• होमपेज
  • Uncategorized
  • प्रदेश २ को मुख्यमन्त्री बन्न तयार छुः लालबाबु राउत

प्रदेश २ को मुख्यमन्त्री बन्न तयार छुः लालबाबु राउत

  • शुक्रबार, कार्तिक २४, २०७४
प्रदेश २ को मुख्यमन्त्री बन्न तयार छुः लालबाबु राउत

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दी पार्टीका प्रभावशाली नेता हुन् । उनी फोरम नेपाल र राजपाको गठबन्धनको तर्फबाट प्रदेशसभामा पर्सा क्षेत्र नं. १ (ख) बाट उम्मेदवार छन् । प्रदेश सभा सदस्यमा उनको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी भावी मुख्यमन्त्रीको रुपमा आउन सक्ने आंकलनहरु पनि भइरहेका छन् । अनलाइनखबरकर्मी सुरेश बिडारीसँग कुराकानीमा पनि उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने भन्दै मुख्यमन्त्री बन्नका लागि तयार रहेको बताए ।

तपाईं संघीय समाजवादी फोरम नेपालको उपाध्यक्ष, प्रतिनिधि सभामा उठ्नु भए राम्रो हुन्थ्यो होला, किन प्रदेश सभामा उठ्नुभयो ?

पार्टीले जे निर्णय गर्छ हामीले त्यसलाई मान्नुपर्छ । अब यो होइन की मैले दावी गर्ने । मैले पार्टीले दिएको निर्देशन अनुसार नै उम्मेदवारी दिएको हुँ । पार्टीले मलाई प्रदेशमा उठनुस् भन्यो, म उठें । पार्टीले जे निर्देश गर्छ म त्यसै अनुसार हिँड्छु ।

तपाईंले प्रदेश २ को मुख्यमन्त्रीमा दावी गर्नु भएको छ रे । त्यही भएर प्रदेशमा उठ्नु भएको हो ?

अहिले आफूले भन्दैमा मुख्य मन्त्री वा मन्त्री हुने होइन । यो त पछिको कुरा हो । कसलाई के बनाउने भन्ने निर्णय पार्टीले गर्छ । निश्चित रुपमा पार्टीको कुनै इन्ट्रेष्ट हुन सक्छ । तर संघीय समाजवादी फोरम नेपालमा ०५८ सालदेखि अनवरत लागेको व्यक्ति म मात्रै होे भन्दा पनि हुन्छ । पार्टीले तपाईं मुख्यमन्त्री बन्नुस् भन्यो भने म जिम्मेवारी पूरा गर्न तयार छु । होइन, पार्टी सम्हालेर बस्नुस् भन्यो भने पनि म तयार छु ।

चुनावी अभियानलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

खासगरी अहिले चुनावी क्षेत्रका गन्यमान्य व्यक्तिहरुसँग, कार्यकर्तासँग भेटघाट गरिरहेका छौं । राजपा फोरम नेपालको गठबन्धनलाई कसरी मजबुत बनाउन सकिन्छ, कसरी सबैको सहयोग लिएर कसरी गठबन्धनको उम्मेदवारलाई जिताउन सकिन्छ भनेर छलफल गरिरहेका छौं । बुद्धिजीवि, मधेसप्रति सहानुभूति राख्ने संघसंस्थासँग पनि छलफल चलाइराखेका छौं ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि संघीय समाजवादी फोरम नेपालले चुनावमा जाने निर्णय गर्‍यो । सँगै आन्दोलन गरेका ६ मधेसी दल मिलेर बनेको राजपा नेपाल चुनावमा गएन । तपाईंहरु एकअर्कालाई आरोप प्रत्यारोप लगाउन थाल्नुभयो । अहिले आएर एक भएर चुनावमा आएका छौं भन्नुहुन्छ । मतदाताले पत्याउँछन् दुवै दल एक भएर आएका छन् भनेर ?

अहिले दुवै दल एक ठाउँमा आएका छन् । दुवै दलले खास गरेर प्रदेश नं. २ मा सिट बाँडफाड गरेर चुनाव लडेका छन् । प्रतिनिधि सभाका जम्मा ३२ वटा सिटमा १७ वटामा फोरम र १५ वटामा राजपा लड्दैछ । प्रदेशसभाको लागि ३३ वटा फोरम नेपाल र ३१ वटामा राजपा लड्दैछ । अहिले खास गरेर मधेसी, मुस्लिम र थारु जनताको चाहना अनुसार सिट बाँडफाट गरेर सबैको सहयोग लिने उद्देश्य पूर्तिका लागि हामीले यस किसिमको गठबन्धन बनाएका छौं । निश्चित रुपमा अहिले ठाउँ–ठाउँबाट राम्रो रेन्सपोन्स आइरहेको छ । खास गरेर मधेस विराधी पार्टीहरु, एमाले, कांग्रेस, माओवादी मधेसी विरोधी पार्टीको रुपमा स्थापित छन् । वाम गठबन्धनको नाममा एमाले र माओवादी एक ठाउँमा आएका छन् । लोकतान्त्रिक गठबन्धनको नाममा कांग्रेस आएको छ । तथापी अहिले उनीहरूप्रति मधेसी जनताप्रति जुन किसिमको रुझान हुनुपर्ने थियो, त्यो देखिएन । मधेसी उम्मेदवारप्रति अहिले मधेसी जनताको सकारात्मक सोच देखिएको छ । आउने दिनमा फोरम नेपाल र राजपा गठबन्धन मधेसी जनताको व्यापक समर्थन पाएर विजयी हुनेछन् ।

नेपाली कांग्रेस र उसको लोकतान्त्रिक गठबन्धन मधेस विरोधी भन्नुहुन्छ तर त्यही गठबन्धनमा तपाईंहरु पनि झण्डैझण्डै समाहित भइसक्नुभएको थियो नी ?

हैन हैन । त्यसो होइन । हामी छलफलकै क्रममा थियौं । छलफलको विषयलाई बढी नै उचालेर प्रचार गरिएको मात्रै हो ।

तपाईंहरु बढी महत्वाकांक्षी हुनुभयो त्यसकारणले कुरा मिलेन हो ?

हैन हामी महत्वाकांक्षी भएको होइन, हामी त शुरुदेखि नै उत्पीडित समुदायको अधिकारको सुनिश्चितताका लागि लडेका थियौं । तर, कांग्रेस मधेस विरोधी भएकाले कुरा नमिलेको हो ।

कांग्रेससँग बढी सिट त माग्नुभयो नि त ?

मिडियाले जे मन लाग्यो त्यही बोल्या छ, लेख्या छ । कांग्रेससँग मागेको होइन, हामीले हाम्रो हैसियत अनुसार दाबी गरेको हो । एलाइन्समा त के हुन्छ भने जो मजबुत हुन्छ त्यसले बढी सिट पाउँछ । यो प्रदेश २ भित्र भन्नुपर्दा खेरि तपाईलाई पनि थाहा छ, फोरम नेपाल र राजपा गठबन्धन कांग्रेसभन्दा बलियो छ । तपाईं हेर्नुहोला हामी दुई तिहाई बहुमत ल्याउँछौं । दुई तिहाई बहुमत आउने ठाउँमा हामीले कांग्रेसलाई धेरै सिट दिन त सकिँदैन नी । त्यही भएर हामीले उसँग एलाइन्स गरेनौं ।

राजपा र संघीय फोरमको गठबन्धनबाट मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

म के कुरामा पनि ढुक्क छु भने दुवै पार्टीको गठबन्धनले मधेसी जनता उत्साहित भएका छन् । धेरै मधेसी, मुश्लिम, थारुहरु पनि एक भएर यो गठबन्धनलाई मत हाल्न आतुर छन् । अहिले हामी एकदम धेरै सिट जित्छौं । प्रदेश नम्बर दुईमा मात्रै होइन केन्द्रमा पनि सशक्त उपस्थिति जनाउँछौं भन्ने आभास भइसकेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नवप्रवेशीलाई टिकट दिनुभएको छ । आम मतदाताले उनीहरुलाई किन भोट दिन्छन् ?

आन्दोलन गर्नमा हामी एकदम अगाडि नै छौं । तर भोटको राजनीति पक्कै पनि आन्दोलन भन्दा फरक हुँदो रहेछ । र अर्को कुरा पुरानो नेता हुनलाई त शुरुमा नयाँ हुनुपर्‍यो नि । कुनै समयमा तपाईं पनि म पनि आ–आफ्नो क्षेत्रमा नयाँ थियौं । पछि समयक्रमले, अनुभवले हामीलाई पुरानो र परिपक्व बनाइदियो । नयाँबाटै पुरानो हुँदै नेतृत्व स्थापित हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । प्रधुम्न जी स्थानीय तह निर्वाचनमा एमालेबाट फोरममा आएर पर्साको पोखरीया नगरपालिकाको प्रमुखमा उठेर पराजित भएपछि एमालेमा नै फर्किनु भएको थियो । जस्तालाई ल्याइयो, टिकट दिइयो ।

शम्भु गुप्ता जीलाई पनि ल्याउनुभयो, टिकट नपाएपछि शम्भु जी जानुभयो ?

उनी कोसँग आए, किन गए मलाई कमेन्ट गर्नुछैन । आयाराम गयाराम भयो । तर के हो भने विगतमा नेतृत्वबाट केही न केही गल्ती हुने गरेको थियाे। त्यसलाई सुधार्दै अघि बढुनुपर्छ ।

भन्नाले नेतृत्वको गल्तीबाट त्यस्तो भाको ?

अहिले फोरम नेपालमा आउनेहरुको माहोल छ । म जितिहाल्छु, अनि फाइदा लिन्छु भनेर धोकेवाज, बेइमान, फटाहागिरी सबै आउन खोज्छन् । उनीहरुलाई शुरुमा नचिन्दा पार्टीले लगानी गर्‍यो, विभिन्न स्रोत साधनको परिचालन भयो । तर त्यो व्यक्तिले घटिया व्यवहार गर्‍यो । पार्टीको लगानी त्यसै खेर गयो । चुनावको माहोलमा यस्तो हुनसक्छ । हाम्रो पार्टीमा पनि भएका छन्, अरु पार्टीमा हुन्छन् । तर मेरो मान्यता के छ भने आफ्नै क्याडरहरलाई नै प्रमोट गर्नुपर्छ । अब आउने दिनहरुमा पार्टी सचेत हुनुपर्छ । आफ्नो क्याडरलाई उठाइयो भने कोही पनि पार्टी छोडेर जाँदैन ।

कतिवटा पार्टी फेर्दै गएका विमल श्रीवास्तवलाई फेरि उठाइदिनुभएको छ नी प्रतिनिधि सभा सदस्यमा ?

के रहेछ भने संसदीय राजनीति गर्नु भनेको चानचुने कुरा होइन । केटाकेटीको खेल होइन । सबैले गर्न सक्दैन । जसको कुरा गरिरहनुभएको छ, उहाँको राजनीतिक पृष्ठभूमि छ । भलै हामी पार्टीको उपाध्यक्ष हौंला । तर विमल जी हामी भन्दा धेरै गुणा बढी जनतामा भिजेको व्यक्ति हुनुहुन्छ । त्यो कुरा मेयरमा उठ्दा नै देखिइसकेको छ । एक रातमा त्यतिको भोट ल्याउनु सामान्य कुरा होइन । एकै रातमा कांग्रेस, एमाले र माओवादीको हाराहारीमा भोट ल्याउनु सानो कुरा होइन । त्यत्तिको हैसियत छ नि उहाँको । त्यो हैसियत भएको व्यक्तिलाई अन्डरमाइन्ड गर्न मिल्दैन । अहिले राजनीति गर्ने संस्कार पनि हामीले उहाँबाट नै सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।

पछिल्लो पटक ६ महिनासम्म मधेस आन्दोलन र त्यही बीचमा तीन महिनासम्म नाकाबन्दी चल्यो । त्यसले वीरगञ्ज व्यापारिक र आर्थिक रुपमा कमजोर बन्यो भन्ने स्थानीय व्यापारीहरुको गुनासो छ । तपाईं त्यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । यो स्थितिलाई कसरी सुधार्नु हुन्छ ?

हाम्रो आन्दोलनले व्यापारीहरु मर्कामा परेको भन्ने भनाइ त तपाईंहरुको हो । यहाँ कुनै व्यापारी मर्कामा परेका छैनन् । कोही पनि प्रभावित भएका छैनन् । हो अधिकारको लडाइँ लड्दा सानोतिनो अप्ठेरो आउँछ । मलाई के लाग्छ भने सायद त्यो नभएको भए संविधानमा समानुपातिक समावेशीका मुद्दा आउने थिएन । समानुपातिक समावेशीको मुद्दा अन्तरिम संविधानमा भएपनि छोडिसकेको अवस्थामा हाम्रै दवावमा नयाँ संविधानमा राख्न बाध्य भए । त्यसबाट व्यापारीहरु पनि बढी लाभान्वित हुन्छन् । मुलुकमा रहने मधेसी, मुश्लिम, आदिवासी, दलितलाई नै फाइदा पुग्छ । दुई बुँदे संविधान संशोधन भयो, संविधानका केहि धाराहरु संशोधन भए । त्यो पनि मधेस आन्दोलनकै उपलब्धी हो । नाकाबन्दी त के भन्नु, नाकामा हामीले अवरोध गरेका थियौं । अतिरञ्जित किसिमले प्रचार प्रसार भयो । आन्दोलनलाई सशक्त बनाएकै कारण ठूला भन्ने पार्टीहरु झुके र मधेसका मुद्दालाई थोरै भएपनि संवोधन गरे ।

अन्त्यमा, मतदाताले के कुरामा ध्यान दिएर भोट हाल्नुपर्छ, सम्झाइदिनुस् न ?

आफ्नो लागि कुन पार्टी हितकर छ, त्यसलाई ध्यान दिनुपर्छ । अहिलेको अवस्थामा मधेसमा आन्दोलन गरेको फोरम नेपाल र राजपा एक ठाउँमा छन् । मधेसी जनताको पहिलेदेखि कै चाहना थियो मधेसी दल एक भएर अगाडि बढेपछि मात्र मधेसका मुद्दा सम्बोधन हुन्छ भन्ने । त्यही अनुसार हामी संघीय समाजवादी फोरम र राजपा मिलेर चुनावमा आएका छौं । भोलिका दिनमा संविधान संशोधन गराउनेदेखि लिएर मधेसको मुद्दालाई स्थापित गराउनका लागि पनि हामीबीचमा एकताको आवश्यक छ । सदनदेखि लिएर सडकसम्म आन्दोलनलाई सशक्त पार्नका लागि हाम्रो आवश्यकता छ चाहे त्यो प्रदेशमा होस वा केन्द्रमा । त्यसैले मतदाताहरुले हामीलाई चुनेर मधेस विरोधी दललाई सवक सिकाउनुपर्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि