• होमपेज
  • समाचार
  • भरतपुर अस्पतालमा नवजात शिशु र सुत्केरीको भूइँमै उपचार

भरतपुर अस्पतालमा नवजात शिशु र सुत्केरीको भूइँमै उपचार

  • बुधबार, भदौ २१, २०७४
भरतपुर अस्पतालमा  नवजात शिशु र सुत्केरीको भूइँमै उपचार

चितवन भदौं २१-

मेडिकल सिटीको रुपमा चर्चा पाएको भरतपुर र जिल्लाकै सुविधासम्पन्न भनिएको सरकारी अस्पताल भरतपुर अस्पतालमा सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरु भूइँमै उपचार गराउन बाध्य छन् ।

विश्व स्वास्थ्य संगठनले पनि बच्चा जन्मदेखि २४ घण्टासम्मको अवधि निकै चुनौतीपूर्ण हुने उल्लेख गरेको छ । त्यस्तै २४ घण्टाअघि अस्पतालबाट डिस्चार्जसमेत गर्न नहुने स्वास्थ्य संगठनको भनाइ रहेको छ । तर, सुत्केरी र नवजात शिशुले भने शैयाको अभावमा भूइँमै बसेर उपचार गराइरहेका छन् । त्यस्तै बिरामी र शिशुको अवस्था २४ घण्टासम्म निरन्तर जाँच नगरी सामान्य भन्दै घर पठाउने गरिएको छ ।

‘अकस्मात सुत्केरी गराउन आउँछन्, बच्चा जन्मिएपछि शैया अभावमा भूइँमै उपचार गराउन बाध्य भएका छौं’, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले भने,‘शैया थोरै छ, सुत्केरी सेवा लिन आउने धेरै छन् ।’ दैनिक ६० जना र चितवनमा ९० प्रतिशत सुत्केरी गराउने भरतपुर अस्पताल रहेको भन्दै मेसु डा मरासिनीले हाल देखिएको समस्या समाधानका लागि अस्थायी भवनको बारेमा पनि सोच बनाइएको जानकारी गराए । उत्कृष्ट सेवा दिएको भन्दै गत हप्ता मात्रै यस अस्पतालले राजधानीमा स्वास्थ्य खबर पत्रिकाबाट उत्कृष्ट अस्पतालको अवार्ड पाएको थियो ।

अस्पतालमा रहेको ५० शैया अपुग भएपछि सुत्केरी र नवजात शिशुको भूइँमै उपचार हुने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जनाए । अस्पतालको भौतिक पूर्वाधारको विकासमा ध्यान नदिँदा चिकित्सक र उपचार उपकरण उत्कृष्ट भए पनि सेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् ।

सुत्केरीहरु गर्मीको समयमा नवजात शिशु लिएर अस्पताल भवन बाहिर रात बिताइरहेका छन् । भूइँमा पनि खचाखच गरेर सुतिरहेका देखिन्छन् । अवोध नवजात शिशुहरु जन्मने बित्तिकै भूइँमा सुत्न बाध्य छन् । सुगम र पर्याप्त उपचार सेवा भनिएको जिल्लामै यस्तो उपचार सेवाले भने सुत्केरीहरु नै अचम्ममा परेका छन् ।

‘यहाँको उपचार गराउने तरिका ठीक छ, तर भूइँमा बसेर उपचार सेवा लिनुपर्दा निकै गाहंो भएको छ’, शुक्रनगरकी नम्रता महतोले भनिन् । चिसो भूइँमा राखेर गरिने उपचारले कतै बच्चा र आमालाई नै भविष्यमा जोखिमको खतरा रहने चिकित्सकहरु बताउँछन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा सुनिलमणि पोखरेलले भूइँमा राखेर उपचार गराउँदा विभिन्न रोगहरुको संक्रमण हुन सक्ने बताए ।

दिपेन्द्र अधिकारी /चितवनपोष्ट

Facebook Comments

सम्बन्धित समाचार