• होमपेज
  • समाचार
  • नारायणगढमा व्यवस्थित तरकारी बजार बन्ने

नारायणगढमा व्यवस्थित तरकारी बजार बन्ने

  • मङ्लबार, अशोज ३१, २०७४
नारायणगढमा व्यवस्थित तरकारी बजार बन्ने

–तुलमान गुरूङ

चितवन,असोज ३१ –
चितवनमा भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनको समन्वयमा पार्किङसहितको व्यवस्थित तरकारी बजार बन्ने भएको छ ।
बजार स्थापनाको लागि भरतपुर महानगरपालिकाको वडा नं।२ स्थित क्षेत्रपुरमा १६ वर्षको लागि जग्गा सम्झौता भइसकेको छ । चित्रावती लिजर नजिकैको कृष्णकुमारी पियाको नाममा रहेको करिब ४५ कठ्ठा जग्गामा बजार बसाउने सम्झौता भएको हो । सम्झौतापत्रमा जग्गा धनी, फलफूल तथा तरकारी व्यवसायी संघ, भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।

गएको २० गते नै भएको सम्झौता अनुसार बजार निर्माणका लागि तयारी समेत सुरू गरिसकेको फलफूल तथा तरकारी व्यवसायी संघ चितवनका अध्यक्ष थीरप्रसाद धिताल (कृष्ण)ले जानकारी दिए । कात्तिक महिनामा तिहार, छठलगायतका पर्व पर्ने र नक्साङ्कनको काम गर्नुपर्ने भएकोले मंसिरदेखि निर्माणको काम सुरू गर्ने उनले बताए । बजारको डिजाइन, लागत के कति लाग्ने भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गरेर अगाडि बढ्ने उनले बताए । तर, हाल लायन्सचोकमा रहेको तरकारी बजारभन्दा राम्रो र व्यवस्थित बजार निर्माण गर्ने तयारीमा रहेको उनको भनाइ छ । ‘फोहोर व्यवस्थापन, सवारी साधन पार्किङस्थल र ढलसहितको बजार निर्माण गरिनेछ,’ उनले भने, ‘यो बजार निजी क्षेत्रका साथै किसान व्यवसायीसहितको हुनेछ ।’
बजार निर्माण गर्नका लागि कम्तीमा पनि १० महिना लाग्न सक्ने उनले अनुमान लगाए । तर, अहिले बजार बसिरहेको लायन्सचोकको तरकारी बजारको सम्झौता भने आउँदो पुस महिनासम्मको मात्रै छ । त्यसैले बजार निर्माण कार्य नसकेसम्म अहिलेकै बजारमा बस्ने व्यवसायी संघले जनाएको छ । यस विषयमा भरतपुर महानगरपालिकाले भने सकभर छिटो बनाउने गरि समन्वय गर्ने बताइएको छ । महानगरपालिकाकी मेयर रेणु दाहालले पुस महिनामा उनीहरूको सम्झौता सकिने भए पनि अर्को ठाउँमा तरकारी निर्माण कार्य नसकिएसम्म उठाउन अप्ठ्यारो हुने भएकोले तीव्र गतिमा काम गर्नको लागि व्यवस्थापनको पाटोमा सहजीकरण गर्न सकिने बताइन् ।

अहिले बसिरहेको तरकारी बजारमा भने महानगरले व्यवसायको लागि सुविधासम्पन्न मल्टि कम्प्लेक्स निर्माण गर्ने योजना बनाएको छ । ‘अण्डरग्राउण्ड र पार्किङसहितको सुविधासम्पन्न कम्प्लेक्स भवन निर्माण गर्ने योजना बनेको छ,’ महानगरकी मेयर दाहालले भनिन् । अन्ततः तरकारी व्यवसायी र भरतपुर महानगरबीचको लामोसमयसम्मको विवाद नरहने भएको छ । यसअघि महानगर, उद्योग वाणिज्य संघ र व्यवसायी संघबीच धेरैपटक छलफल भए पनि निर्णय हुन सकेको थिएन ।

विसं २०७१ सालमा तत्कालीन नगर अधिकृत नारायणप्रसाद सापकोटाको कार्यकालमा नै यो बजार साघँुरो हुनुका साथै मुख्य सडकमा भएकोले बजारलाई स्थानान्तरण गर्ने प्रयास गरेका थिए । त्यतिबेला तत्कालका लागि काम गर्न नसक्ने भएपछि तीनवर्षभित्र बजारलाई स्थानान्तरण गर्ने गरी व्यवसाय सञ्चालन गर्ने भनी सम्झौता भएको थियो ।

त्यतिबेला किसान, उद्योग वाणिज्य संघ चितवन, राजनीतिक दलका नगर प्रतिनिधि तथा नगरपालिका कार्यालयबीच तीनवर्षको लागि मासिक पहिलो वर्ष साँढे छ लाख, दोस्रो वर्ष साँढे सात लाख र तेस्रो वर्ष साँढे आठ लाख रूपैयाँ भाडा बुझाउने सम्झौताअनुसार सञ्चालन भएको थियो । त्यसपछि महेश बराल कार्यकारी अधिकृत भएर आएपछि पहिले के–के भए भन्ने विषयमा खासै चासो दिएनन् । त्यसपछि महानगरको कार्यकारी अधिकृतको रूपमा प्रेमराज जोशी आउनुका साथै चालु आर्थिक वर्षबाट सम्झौता सकिएको भन्दै नयाँ टेण्डर आह्वान गरिएसँगै व्यवसायी आन्दोलित बनेका थिए ।
हाल सञ्चालनमा रहेको तरकारी बजारबाट व्यवसायीहरूले मासिक ११ हजारदेखि २२ हजार रूपैयाँसम्म भाडा तिर्दै आएका छन् । व्यवसायीले सरसफाइ शुल्क बापत वार्षिक ९ लाख ६० हजार रूपैयाँ तिर्दै आएका छन् । ५७ व्यवसायिक सटर रहेको यो बजारको क्षेत्रफल १० कठ्ठामा फैलिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा