चितवन,भदौ २८-
युथ मिसन फर सोसाइटी चितवनले नंयाँ किरण मावि भोजाडका छात्राहरुलाई आज सेनिटरी प्याड वितरण गरेको छ । युथ मिसन फर सोसाइटी चितवनका सदस्यहरुले विद्यालयका सहायक प्रधानाध्यापकद्धय कुष्माकर न्यौपाने र वनाथ रेग्मीलाई सेनीटरी प्याड हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा अध्ययनरत रजश्वला हुने उमेरका विद्यार्थीलाई आवश्यकता अनुसार सेनीटरी प्याड उपलब्ध गराइएको युथ मिसन फर सोसाइटीका सदस्य सविता अधिकारीले बताइन् ।
चितवनकै पहिलो छात्रामैत्री शौचालय निर्माण गरेको नयाँ किरण माविका छात्राहरुलाई विद्यालयमा महिनावारी भएका बेला उपलब्ध गराउने सेनिटरी प्याडको दिघो स्रोत नभएको भन्ने समाचारको आफैले रिर्पोटिंग गर्नुपरेपछि केही गरौं भन्ने भाव जागेको सदस्य हरि पौडेलले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक कुष्माकर न्यौपानेले निम्न आय भएका परिवारका बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरु आफैले सेनीटरी प्याड खरिद गर्ने अवस्था नरहेको र विद्यालयले संधै उपलब्ध गराउन दिगो स्रोत नभएको बताए ।विभिन्न संघसंस्थासंग आग्रह गर्दै सहयोग मागिएको भन्दै युवाहरुले सहयोग गर्नु अत्यन्तै स्वागयोग्य रहेको उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका कार्य समिती सदस्य प्रमिता ढकालले किशोरावस्थामा आउने शारिरिक एवम् मानसिक परिवर्तन र त्यसले निम्त्याउने मनोसामाजिक जटिलतालाई समेत ध्यानमा राख्दै विद्यालयले सुरु गरेको छात्रामैत्री शौचालय अनुकरणीय रहेको बताइन् ।महिनावारीलाई समस्याका रुपमा लिएर प्रगतिको वाधक बन्नबाट रोक्दै प्रगतितर्फ लम्कन आवश्यक रहेको भन्दै यसबारे आफ्ना समस्या खुलस्त राख्न समेत छात्राहरुलाई प्रेरीत गरीन् । यसका लागि शिक्षक अभिभावकको भूमिका महत्वपूर्ण हुने समेत उनले जोड दिएकी छिन् ।
सो क्रममा विद्यालयको सरसफाइ संयोजक समेत रहेका शिक्षक भवानीप्रसाद शर्मा जसले पहिलोपटक विद्यालयमा छात्रामैत्री शौचालयको अवधारणा ल्याए उनले यसबारे थप प्रष्ट्याए । दश वर्ष अघि विद्यालयमा ५ सय जना छात्रा मध्य दैनिक १५ देखि २० जना विद्यार्थी अनुपस्थित रहने गरेको उनले सम्झिए । महिनावारी हुने उमेरका ३ सय जनामा ३५ देखि ४० छात्रा प्रत्येक दिन महिनावारीको अवस्थामा हुन्थे । उनीहरूमध्येका आधा छात्राहरू महिनावारीको समयमा विद्यालय नआउने वा आए पनि विदा मागेर घर जाने गरेको पाएपछि विद्यालयमा छात्रालाई टिकाउने सोचका साथ छात्रामैत्री शौचालय निर्माण गरेको उनले बताए ।
विद्यालयमा हाल महिनावारीकै कारण विद्यालय हाजिर नहुने विद्यार्थी संख्या शुन्यमा झरेको उनले बताए ।
पानीको व्यवस्था भएको शौचालयमा महिनावारीका बेला प्रयोग भएको स्यानिटरी प्याड फयँक्ने प्वाल पनि बनाइएको छ । भित्रबाट फ्याँकिएका प्याडहरू बाहिरपट्टि हावा खेल्ने र घाम पर्नेगरी बनाइएको यो ट्यांकीमा जम्मा हुन्छन् । बेलाबेलामा आगो लगाएर प्याडहरू जलाइन्छ ।
युथ मिसन फर सोसाइटी चितवन युवाहरुको संस्था हो ।समाज रुपान्तरणका लागि सुरुआत आफैबाट गरौं भन्ने संकल्प सहित सामाजिक कार्यमा अग्रसरता लिन एकजुट भएको संस्थाका सदस्य भाग्यश्वरी गायकले बताइन् ।आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग कार्यक्रमलाई योजनवद्ध ढंगले अघि बढाउने अर्का सदस्य दिपक पोखरेलले बताए ।