चितवन, असोज १९–
पटक पटक गाउँ निस्किएर स्थानीयवासीलाई दुःख दिएपछि दुर्लभ एकसिंगे गैंडाको बच्चालाई बुधबार उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार करिब दुई वर्षको भाले गैंडालाई भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित बुद्धनगरबाट उद्धार गरी सौराहा लगिएको हो ।
उक्त गैंडालाई यसअघि दुई पटकसम्म स्थानीय वनको भित्रि भागमा पुर्याएर छाडिएको थियो । तर उक्त गैंडाले पुनः सोही ठाउँमा आएर दुःख दिएपछि हात्तीले धपाएर कसरा पुर्याइएको भएपनि पुनः फर्किएर सोही ठाउँ पुगेपछि उद्धार गरी सौराहा लगिएको हो ।
संरक्षण कोषमा यसअघि बाढीपछि उद्धार गरी ल्याइएको एउटा बच्चा गैंडा पनि रहेको छ । सो गैंडासँगै यसलाई राख्ने कँडेलले बताउनुभयो । गैंडालाई खोरमा राखी सौराहा लगिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार बेहोस गराई गौंडा लगिएको हो ।