• होमपेज
  • Uncategorized
  • डब्लुसिएल च्याम्पियनसिप : शरदको ठाउँमा नरेश बुढाएर हङकङ जाने

डब्लुसिएल च्याम्पियनसिप : शरदको ठाउँमा नरेश बुढाएर हङकङ जाने

  • बिहिबार, अशोज २६, २०७४
डब्लुसिएल च्याम्पियनसिप : शरदको ठाउँमा नरेश बुढाएर हङकङ जाने

काठमाडौं,असोज २६ –

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको खेलमा नेपालले शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङको मिसन रोड ग्राउण्डमा हुने खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ ।

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि पनि नेपाललाई च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । त्यसैले नेपालको लागि हङकङसँगको खेल निकै महत्वपूर्ण रहेको छ । अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।

नेपालले नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा हङकङसँग खेल्न लागेको हो । यसअघि केन्यासँगको खेलमा विरामी परी उपस्थित नभएका कप्तान पारस खड्काको नेतृत्वमा नेपालले हङकङसँग उसैको घरेलु मैदानमा महत्वपूर्ण जितको लागि प्रतिस्पर्धा गर्दैछ ।

कप्तान खड्काले हङकङसँग खेल्न उत्सुक रहेको भन्दै नेपाल जितको खोजीमा हुने बताए । उनले भने, “यो नेपालको लागि एकदमै महत्वपूर्ण शृंखला हो । पछिल्लो महिना हामीले पूर्ण रुपमा दुबै खेलमा जित हात पार्ने तरिकाले तयारी गरेका छौं । सातौं राउण्डको खेल सकिँदासम्म नेपाललाई टप चारमा पुर्याउने लक्ष्य रहेको छ ।”

हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । हङकङका कप्तान बाबर हयातले नेपालसँगको खेल एकदमै महत्वपूर्ण भएको बताएका छन् । उनले भनेका छन्, “अझै शीर्ष चारमा पर्नका लागि ६ राष्ट्र प्रतिस्पर्धामा छन् । हाम्रो लागि नेपालसँगको दुबै खेल महत्वपूर्ण छ र हामी धेरै अंकको साथ जित हात पार्न चाहन्छौं । हाम्रो लागि घरेलु मैदान फाइदाको रुपमा छ ।”

नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं राउण्डमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।

जारी च्याम्पियनसिपमा नेपाल पटक पटक अभागी राष्ट्रको रुपमा परिचित हुँदै आएको छ । नेपाल कमजोर राष्ट्र भने होइन । झिनो अन्तरले पराजित हुँदा नेपालको अंक खस्किएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको थियो । त्यस्तै, पपुवा न्युगिनीसँगको दुबै खेलमा जित नजिक पुगेर पहिलो खेल २ विकेटले र अर्को खेल ३ विकेटले हारेको थियो ।

अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।

तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।

शरदको स्थानमा नरेश

टोलीका मुख्य खेलाडी शरद भेषवाकर नेखेल्ने भएका छन् । मुख्य प्रशिक्षक जगत टमाटाका अनुसार शरदलाई ज्वरो आएका कारण खेल्न नसक्ने बताएका हुन् । त्यसैले उनको ठाउँमा वैकल्पिकमा रहेका नरेश बुढाएरले स्थान पाएका छन् । नेपालमा रहेका नरेश बिहीबार नै हङकङ प्रस्थान गरेका छन् । वैकल्पिकमा उनीसँगै जितेन्द्र मुखिया, मेहबुब आलम र कुशल भुर्तेल रहेका थिए ।

नरेश बुढाएर ओपनर्स ब्याट्सम्यान हुन् । उनी शरदको स्थानमा टिममा परेसँगै ओपनिङमा प्रशिक्षक जगत टमाटाले सागर र ज्ञानेन्द्रलाई नै ओपनिङमा पठाउने छन् कि सागरको ठाउमा नरेशलाई ? चासोको विषय छ ।

शरद तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदानमा उत्रिने गर्थे । शरद विरामी पर्दा नेपाललाई ठूलो घाटा भएको छ । नेपाली टिम नै असन्तुलन भएको छ । शरदले नेपाली टिमलाई जिताउन महत्वपूर्ण योगदान दिँदै आएका छन् । उनको अनुपस्थितिमा नेपाली टिमले हङकङसँग कस्तो प्रदर्शन गर्ला ?

नेपालसामु ब्याटिङ खट्किन सक्छ

नेपालको सबल पक्ष भनेको बलिङ हो भने कमजोर ब्याटिङ नै हो । नेपालको सधैं ब्याटिङमा समस्या हुने गरेको छ । यसअघि केन्यासँगको पहिलो खेलमा पनि ब्याटिङकै कारण नेपाल पराजित भएको थियो । कमजोर ब्याटिङ लाइन हुँदा नेपालले ठूलो चनौती दिन सकिरहेको छैन । पछिल्लो खेलहरूमा नेपालका ब्याट्सम्यान खासै चल्न सकेका छैनन् । यद्यपि काठमाडौंमा सम्पन्न नामिवियासँगको खेलमा भने कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।

नेपालका अनुभवी र अग्रपंक्तिका ब्याट्सम्यानमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सागर पुन छन् । युवा ब्याट्सम्यानमा दिपेन्द्रसिंह ऐरी छन् । उनी नेपालको मध्यक्रममा ब्याटिङ लाइन सम्हाल्ने एक खम्बा पनि हुन् । त्यस्तै, अरिफ शेख पनि छन् । यता, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले पनि नेपाली ब्याटिङ लाइन फिनिसिङ गर्न सक्छन् ।

युवा बलरले पार लाउलान् ?

हङकङसँगको खेलमा नेपालका दुई नयाँ खेलाडीले डेब्यु गर्दैछन्, सुशिल कँडेल र ललित भण्डारी । दुबै युवा खेलाडी हुन् । सुशान भारी, सुशिल कँडेल र ललित भण्डारीले भेट्रान खेलाडी शक्ति गौचनको स्थान लिने छन् । शक्ति गौचन विरामी भएपछि उनलाई विश्राम दिइएको छ ।

त्यस्तै, नेपाली बलरहरूमा सोमपाल कामी, सन्दिप लामिछाने, करण केसी, बसन्त रेग्मी छन् । कप्तान पारस खड्का र सागर पुन पनि छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा