• होमपेज
  • समाचार
  • विदेशी भूमिमा ‘जितिया’ पर्व

विदेशी भूमिमा ‘जितिया’ पर्व

  • बिहिबार, भदौ २२, २०७४
विदेशी भूमिमा ‘जितिया’ पर्व

कारी महतो,

चितवन, भदौ २२–

शान्ति चौधरी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ की स्थायी बासिन्दा हुन् । तर उनी विगत ९ वर्षदेखि परिवारसहित कतारको दोहामा रहदै आएकी छिन् । यसरी विदेशी भूमिमा वर्षौसम्म रहँदा नयाँ पिढीले आफ्नो समुदायको मौलिक संस्कृति बिर्सिदै जानसक्ने कुरामा उनी सधैं चिन्तित हुन्छिन् ।

शान्ति चौधरी जस्तै सप्तरी जिल्लाको सोहि नगरपालिका वडा नं. ३ की मन्जु चौधरी पनि वर्षौदेखि परिवारसहित कतारको दोहामा रहँदै आएकी छिन् । उनलाई पनि आफ्नो समुदायको मौलिक संस्कृतिको माया छ । त्यस्तै मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ७ की चाँदनी चौधरी पनि धेरै वर्षदेखि कतारको दोहामै परिवारसहित रहदै आएकी हुन् । शान्ति, मन्जु र चाँदनी जस्तै परिवारसहित दर्जनौं महिलाहरु कतारमा रहदै आएका छन् ।

यसवर्ष भने कतारमा रहँदै आएका ती सबै थारु महिलाहरु एकै ठाउँमा भेला भई जितिया पर्व मनाउने योजना बनाएका छन् । ती प्रवासी महिलाहरुको मौलिक संस्कृति संरक्षणप्रतिको सोंच र योजनालाई भने थारु कल्याणकारिणी सभा (थाकस) कतार च्याप्टरले सघाउने भएको छ ।

थाकस कतार च्याप्टरको आयोजनामा आउँदै गरेको थारु महिलाहरुको महान पर्व जितियालाई भव्य रुपमा मनाउनका लागि १५ सेप्टेम्बरमा कतारको दोहा शहरमा रहेको नक्यान रेस्टुरँण्टमा जितिया विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थाकस कतार च्याप्टरका प्रथम उपाध्यक्ष नारायण चौधरीले बताए । त्यसका लागि मनोज चौधरीको संयोजकत्वमा मूल समारोह समिति र घनश्याम चौधरीको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको छ ।

यसवर्ष जितिया पर्व भदौ २८ गते अर्थात १३ सेम्प्टेम्बरका दिन परेको छ । “जातीय पहिचानको संरक्षण र प्रवद्र्धन, शैक्षिक आर्थिक सामाजिक उत्थानमा हाम्रो समर्पण” मूल नारा रहेको थाकस कतार च्याप्टर २००८ स्थापना भई विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष अरबिन्द चौधरीले बताए । केहि दिनअघि पनि कतारमा रहेका थारु दाजुभाईहरुलाई जम्मा गरी वनभोजको कार्यक्रम आयोजना गरिएको थियो र सोहि कार्यक्रममा नेपालका बाढीपीडितहरुका लागि आर्थिक संकलन गरी पठाएको थियो ।

कतारमा थाकसले आयोजना गरेको जितिया विशेष साँस्कृतिक भने पहिलो नभई दोश्रो वर्ष हो । “गतवर्ष पनि यसैगरी भव्य रुपमा कतारमा सफलताका साथ जितिया मनाइएको हो” शान्ति चौधरीले भनिन् “जितिया पर्व थारु महिलाहरुको लागि विशेष पर्व भएकोले हामी विदेशमा पनि मौलिक पर्व अनि थारु कला संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भनेर हामी जितिया मनाउदै छौं ताकि हाम्रो नयाँ पिढीले पनि सिकोस् र नेपाल बाहिर पनि अरु समुदायले हाम्रो कला संस्कृति बारेमा जानकारी हासिल गरोस् ।”

कतारमा रहेको थारु कल्याणकारिणी सभामा नेपालभरिबाट गएका ५ हजार भन्दा बढी थारुहरु संस्थागत रुपमै सदस्यता लिएका छन् । अनुमानित १५ देखि २० हजारको संख्यामा नेपालबाट वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदै आएको कुरा थाकस कतार च्याप्टरका उपाध्यक्ष नारायण चौधरीले बताए ।

Facebook Comments

सम्बन्धित समाचार