नाम भने सार्वजानिक गरिएको छैन।

रुपन्देहीमा डेंगुबाट सर्वसाधारण त्रसित भए पनि यसको नियन्त्रणतर्फ जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहले खासै ध्यान नदिएको स्वास्थ्यकर्मीहरु नै बताउँछन्।

चालु आर्थिक वर्षको असोज १५ सम्म लुम्बिनी अञ्चल अस्पतालमा २५ जना डेंगुका बिरामी भेटिए। असोज १६ मा मात्रै लुम्बिनी अञ्चल अस्पतालमा ११ जना डेंगुका बिरामी थपिए। त्यस्तै असोजको १६ पछि एक महिनाको अवधिमा अस्पतालमा ३ सय १८ जना डेंगुका बिरामी थपिएका छन्।

असोजको दोस्रो सातादेखि रुपन्देहीमा फैलिएको डेंगुका कारण एक साताभित्रै दुई जनाले ज्यान गुमाए। अहिले पनि लुम्बिनी अञ्चल अस्पतालमा करिब ४० जना डेंगुका बिरामी उपचाररत रहेको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए।

गत आर्थिक वर्ष २०७३/०७४ मा रुपन्देहीमा १ सय ५४ जना डेंगुका बिरामी भेटिएका थिए। रुपन्देहीमा २०६८ सालमा पनि डेंगुले महामारीको रुप लिएको थियो। त्यसबला रुपन्देहीमा २ सय ९० जना डेंगुका बिरामी अस्पताल आएका थिए। त्यसमध्ये १ जनाको ज्यान गएको थियो। त्यसबेला लुम्बिनी अञ्चल अस्पतालमा पिआरपी (प्रोटिन रिच प्लाज्मा)बनाउनका लागि मेसिन नभएका कारण बिरामीलाई रिफर गर्नुपर्थ्यो। जसले गर्दा डेँगुले महामारीको रुप लिएको थियो। अहिले भने अस्पतालमै रगतलाई पिआरपी बनाउने मिसिन भएको र रगत पनि तत्काल उपलब्ध भएका कारण विपद सिर्जना नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले बताए।

अस्पताल आएका बिरामीको विशेषज्ञ डाक्टरले चेकजाँच गर्ने भएकाले डेंगु भन्ने पत्ता लाग्छ। तर, ग्रामीण भेगका बिरामी स्थानीय स्वास्थ्य संस्थामा चेकजाँच गराउने भएकाले पनि त्यस्ता बिरामीलाई डेंगु भएरनभएको तत्काल पत्ता लाग्दैन। डेंगु हुँदा ज्वरो आउने, आँखाको नानी दुख्ने, जोर्नीहरु दुख्ने, वाकवाकी आउने जस्ता लक्षण देखा पर्ने बुटबल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा रमेस केसीले बताए।

अहिले लुम्बिनी अञ्चल अस्पतालमा आएका बिरामीमध्ये ९० प्रतिशत रुपन्देही जिल्लाका भएको र त्यसमा पनि ६५ प्रतिशत बुटवल उपमहानगरपालिकाका भएको जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार