चितवन, असोज २२–
आसन्न प्रतिनिधि तथा प्रदेश सभाका लागि नेपाल लोकतान्त्रिक फोरम, चितवनले उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला समितिले प्रतिनिधि सभाको लागि दुई निर्वाचन क्षेत्रबाट तीन÷तीन जना र एक क्षेत्रबाट एक जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ ।
सिफारिस अनुसार प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरी, प्रमोदकुमार महतो र फूलमाया श्रेष्ठ रहेका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट निरु कार्की, सुनबहादुर चेपाङ, कमानसिंह चौधरी, क्षेत्र नम्बर ३ बाट राजु पौडेल रहेका छन् । त्यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ मागर महतो, अनिल तामाङ र शोभनीदेवी थरुनीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरीले जानकारी दिए ।
यस्तै प्रदेश सभा तर्फको उम्मेद्वार सिफारिस भोली गरिने अध्यक्ष चौधरीले जानकारी दिए । उम्मेद्वार सिफारिसका लागि पार्टीकी केन्द्रीय सदस्य निरु कार्कीको विशेष उपस्थितिमा बैठक बसेको थियो । चितवनमा मसिंर २१ गते निर्वाचन हुने भएपनि अहिले जिल्लाका दलहरु धमाधम उम्मेद्वार सिफारिस गर्न थालेका छन् ।