• होमपेज
  • समाचार
  • महिलाको आर्थिक सशक्तीकरण आवश्यक छ : राष्ट्रपति

महिलाको आर्थिक सशक्तीकरण आवश्यक छ : राष्ट्रपति

  • शुक्रबार, भदौ ३०, २०७४
महिलाको आर्थिक सशक्तीकरण आवश्यक छ : राष्ट्रपति

काठमाडौँ,भदौ ३० –

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिएकी छन् ।
पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गरिन् ।
विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्तरूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन/कानूनको कार्यान्वयनसँगै नयाँ कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिईन् ।

सभामुख ओनसरी घर्तीले महिला, दलित तथा अन्य उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि पनि समयभित्रै संविधान कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन सबैमा अपिल गरिन् ।
निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको नीति निर्माण तहमा सहभागिताका लागि स्थानीयस्तरबाटै शुरू गर्नुपर्छ भनिन्।
करिब एक घण्टाको वृत्तचित्रमा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, निवर्तमान प्रधानन्यायाधीश सुशील कार्कीलगायत संघर्षबाट स्थापित विभिन्न व्यक्तिको व्यक्तित्व, संघर्ष र सफलतालाई समेटिएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार