• होमपेज
  • Uncategorized
  • वामगठबन्धन चितवनः प्रतिनिधि सभामा प्रचण्ड, पाण्डे र पोखरेल भिड्ने, प्रदेशको उम्मेद्वार टुंगो लागेन

वामगठबन्धन चितवनः प्रतिनिधि सभामा प्रचण्ड, पाण्डे र पोखरेल भिड्ने, प्रदेशको उम्मेद्वार टुंगो लागेन

  • बुधबार, कार्तिक १५, २०७४
वामगठबन्धन चितवनः प्रतिनिधि सभामा प्रचण्ड, पाण्डे र पोखरेल भिड्ने, प्रदेशको उम्मेद्वार टुंगो लागेन

चितवन, कार्तिक १५-

चितवनमा वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन संयुक्त निर्वाचन समिति गठन गरिएको छ । वाम गठबन्धनले आज भरतपुरमा पत्रकार सम्मेलन गरि नेकपा एमाले चितवन र नेकपा माओवादी (केन्द्र) चितवनका नेतृत्व तहको संयुक्त बैठकको गरेको निर्णयहरु सार्वजनिक गरेको हो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वामगठबन्धनका उम्मेद्वारलाई जिताउन माओवादी (केन्द्र)का नेता अमिक शेरचनको संयोजकत्वमा २५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको उपसंयोजकमा कृष्णप्रसाद खनाल, देवीप्रसाद ज्ञवाली, नारायण दाहाल, सूर्य सुवेदी पथिक रहेका छन् ।

समितिमा दुवै पार्टीका गरि १२५ जनाको दरले २५० सदस्यीय र ३५ सदस्यीय सचिवालय समिति गठन गर्ने निर्णय भएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । अबको तीन दिन भित्रमा क्षेत्र, प्रदेश र वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिने वामगठबन्धनले जनाएको छ ।

पार्टी एकीकरण गर्न संयोजक समिति गठन

नेकपा एमाले चितवन र नेकपा माओवादी (केन्द्र) चितवनबीच पार्टी एकताका लागि पार्टी एकीकरण संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । जसको संयोजकमा कृष्णप्रसाद खनाल र ईश्वरी भट्टराई, सदस्यहरुमा कृष्णभक्त पोखरेल, तेजेन्द्रबहादुर खड्का, पार्वती रावल, घनश्याम दाहाल (अविनाश), ज्ञानु बस्नेत रहेका छन् ।

कार्तिक १६ गते भरतपुरमा चुनावी सभा

वामगठबन्धनले मनोनयन दर्ताको दिन कार्तिक १६ गते चुनावी सभा आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै एमाले जिल्ला अध्यक्ष पोखरेलले मनोनयन दर्तापछि भरतपुरस्थित गेष्ट हाउस चौरमा भव्य चुनावी सभा हुने जानकारी दिए । उनले यसअघि भरतपुर १० स्थित रिजालचोकमा संयुक्त रुपमा भेला भई भव्य र्याली सहित गेष्ट हाउसमा पुगी चुनावी सभामा परिणत हुने जानकारी दिए । सो सभामा माओवादी (केन्द्र)का अध्यक्ष एवंम चितवन क्षेत्र नं.३ का वामगठबन्धनका उम्मेद्वार पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका स्थायी कमिटि सदस्य एवंम वामगठबन्धनबाट चितवन क्षेत्र नं.१ का उम्मेद्वार सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने वामगठबन्धनले जनाएको छ ।

प्रतिनिधि सभामा प्रचण्ड, पाण्डे र पोखरेल भिड्ने, प्रदेशको उम्मेद्वार टुंगो लागेन

वामगठबन्धनले प्रतिनिधि सभा तर्फ चितवनको उम्मेद्वार टुंगो लगाएपनि प्रदेश सभातर्फ भने अझै टुंगो लगाउन सकेको छैन् । वामठबन्धनका संयुक्त निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले प्रतिनिधि सभा तर्फ चितवन क्षेत्र नं. ३ मा पुष्पकमल दाहाल (प्रचण्ड), क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे र क्षेत्र नं.२ मा कृष्णभक्त पोखरेलको उम्मेद्वारी तय भईसकेको जानकारी दिए । उनले प्रदेश सभा तर्फ केही प्राविधिक विषय टुंगो लाग्न बाँकी रहेकाले आज रातीसम्ममा सबै उम्मेद्वारको टुंगो लाग्ने जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार