चितवन, कार्तिक १५-
नेपाल पोल्ट्री महासंघको आयोजनामा चितवनमा हुन लागेको अन्तर्रास्ट्रिय पोल्ट्री तथा लाइभस्टक एक्स्पो २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महासंघले आज भरतपुरमा पत्रकार सम्मेलन गरि एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । एक्स्पो पर्सी कार्तिक १७ गतेदेखि तीन दिनसम्म भरतपुरको औद्योगिक प्रदर्शनी स्थलमा संचालन हुँदैछ । अहिले स्टल निर्माणका कामहरु धमाधम भईरहेका छन् ।
एक्स्पोमा १७० वटा स्टलहरु रहने छन् । जसमा भारत, चीन, अमेरीका, जर्मन, फ्रान्स लगाएतका देशका व्यवसायीहरुको स्टल रहने छन् ।
एक्स्पोका संयोजक एवं महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले पोल्ट्री क्षेत्रका पछिल्लो प्रविधि एक्स्पोमा प्रदर्शन गरिने बताउनुभयो । उहाँका अनुसार कम लागतमा बढी उत्पादन दिन सक्ने प्रविधिको समेत प्रदर्शनी हुने हुँदा यहाँका व्यवसायी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो । अहिले नेपालमा प्रयोग गरेको प्रविधिले मासु र अण्डा उत्पादन लागत बढेको भन्दै उहाँले एक्स्पोपछि कम लागतमा उत्पादन बढाउन सहज हुने बताउनुभयो ।
उहाँका अनुसार एक्स्पोमा दाना, औषधि, ह्याचरी, खोर निर्माण गर्ने हाउजिङ् कम्पनी, प्याकेजिङ् कम्पनीहरु लगायतको स्टल रहने छ । यति ठूलो संख्यामा बिदेशी सहभागी हुने नेपालको यो पहिलो एक्स्पो हुने छ ।
एक्स्पोमा प्रवेशका लागि एक सय रुपैयाँको टिकट राखिएको छ । एक्स्पोमा २५ हजार भन्दा बढि अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ ।