एजेन्सी, भदौ २७—
इजिप्टको उत्तरी भागमा पर्ने सिनाईको दङ्गाग्रस्त शहर अल आरिशमा कथित इस्लामिक स्टेट (आईएस) को आतंककारी दस्ताले गरेको आक्रमणमा परी १८ जना सुरक्षाकर्मी मारिएका छन् ।
बीबीसीका अनुसार उक्त आक्रमण सोमबार भएको थियो । आईएस आतंककारीहरूले सुरक्षाकर्मीको टोलीमाथि घात लगाएर आक्रमण गरेका थिए । हमलामा अन्य आठ जना घाइते बनेको समाचारमा उल्लेख छ ।
सुरक्षासँग सम्बद्ध एक सूत्रले बताएअनुसार सुरक्षाकर्मीको बख्तरबन्द गाडीलाई निशाना बनाएर सडक किनारामा एउटा बम राखिएको थियो र तीमध्ये तीनवटा गाडीमा आगो लगाइयो । यसपछि हतियारले सुसज्जित आतङ्ककारीले प्रहरीहरूलाई घेरेर उनीहरूमाथि अन्धाधुन्ध प्रहार गरेका थिए । इजिप्ट (मिश्र) को आन्तरिक मन्त्रालयले उक्त हमलाको पुष्टि गरेको छ ।
सन् २०१३ मा मिस्रमा राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि इस्लामिक स्टेटका लडाकुहरूले निरन्तर हमला गर्दै आएका छन् र यसक्रममा सयौं सुरक्षाकर्मीको मृत्यु भैसकेको छ ।