• होमपेज
  • समाचार
  • ‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’ – नेता श्रेष्ठ

‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’ – नेता श्रेष्ठ

  • मङ्लबार, अशोज ३, २०७४
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’ – नेता श्रेष्ठ

काठमाडौँ, असोज ३ –

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ । यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेण्डा धरापमा पर्न जान्छ ।”

नेता श्रेष्ठले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीकोे पराजयबारे समीक्षा गरेर नीति कार्यक्रम तथा योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा विजयी भएको माओवादी गत वैशाख ३१ गते भएको निर्वाचनमा भने दुई स्थानमा मात्रै चित्त बुझाउनु परेको थियो ।

स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले सबै माओवादी नेता एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षडयन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने पनि उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका अर्का नेता हितराज पाण्डेले आगामी निर्वाचनका लागि पार्टीले अहिल्यैदेखि कार्यकर्ता परिचालन र आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निर्वाचनमा भएको हारको समीक्षा गरेर अगाडि जानुपर्छ । ”

माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपानेले चुनाव जित्न संगठन मात्र बलियो भएर नहुने भन्दै त्यसका लागि नैतिकता, इमान्दारिता र कुशल परिचालन आवश्यक रहेको बताउनुभयो ।

माओवादी नेता भक्ति लामिछानेले पार्टीले चुनाव जित्नका लागि आवश्यकताअनुसार तालमेल र सहकार्य पनि गर्नुपर्नेमा जोड दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार