• होमपेज
  • समाचार
  • सुन तस्करका नाइके मिङ र्‍याडिसन होटलबाटै भए फरार

सुन तस्करका नाइके मिङ र्‍याडिसन होटलबाटै भए फरार

  • बुधबार, भदौ २१, २०७४
सुन तस्करका नाइके मिङ र्‍याडिसन होटलबाटै भए फरार

काडमाडौं,भदौं २१-

प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए ।

होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल आएका उनले आफ्नो पासपोर्ट देखाएनन् । बरु नेपाली लाइसेन्स राख्न खोजे । रिसेप्सनिस्टले लाइसेन्सले नहुने भनेपछि उनले आफ्नो पासपोर्ट अध्यागमन विभागमा छाडेको हुनाले सोमबार बिहान चेक आउट हुनेबेलासम्म ल्याउने भनी आश्वस्त गराए । हालसालै जागिर खाएकी रिसेप्सनिस्टले त्यो कुरा पत्याइन् । तर, भोलिपल्ट बिहान निस्केको उनी फर्केनन् । बरु केही घन्टामा प्रहरीको टोली आएर सोधखोज गर्न थाल्यो र सुन तस्करले आफू जोगिन होटल प्रयोग गरेको थाहा लाग्यो ।

‘यो घटना अनपेक्षित हो । तत्काल मिटिङ राखेर हामी स्टाफलाई यस्ता घटना हुन सक्नेप्रति सचेत गरायौं,’ होटलका एक कर्मचारीले भने ।महानगरीय प्रहरी महाशाखाले र्‍याडिसनमै भेटिएको चिनियाँ तस्करको नेपाली लाइसेन्सका आधारमा तत्काल अनुसन्धान अगाडि बढायो । उक्त लाइसेन्स यातायात व्यवस्था विभागबाट जारी भएको देखिए पनि त्यसका लागि चिनियाँले आफ्नो पासपोर्टको प्रतिलिपिसमेत नराखेको (वा गायव पारिएको) पत्ता लागेको छ ।

विभागको रेकर्डमा सवारी अनुमतिपत्र वाहकको उल्लिखित नामबाहेक ‘ठेगाना चीन, हुलिया आँखा चिम्सा’ भन्ने मात्र उल्लेख भएको प्रहरीको भनाइ छ । विदेशी नागरिकको पासपोर्टको प्रतिलिपिसमेत नराखी कसरी लाइसेन्स दिइयो भन्नेमा अहिलेसम्म अनुसन्धान सुरु हुन सकेको छैन ।

उच्च प्रहरी स्रोतका अनुसार मिङको एउटा मोबाइल नम्बर होटलबाट बाहिरिँदासम्म चालू नै थियो । प्रहरीको बुझाइमा उनले आफूलाई सुरक्षित राख्नका लागि कसैबाट निरन्तर जानकारी लिइराख्न एउटा मोबाइल नम्बरलाई त्यतिखेरसम्म चालु राखेका हुन् । उनले तत्काल निरन्तर सम्पर्कमा रहने आफ्नै स्वामित्वमा रहेको ठमेलस्थित काठमाडौं वान होटलका कर्मचारीलाई फेसबुक, विच्याटबाट समेत अनफ्रेन्ड गरे ।

उनी होटलबाट निस्केको केहीबरेमै आफूहरू पुग्दा अनुसन्धान टोलीलाई थकथक भएको एक जानकार स्रोतले भन्यो ।मिङले आफू होटलमा सुतेर पत्नी याङ वेन विङलाई चाहिँ कहाँ राखेका थिए भन्ने खुलेको छैन । दुवै फरारको खोजीमा प्रहरीले निरन्तर प्रयास गरेको छ । अनुसन्धानकर्ताले आशंकित नम्बरको कल रेकर्ड अध्ययनका साथै सम्भाव्य ठाउँमा निगरानी र तलासीको क्रम जारी राखेका छन् ।

यकिन तथ्य हात पार्न नसक्दा प्रहरीलाई अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको छ । साथै, ठूलो परिमाणमा सुन बरामद हुँदा जस लिने होड प्रहरीका विभिन्न निकायबीच चल्दा प्रवाहित सूचना बाझिएका छन् । सुराकदेखि बरामदसम्मको सम्पूर्ण प्रक्रियामा बाजी मारेको महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।’अनुसन्धान जारी छ । निष्कर्षमा नपुगी केही भन्न सकिन्न,’ महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले भने ।

धेरै चलाख तस्कर

करिब ११ वर्षदेखि सपरिवार नेपाल बस्दै आएका तस्कर मिङले आफ्ना महत्वपूर्ण व्यक्तिगत जानकारी हमेसी नखुल्ने गरी गतिविधि गर्दै आएको पुष्टि भएको छ । लाइसेन्समा समेत उनले नाम फरक पारेको देखिएको छ । लाइसेन्स जारी गर्दा सहजै रकमको चलखेल हुने यातायात व्यवस्था विभागमा यस्तो लापर्वाही सम्भव हुनुमा अनुसन्धानकर्ता अचम्म मान्दैनन् ।

आइतबार साँझ साढे ८ बजे क्षेत्रपाटीमा सुन लोड गरिएको जिप राखेर मिङ एकैचोटि राति साढे ११ बजे पत्नी याङ वेन विङका साथ ठमेलको काठमाडौं वान होटल आएका थिए । उनी त्यही बीचमा र्‍याडिसनमा ‘चेक इन’ गरेका हुन् । उनकी पत्नी विङ काठमाडोै वान होटलबाट साढे नौ बजे बाहिरिएकी थिइन् । चिनियाँ दम्पतीले ३ वर्षदेखि उक्त होटल आफ्नै स्वामित्वमा सञ्चालन गर्दै आएको थियो । उनीहरूले क्षेत्रपाटीमा नयाँ होटल सञ्चालनको तरखर गर्दै थिए । जहाँ मिङले सुन लोड गरिएको जिप छाडेका थिए ।

काठमाडौं वान होटलमा प्रायस् विङ बस्थिन् । जहाँ उनले ४ नेपाली कर्मचारीलाई अह्रनखटन गरेर व्यवस्थापन सम्हाल्थिन् । मिङचाहिँ आउने जाने गर्थे । ‘हामीलाई साहु साहुनीको यस्तो चर्तिकला होला भनेर अनुमानै थिएन । साहुनी त तरकारीमा ५ रुपैयाँ बढी पर्दा पनि दिनभर कराउँथिन्’, एक कर्मचारीले भने ।

एकदमै सामान्य किसिमको ११ कोठे होटलमा चिनियाँ पर्यटकका लागि सस्तोमा सुत्ने व्यवस्था थियो । यो होटलअघि उनीहरूले केही वर्ष ठमेलको नरसिंह चोकमै केरलिन रेस्टुरेन्ट चलाएका थिए ।

महाशाखाका अधिकृत केही दिनमै सुन तस्करी र्‍याकेटको केही तह पर्दाफास हुनसक्ने बताउँछन् । तर, सुन तस्करीको उपल्लो ‘लेयर’मा बस्नेले अनुसन्धानलाई प्रभावित तुल्याउन प्रयास गर्नसक्ने उनीहरूको आशंका छ ।

राजधानीमा ८ महिनाको अवधिमा झन्डै १ सय ३६ किलो तस्करीको सुन बरामद भएको छ । सुन तस्करीमा प्रायस् भरिया मात्र समातिने र उपल्लो तहका कारोबारीचाहिँ जोगिइरहने अवस्था देखिन्छ । अन्नपूर्णपोष्ट बाट

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि