काठमाडौं,भदौं २७-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँदो केही महिनाभित्र माओवादी पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्।
मंगलबार राष्ट्रिय नाजघर जमलमा भएको अग्रगामी संघीय मोर्चासँगको एकता र ध्रुवीकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उत्पीडित नेपाली जनताका सपनाहरु माओवादीको एकतामा मात्रै सम्भव भएको बताए। माओवादी आन्दोलन एकता र ध्रुवीकरणको चरणमा प्रवेश गरेको भन्दै उनले माओवादी पार्टी र आन्दोलनलाई सबैभन्दा ठूलो पार्टी र आन्दोलन बनाउने दावी गरे।
माओवादी आन्दोलनमा आएको फुटलाई जनताले इन्कार गरेको भन्दै अध्यक्ष प्रचण्डले फुटले आन्दोलनलाई कमजोर बनाएको बताए। ‘नेपाली जनताले फुट र विभाजनलाई इन्कार गरिसके’, उनले भने, ‘हाम्रा सपनाहरु फुटमा होइन एकतामा साकार हुन्छन्।’
उनले अझै पनि केही पार्टी र तिनका नेताहरु एकतामा नआएको भन्दै उनीहरु निद्रामै रहेको बताए। ‘जो जहाँबाट ब्युझिन्छ, त्यहीँबाट हिड्न शुरु गर्ने हो, एकतामा आउने तपाईंहरु ब्युझिनुभएको छ’, उनले भने, ‘ अझैपनि केही साथीहरु निन्द्रामै हुनुहुन्छ। ब्युझिएपछी थाहा पाउनुहुन्छ, गन्तव्य कहाँ रहेछ, टार्गेट कहाँ रहेछ र हान्नुपर्ने कसलाई रहेछ, बचाउनुपर्ने कसलाई रहेछ भनेर।’
अध्यक्ष प्रचण्डले मधेसी जनताले माओवादी आन्दोलन कमजोर बनेका कारण अधिकारबाट वञ्चित भएको दावी गरेका छन्। मधेस भ्रमणका क्रममा मधेसी जनताले आफूलाई आत्मसम्मान दिलाईदिन आग्रह गरेको भन्दै उनले भने, मधेसमा मैले लाखौंको बीचमा भनेको छु उत्पीडित क्षेत्र, समुदाय, महिला, मुस्लिम र मधेसीहरुले आत्मसम्मानको अनुभूति नगरेसम्म म विश्राम लिनेछैन।’
उनले माओवादी नेतृत्व र आन्दोलन कमजोर हुनु भनेको सिंगो परिवर्तनको आन्दोलन कमजोर हुने भन्दै माओवादी आन्दोलनलाई सशक्त बनाउनका लागि ध्रुवीकरण र एकताको अभियान चलाएको बताए।
संघीय समाजवादी फोरमका केन्द्रीय सचिवालय सदस्य नवीन रोका मगरसहित संघीय फोरम, वैद्य माओवादी, विप्लव माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरी २००० जना नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कार्यक्रममा संघीय समाजवादी फोरमका सचिवालय सदस्य नवीन रोकाको नेतृत्वमा १५०० जना, नेकपाका नेताहरु मोहन न्यौपाने र मेखबहादुर बिक लगायतका नेताहरुको नेतृत्वमा ५ दर्जन र वैद्य माओवादीका नेता थमानसिंह तामाङको नेतृत्वमा ३०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।