• होमपेज
  • Uncategorized
  • चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा, चितवनको विकासमा कायापलट ल्याउने उद्घोष (भिडियोसहित)

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा, चितवनको विकासमा कायापलट ल्याउने उद्घोष (भिडियोसहित)

  • शुक्रबार, भदौ २३, २०७४
चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा, चितवनको विकासमा कायापलट ल्याउने उद्घोष (भिडियोसहित)

चितवन, भदौं २३–

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ ।

प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनबाट चुनाव लड्ने घोषणा गर्नुभएको हो । “मैले देशभरको चुनावी अनुभव बटुलेको छु, अब आफ्नै जिल्लाबाट चुनाव लड्ने घोषणा गर्दछु”–अध्यक्ष प्रचण्डले भन्नुभयो । अध्यक्ष प्रचण्डले चितवनको भुमिकालाई राष्ट्रिय राजनीतिको अग्रस्थानमा पु¥याउन पनि आफू चितवन आउन लागेको बताउनुभयो । “भौगोलिक रुपमा केन्द्र बनेको चितवनलाई अब राजनीतिक भुमिकालाई अग्रस्थानमा लैजान म आउन लागेको हुँ, यसले राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिन सक्छ”–अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले थप्नुभयो– “शान्ति प्रक्रियामा आएपछि पहिले रोल्पा, काठमाडौं र मधेसबाट चुनाव लडेँ। त्यहाँका जनताले मलाई मतदान गरेर विजयी पनि गराए। उनीहरूकै मतले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर मिल्यो,अब देशलाई आर्थिक समृद्धि तिर लैजानु छ । त्यसको नेतृत्व अब चितवनबाट हुन्छ।”

अध्यक्ष प्रचण्डले चितवनको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्ने भन्दै यहाँका जनताले आफ्नो भुमिका र पार्टीको योगदान बुझ्नेमा विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले आफूले कुन क्षेत्रबाट लड्ने भन्ने बारे नखुलाए पनि क्षेत्र नं.३ बाट लड्ने तयारी रहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले अब देशमा तिव्र गतिमा आर्थिक विकास हुनु जरुरी रहेको भन्दै यसको नेतृत्व नै माओवादीले गर्ने बताउनुभयो । उहाँले यसैका लागि आफ्नै गृहजिल्ला आएको बताउनुभयो ।

चितवनलाई विकास गर्ने प्रचण्डको योजना

माओवादी अध्यक्ष प्रचण्डले चितवनको विकासमा कायापलट ल्याउने उद्घोष गर्नुभएको छ । संभावनाले भरिएको चितवनलाई विकास गर्नका लागि नै आफू चितवन आएको प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले चितवन शैक्षिक, स्वास्थ्य, कृषि, आद्योगिक सबै हिसाबले उपयुक्त रहेकोले दिर्घकालिन रुपले कार्ययोजना ल्याएर चितवनको विकास गर्ने बताउनुभयो । उहाँले चितवन सबै हिसाबले पूर्वाधारयुक्त र संभावना भएको ठाउँ भएकोले जिल्लालाई नै महानगर बनाउनु पर्ने बताउनुभयो ।

यस्तै अध्यक्ष प्रचण्डले चितवनको नारायणी नदी र राप्ती नदीलाई जोडेर रिङ रोड बनाउन सकिने भन्दै यसको थालनी भरतपुर महानगरपालिकाले गर्ने बताउनुभयो । उहाँले पश्चिम चितवनबाट नवलपुर जोड्न दुई वटा पुल निर्माणको आवश्यकता रहेको भन्दै यसको लागि आफू लागिपरिरहेको बताउनुभयो ।

मधेसमा माओवादीप्रति जनलहर बढ्यो

अध्यक्ष प्रचण्डले प्रदेश नंं २ को स्थानीय तहको निर्वाचनमा मधेसी जनताले माओवादीलाई भोट हाल्ने दावी गर्नुभयो ।

पछिल्लो आफ्नो दश महिने सरकारले गरेको क्रियाकला र क्षेत्रीय पार्टीबाट नभई राष्ट्रिय पार्टीबाट मात्रै हकअधिकार स्थापित हुने कुरा मधेसी जनताले बुझेको भन्दै माओवादीप्रति मधेसी जनता आकर्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो–“म मधेसी जनता बसेको कोर क्षेत्रमा गए, सबै हामीप्रति आकर्षित छन्, हामीले मात्रै मधेसी जनताको हक, अधिकार र विकास गर्न सक्छौं भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ ।”

उहाँले प्रदेश नं.२ मा काँग्रेससंग धेरै क्षेत्रमा तालमेल गर्ने प्रयत्न भएपनि काँग्रेसको आन्तरिक कलहले नै त्यो सम्भव नभएको बताउनुभयो । उहाँले प्रदेश र संघीय निर्वाचनमा भने काँग्रेससंगै तालमेल हुने स्पष्ट पार्नुभयो ।

चितवनमा मिडिया एकेडेमी निर्माणमा सहयोग गर्ने

अध्यक्ष प्रचण्डले चितवनमा मिडिया एकेडेमी निर्माण गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले राखेको जिज्ञासाको समाधान गर्दै अध्यक्ष प्रचण्डले सो प्रतिवद्धता जनाउनुभएको हो । “मैले पहिलेदेखि भन्दै आएको छु चितवनका पत्रकारहरुका लागि मैले संस्थागत सहयोग गर्छु”–अध्यक्ष प्रचण्डले भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार