• होमपेज
  • Uncategorized
  • आजबाट मुग्लिन-नारायणगढ सडक २४ सै घण्टा खुलाः सडकको अवस्था जानकारी दिन ठाउँठाउँमा डिजिटल सूचना बोर्ड

आजबाट मुग्लिन-नारायणगढ सडक २४ सै घण्टा खुलाः सडकको अवस्था जानकारी दिन ठाउँठाउँमा डिजिटल सूचना बोर्ड

  • बुधबार, भदौ २८, २०७४
आजबाट मुग्लिन-नारायणगढ सडक २४ सै घण्टा खुलाः सडकको अवस्था जानकारी दिन ठाउँठाउँमा डिजिटल सूचना बोर्ड

चितवन, भदौं २८-

हरेक दिन रातको समयमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि २४सै घन्टा खुला हुने भएको छ । दसैं र तिहार पर्व मनाउन घर जाने यात्रुलाई सहज रूपमा यात्रा गराउन सो सडकखण्ड २४सै घन्टा सञ्चालनमा ल्याउन लागिएको हो ।

२४ सै घण्टा सडक सञ्चालनमा गर्ने निर्णयसँगै सडकको अवस्था बताउन ठाउँठाउँमा डिजिटल सूचना बोर्ड पनि राखिएको छ । वर्षाका कारण पहिरो खस्ने समस्या बढेपछि गत २५ असारदेखि रातको समयमा सडक यातायात बन्द गरिएको थियो । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढ तर्फबाट जाने सवारीसाधनलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो ।

चाडपर्वलाई ध्यानमा राखी राति पनि सडक खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनु भयो । उहाँका अनुसार चाडपर्वको अवधिमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने छ । यात्रुवाहक सवारीसाधनको चापलाई हेरेर राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगरनजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबाटारमा रोकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडपर्वमा सवारी चाप बढ्ने भएकाले सडक खण्डमा सवारी चाप कम गरी यातायात सहज बनाउने तयारी गरिएको जनाएको छ । चाडपर्वको अवधिमा सडकमा खाल्डाखुल्डी पुर्ने, पानी छर्कने, निर्माण सामग्रीका कारण सडक अवरोध नगर्ने तयारी भएको बताउँदै नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले निर्माण कम्पनीहरूले सो अवधिका लागि निर्माणको कामभन्दा यात्रुमैत्री भएर काम गर्ने जानकारी दिनुभयो ।

ठाउँठाउँमा डिजिटल सूचना बोर्ड

नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न लागेकाहरूको जिज्ञासा समाधान गर्न आयोजनाले काठमाडौंलगायत ठाउँठाउँमा डिजिटल सूचना बोर्ड राखेको छ । सडक खण्डमा बाटो बन्द छ वा खुला छ जस्ता जानकारी बोर्डमा देखिनेछ ।

सात स्थानमा डिजिटल सूचना बोर्ड राख्ने तयारी भए पनि अहिलेसम्म पाँच स्थानमा मात्र सूचना बोर्डहरू राखिएको जानकारी दिँदै आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले काठमाडौंको नागढुंगामा, नारायणगढ–आँपटारी, मुग्लिन र हेटौंडामा राखिएको जानकारी दिनुभयो । नौबिसे, पथलैया र बुटबलमा पनि यस्तो सूचना बोर्ड राखिने उहाँको भनाई छ ।

आयोजनाका अधिकारीले इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटरको मद्दतले जानकारी प्रवाह गर्नेछन र त्यही सूचना सौर्य ऊर्जाबाट चल्ने बोर्डमा देखिनेछ । सातवटै बोर्डका लागि एकै खालको वा फरकफरक सूचना राख्न मिल्ने सुविधा भएको खनालले जानकारी दिनुभयो ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको बनाउन विस्तारको काम भइरहेको छ । सडक फराकिलो बनाउने क्रममा पटकपटक बन्द हुँदै आएको छ । त्यसैले ठाउँठाउँमा सूचना बोर्ड राखेर तत्कालको तत्कालै सूचना प्रवाह गर्दा यात्रुलाई सडकमा यात्रा गर्ने वा नगर्ने योजना बनाउन सहयोग पुगेको छ ।

सडकखण्ड सामान्य रहेको अवस्थामा बोर्डमा ट्राफिक नियम पालनासम्बन्धी सूचनाहरू राखिने गरिएको छ । सूचना बोर्डको आयु कम्तीमा १० वर्षको हुने खनालले जानकारी दिए । एउटा सूचना बोर्ड राख्न २२ लाख रुपैयाँ खर्च भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार