चितवन, असोज २३–
चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री तथा लाइभस्टक एक्स्पो, २०१७ हुँदैछ । नेपाल पोल्ट्री महासंघले आयोजना गर्न लागेको एक्स्पोको तयारी अहिले तीव्र पारिएको छ ।
आगामी कात्तिक १७ गतेदेखि तीन दिनसम्म भरतपुरको निर्माणधिन चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो हुन लागेको हो । एक्स्पोका संयोजक एवं महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री क्षेत्रका पछिल्लो प्रविधि एक्स्पोमा प्रदर्शन गरिनुको साथै प्रविधिको प्रयोग र आवश्यकताको बारेमा जानकारी गराईने बताउनुभयो । प्रदर्शनीमा कम लागतमा बढी उत्पादन दिन सक्ने प्रविधिको समेत प्रदर्शनी हुने भएकाले यहाँका सबै खालका व्यवसायीले प्रत्यक्षरुपमा लाभ लिन पाउने उहाँले बताउनुभयो । अहिले नेपालमा प्रयोग गरेको प्रविधिले मासु र अण्डा उत्पादन लागत बढेको भन्दै विष्टले एक्स्पोपछि कम लागतमा उत्पादन बढाउन सहज हुने बताउनुभयो ।
हाल भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्सलगायत देशका व्यवसायीले स्टल बुकिङ गरिरहेका छन् । करिब १२ देशका व्यवसायी सहभागी हुने अनुमान गरिएको सो एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित सबैखाले उत्पादनको स्टल रहने दाना उद्योग संघका निवर्तमान अध्यक्ष केन्द्रीय डा.तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
एक्स्पोमा दाना, औषधि, ह्याचरी, खोर निर्माण गर्ने हाउजिङ कम्पनी, प्याकेजिङ कम्पनीलगायतका विदेशी १०० वटा र नेपाली १०० वटा स्टल रहने बताइएको छ । आइतबार साँझसम्म विदेशी ९० वटा कक्ष बुकिङ भइसकेका छन् ।
यति ठूलो संख्यामा विदेशी सहभागी हुने नेपालको यो नै पहिलो एक्स्पो हुनेछ । सोही क्रममा प्राविधिक गोष्ठीसमेत गरिँदैछ । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष एवं प्राविधिक गोष्ठीका संयोजक डा होमबहादुर बस्नेतका अनुसार विदेशी र स्वदेशी विज्ञले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
यसैबीच एक्स्पो सपन्न गर्नका लागि संयोकत्वमा मुल आयोजक समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ ।