• होमपेज
  • समाचार
  • चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता

चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता

  • बिहिबार, भदौ २२, २०७४
चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता

चितवन, भदौ २२–

निजामती सेवा दिवस–२०७४ को अवसरमा यहाँका राष्ट्र सेबक कर्मचारीले भ्रष्टाचार मुक्त चितवन, अबको अभियानसहितका पाँचबुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । भरतपुरमा आज आयोजित निजामती सेवा दिवस–२०७४ सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित सरकारी कार्यालयका प्रमुख र कर्मचारीले प्रतिबद्धता लेखिएको माइन्यूटमा हस्ताक्षर गरेका हुन् ।

राजश्वबाहेक कुनै पनि बहानामा कसैले पनि अतिरिक्त रकम नलिने र त्यस्तो रकमको अपेक्षा नगरी भ्रष्टाचार मुक्त चितवन अबको अभियानलाई सार्थक बनाउने, कार्यालयमा निःशुल्क फारामको व्यवस्था गरी बिचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने, नागरिकमैत्री प्रशासन तथा वातावरणमैत्री कार्यालय बनाउने उल्लेख छ ।

त्यसैगरी नीतिप्रति प्रतिबद्ध र राजनीतिप्रति तटस्थ भन्ने सार्वजनिक प्रशासनको मूलभूत मान्यता बमोजिम पेशागत व्यावसायिकरुपमा परिचालन हुने र चितवन सेवा सुधार मार्गचित्र– २०७३ को पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रतिबद्धता जायर गरेअनुसार काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशी, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चितवनका अध्यक्ष मंगलराम दराईंलगायतले प्रतिबद्धता जनाउनुभएको थियो । यसअघि भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । –रासस

Facebook Comments

सम्बन्धित समाचार