• होमपेज
  • समाचार
  • समातिए लागुऔषधका होलसेलर , भारतीय जेलबाट आउँथ्यो अर्डर

समातिए लागुऔषधका होलसेलर , भारतीय जेलबाट आउँथ्यो अर्डर

  • मङ्लबार, अशोज २४, २०७४
समातिए लागुऔषधका होलसेलर , भारतीय जेलबाट आउँथ्यो अर्डर

काठमाडौं,असोज २४

लामो समयदेखि अवैध लागु औषधको कारोबार गर्दै आएका धादिङ किरानाचोक गाउँपालिका धिरखर्कका ३६ वर्षीय दर्जबहादुर तामाङ र मकवानपुर राक्सीराङका राजकुमार मोक्तानलाई २ किलो अफिम र २२ किलो चरेशसहित प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई सोमबार अवैध चरेश र अफिम सहित काठमाडौंको बल्खुवाट पक्राउ गरेको ब्युरोका प्रमुख डीआईजी ठूले राईले बताए । पक्राउ परेका तामाङ र मोक्तानलाई ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मकवानपुरको राक्सीराङबाट अफिम र धादिङबाट ल्याएको चरेश भारत पठाउने तयारी गरेका बेला विषेश सूचनाको आधारमा ब्युरोबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको डीआईजी राईले बताए ।
“पक्राउ परेका तामाङले लामो समयदेखि लागू औषधको कारोबार गर्दै आएका थिए, प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गरेको छ, उनको कनेक्सन बारे छानबिन गर्दैछौं,” डीआईजी राईले भने ।

लामो समयदेखि लागु औषधको कारोबार गर्दै आएका दर्ज तामाङलाई प्रहरीले लामो समयदेखि नै खोजी गर्दै आएको थियो । उनी यसअघि तीन पटक प्रहरी फन्दामा परे पनि बच्दै आएका थिए ।

अनुसन्धान अधिकारीका अनुसार उनी अवैध लागु औषध चरेश मात्र हैन, अन्य लागु औषधको पनि कारोबार गर्ने गर्छन् । प्रहरीको लागु औषध ब्युरोको सर्वाधिक खोजी सूचीमा रहेका तामाङलाई पक्राउ गर्न खोजेपछि उनी सूचना दिनेलाई नै झुक्याएर भाग्न सफल भएका थिए ।

अनुसन्धान अधिकारीका अनुसार उनी लागु औषध कारोबार गर्ने स्थानमा रेकी गर्न युवाहरु परिचालन गर्थे । आफू हिँडडुल गर्ने बाटोमा समेत नयाँ मान्छे देख्नासाथ खबर गर्न र उसको हुलिया हेरेर पत्ता लगाउनकै लागि युवाहरु परिचालन गर्ने गरेका थिए ।

लागु औषध चरेश, अफिमलगायत नेपालबाट भारत जाने लागु औषधका उनी डिलर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ब्युरोले धेरै पहिलेदेखि खोजेको व्यक्ति पक्राउ परेको भन्दै नेपालबाट भारत पठाउने अवैध लागु औषधका तस्करी मध्ये दर्ज पनि रहेको ब्युरोका डीआईजी ठूले राईले बताए । उनलाई पक्राउ गर्न ६ महिनादेखि ब्युरोको टोली लागिपरेको थियो ।

भारतीय जेलमा रहेका तस्करले तामाङसँग अर्डर गर्थे

भारतका विभिन्न जेलमा रहेका लागु औषध तस्करसँग तामाङको सम्पर्क रहने गरेको अनुसन्धानबाट खुलेको छ ।
लागु औषधको मुद्दामा भारतीय जेलमा रहेका आशनारायण मुखिया, निसान सिंहलगायतले आफूलाई चरेश तथा अफिमको अर्डर दिने गरेको तामाङले प्रहरी बयानमा भनेको स्रोतले जनाएको छ ।

भारतको जेलबाट कुन व्यक्तिलाई के लागु औषध दिने भन्दै फोन आएपछि विभिन्न माध्यम प्रयोग गरी आफूले त्यहाँ लागु औषध सप्लाइ गर्ने गरेको तामाङले प्रहरी बयानमा बताएका छन् ।

तामाङले नेपालबाट चरेश, अफिमलगायतका लागु औषध भारत सप्लाई गर्ने र भारतबाट ब्राउन सुगर, खैरो हिरोइन जस्ता लागु औषध नेपाल भित्र्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Facebook Comments

सम्बन्धित समाचार