• होमपेज
  • समाचार
  • सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

  • शुक्रबार, कार्तिक ३, २०७४
सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

नारायण अधिकारी,

चितवन, कार्तिक ३–

मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् ।

भूकम्प, नाकाबन्दी हुँदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा जोडिएका देशमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउने रणनीतिमा उनीहरु लागेका हुन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा भैरहवा क्षेत्रसँग सीमा जोडिएका क्षेत्रहुँदै गोरखपुर र उत्तर प्रदेशमा प्रचारप्रसार गरिने भएको छ ।

त्यसैगरी, वीरगञ्जदेखि भारतको कलकत्तासम्मका सहरी क्षेत्रमा प्रचारप्रसार गरिनेछ । भारतको पर्यटकीय महत्व बोकेको सिक्किममा पनि प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । गत वर्ष पर्यटन बोर्डको सहयोगमा चीनको संघाइ र बेइजिङ्मा नेपालको पर्यटकीय क्षेत्रका बारेमा प्रचार गरिएको थियो ।

घिमिरेका अनुसार भारत र चीनका पर्यटक मात्र भित्र्याउन सकेमा मात्र पनि सौराहा भरिनेछ । यी दुई देशसँगै एशियाका अन्य देश, युरोप, अमेरिका र स्वदेशी पर्यटक भित्र्याउन सकिने घिमिरेले बताउनुभयो ।

सौराहामा सन् २०१२ देखि भूकम्पअघिसम्म वार्षिकरुपमा भित्रने दुई लाख हाराहारी पर्यटकमा ६० प्रतिशत चिनियाँ हुने भएपनि अहिले यो संख्या न्यून रहेको छ ।

त्यसैगरी, सन् २०१० को हाराहारीमा ४० प्रतिशतसम्म पुगेको भारतीय पर्यटकको आगमन घटेर १० प्रतिशतसम्म झरेको छ । घिमिरेका अनुसार यो पर्यटकको उतारचढावलाई रोकेर संख्या बढाउने नयाँ रणनीतिका साथ क्षेत्रीय होटल संघ लागिपरेको छ ।

संघसँग साझेदारी गरी भारतीय बजारमा पर्यटन प्रवद्र्धन गर्न बोर्डले रु १२ लाख बजेट विनियोजन गरेको घिमिरेले बताउनुभयो । त्यति नै रकम क्षेत्रीय होटल संघले थप गरी प्रचारप्रसार गर्ने उहाँले बताउनुभयो । दुर्लभ वन्यजन्तु हेर्नका लागि गरिने जंगल सफारी, थारु संस्कृति, पानीमा गरिने गतिविधिका बारेमा प्रचारप्रसार गरिनेछ । मुख्यरुपमा पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ आउने गर्दछन् ।

नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी बजारीकरण गरिने पनि उहाँले बताउनुभयो । सीमा क्षेत्रका भारतीय शहरको टेलिभिजनमा प्रचारप्रसार गर्ने तयारी पनि गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवं पर्यटन व्यवसायी केशव देवकोटाले यस क्षेत्रको पर्यटनको बजारीकरण निकै कमजोर भएको भन्दै भारत र चीनमा मात्र हामीले चितवनको पर्यटकीय महत्वका बारेमा बुझाउनसकेमा अन्यत्र भरपर्नु नपर्ने बताउनुभयो ।

नेपालमा यस वर्ष १० लाख पर्यटक भित्रने अपेक्षा गरिरहँदा यहाँ दुईलाख पर्यटक पनि भित्रने नदेखिएपछि व्यवसायी नयाँ रणनीतिका साथ बजारीकरणमा निस्कन लागेका हुन् । गत वर्षमा सौराहामा यतिबेला एक हजार हाराहारी पर्यटक हुनेगरे पनि यस वर्ष दैनिक ८०० पुग्न पनि कठिन भएको छ । जिल्लामा पर्यटकीय महत्व बोकेका १५० होटल रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार