चितवन, कार्तिक १६–
चितवनबाट उम्मेदवारी दिने काँग्रेस नेताहरुको टुंगो लागेको छ ।
चितवन निर्वाचन क्षेत्र नः १ मा एमाले नेता सुरेन्द्र पाण्डेसँग काँग्रेसले राजेन्द्र बुर्लाकोटीलाई उम्मेद्वार बनाएको छ । यसअघि पनि बुर्लाकोटी पाण्डेसँग उठेर पराजित भएका थिए । चितवन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आर्चायलाई उम्मेदवार बनाएको काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
यस्तैं, क्षेत्र नः २ बाट शिक्षा राज्यमन्त्री समेत रहेका शेषनाथ अधिकारी काँग्रेसको उम्मेद्वार बनेका छन् । यो क्षेत्रमा वामगठवन्धनबाट एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार छन् । काँग्रेसले प्रदेश क्षेत्र नं. २ (क)मा जिल्ला सभापति जितनारायण श्रेष्ठलाई र (ख) मा प्रकाश अधिकारीलाई टिकट दिएको छ ।
यस्तैं, क्षेत्र नः ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई काँग्रेसले अघि सारेको छ । प्रदेश क्षेत्र नं.३ (क) मा काँग्रेसले दिनेश कोइराला र (ख) मा साजनकुमार महतोलाई उम्मेदवार बनाएको छ । (क) का उम्मेद्वार कोइराला यसअघि भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएपनि पार्टीले टिकट खोसेको थियो ।
यता, माओवादीको भागमा परेका चितवन क्षेत्र नः २ को (क) र क्षेत्र नः ३ को (ख) को उम्मेदवारको टुंगो अझै लागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल चितवन आएपछि मात्रै टिकटको टुंगो लाग्ने माओवादी नेता सूर्य सुवेदीले बताए । दाहाल केहीबेरमा जिल्ला आउँदैछन् ।