काठमाडौं, भदौं २६–
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्यान्डसामु २ सय ८२ रनको विजयी लक्ष्य पेश गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनायो । नेपालका लागि अनिल शाहले ९१ रनको शानदार इनिङ खेले । उनले ७४ बलको सामना गर्दै ५ छक्कार ६ चौका प्रहार गरे । यस्तै प्रनित थापाले ५० रनको अर्धशतकीय पारी खेले । नेपालका लागि ओपनर सन्दिप सुनारले ३२, कप्तान दिपेन्द्र सिंह ऐरीले २२, अशिफ शेखले २१ रन बनाए ।
आज नेपाली टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन्। आगामी सेप्टेम्बर १७ सम्म आयोजना हुने प्रतियोगितामा समूह एमा रहेको नेपालले सेप्टेम्बर १३ मा भुटान र १४ मा सिंगापुरसँग खेल्नेछ।
समूह ‘बी’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन्। तीन वर्ष अगाडि एसियाली क्रिकेट परिषद् (एसीसी) पुनर्संरचना भएपछि नयाँ संरचनाका रूपमा यो प्रतियोगिता आएको हो । एसियाली क्षेत्रमा यसअघि यसखाले एउटै प्रतियोगिता आयोजना गर्दै आएकामा अहिले प्रतियोगितालाई दुई क्षेत्रमा विभाजन गरिएको छ। अफगानिस्तान, यूएई, कतार, ओमानलगायतका राष्ट्रलाई अर्को क्षेत्रमा राखी एसीसीले नयाँ प्रतियोगिता ल्याएको हो ।
२००७ मा पारस खडकाको कप्तानीमा मलेसियामा उपाधि जितेयता यू–१९ मा नेपाल उपाधिबिहिन छ।
मलेसियामा जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एसिया कपमा छानिन्छन् ।