• होमपेज
  • समाचार
  • काँग्रेस नै मधेशको असली पार्टीः प्रधानमन्त्री देउवा

काँग्रेस नै मधेशको असली पार्टीः प्रधानमन्त्री देउवा

  • बुधबार, भदौ २८, २०७४
काँग्रेस नै मधेशको असली पार्टीः प्रधानमन्त्री देउवा

जनकपुरधाम (धनुषा), भदौ २८–

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मधेश र मधेशीको भावनाको कदर गर्ने पार्टी रहेकोले नेपाली काँग्रेस सच्चा र पक्का मधेशवादी पार्टी रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस धनुषाले बुधबार जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले भन्नुभयो–“आफूलाई मधेशवादी भन्नेहरु झगडा गर्न व्यस्त छन् । आफै झगडा गर्नेहरु मधेशवादी हुन सक्दैनन् ।” उहाँले नेपाली काँग्रेस मात्र मधेशको पक्षमा संघर्ष गर्ने पार्टी रहेकोले जनताको अधिकार प्राप्त गर्न र विकासको लक्ष्य हासिल गर्न नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको देउवाले बताउनुभो ।

उहाँले नेपाली काँग्रेसले मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधनको प्रयास समेत गरेको प्रष्ट पार्नुभएको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले मधेशको भावना अनुसार समस्या समाधान गर्न चाहे पनि एमालेले अल्झाउने काम मात्र गरेको आरोप लगाउनुभयो । मधेशको भावना अनुसार आफूहरुले संविधान संशोधनको प्रयास गरेपनि एमालेले हलो अडकाउँदा सफल हुन नसकेको देउवाको कथन थियो । मधेशी जनताको भावना अनुरुप सविधान संशोधन गर्न खोज्दा एमाले विपक्षमा उभिएको बताउदै उहाँले एमाले मुलुकमा मधेशी र पहाडीबीच झगडा लगाउने षयडयन्त्रमा रहेकोे आरोप लगाउनुभयो ।

तराई मधेशमा बाढीको समस्यालाई औल्याउँदै सभापति देउवाले भारत भ्रमणको क्रममा बाढीको समस्या समाधान गर्ने विषयमा भारतीय पक्षसँग गंभीर छलफल भएको बताउनुभयो । उहाँले भारत भ्रमणको क्रममा तराई मधेशको बाढी समस्या समाधान गर्न प्राविधिक टोली गठन गर्ने सहमति भएको र छिट्टै उक्त टोलीले समस्या समाधानका लागि काम थाल्ने विश्वास प्रकट गर्नुभयो ।

जनकपुरको भव्य आमसभालाई संबोधन गर्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको स्थापनाकालदेखि लोकतान्त्रिक आन्दोलनलाई साथ दिदै आएको तराई र मधेश कहिल्यै कम्युनिष्ट तानाशाहीको पक्षमा जाने कल्पना समेत गर्न नसकिने बताउनुभयो । उहाँले नेपाली कांग्रेसले समस्त तराईबासीलाई अधिकार सम्पन्न बनाउन र मधेशलाई मुलुकको समृद्धिको आधार बनाउन नेपाली कांग्रेसले सधै प्रयास गरिरहेको बताउनुभयो । उहाँले पनि संविधान संशोधनको प्रयास एमाले लगायतका केही दलले सफल हुन नदिएको आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले नेपाली काँग्रेस विजयी भए मात्रै अधिकार र विकासले सम्पन्न हुने मधेशको परिकल्पना पूरा हुने बताउनुभयो । उहाँले मधेसलाई समृद्ध बनाउने योजना नेपाली कांग्रेससँग मात्रै रहेको उल्लेख गर्दै २०४८ पछि नेपाली काँग्रेसकै कारण मधेसको विकास सम्भव भएको दावी गर्नुभयो ।

कार्यक्रममा कोषाध्यक्ष सितादेवी यादवले एमालेले मधेशवासीलाई विदेशीको जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो । उहाँले मधेस काँग्रेसको आधार भूमि रहेको प्रष्ट पार्दै कसैले भन्दैमा मधेसी जनता काँग्रेसकाविरुद्ध नजाने पनि दावी गर्नुभयो ।

नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा, पूर्व महामन्त्री विमलेन्द्र निधि, कृष्ण सिटौला, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, कृषि मन्त्री रामकृष्ण यादव, नेता प्रदिप गिरी, सांसद प्रेम किशोर साह, लिला कोइराला, नेता बालकृष्ण खाँड, जनकपुर उपमहानगरपालिकाका मेयर पदका काँग्रेसका उम्मेदवार मनोज कुमार साह लगायतका नेताहरुले मधेशको विकास र मधेशवासीको हितकोलागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार