• होमपेज
  • समाचार
  • अझै कम्तीमा पाँच गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा

अझै कम्तीमा पाँच गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा

  • शुक्रबार, भदौ १६, २०७४
अझै कम्तीमा पाँच गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा

नारायण अधिकारी

चितवन,भदौ १६ –

नेपालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन् । रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज ल्याउने क्रममा सँगै आउनुभएका अमितकुमारले कम्तीमा पाँचवटा गैँडा विभिन्न क्षेत्रमा देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रबाट करिब ७० किमी पर उत्तर प्रदेशको पिप्रासीमा एउटा, वाल्मीकि नगर क्षेत्रमा दुईवटा, सीमाबाट ४० किमी पर मदनपुरमा अर्को एउटा गैँडा भेटिएको छ । यसबाहेक नेपालको नर्सहीबाट गण्डक नहर पार गरेर दुईवटा गैँडा भारततर्फ पुगेका छन् भने अन्य स्थानमा पनि गैँडा भएको हुनसक्ने उहाँले बताउनुभयो । ती दुई गैँडा भने सीमा वारपार गरिरहेका छन् । तीबाहेक नै कम्तीमा पाँच गैँडा भारतमा रहेको अनुमान गरिएको छ ।

ती गैँडालाई २०० सुरक्षाकर्मी र कर्मचारीले सुरक्षा दिइरहेका छन् । उहाँका अनुसार २० वटा गाडी, दुईजना डिपुटी डाइरेक्टर र पाँचजना रेञ्जर गैँडाको सुरक्षामा खटिएका छन् । उहाँले भन्नुभयो, “संरक्षणको क्षेत्रमा इतिहासमा पहिलोपटक नेपाल र भारतको संयुक्त प्रयासमा यो काम भइरहेको छ ।”

गैँडा नियन्त्रणमा लिन अरु १५० जना भारतीय कर्मचारी र सुरक्षाकर्मी दिनहुँ खट्ने गरेको पनि उहाँले बताउनुभयो । रिजर्भका अन्य क्षेत्रमा पनि गैँडा रहेको आशंकामा खोजी कार्यलाई तीव्रता दिइएको छ । एक दिन भारततर्फ देखिने र अर्को दिन नेपालतर्फ आइपुग्ने हुँदा यकिन कति गैँडा भारतमा छन् भन्न नसकिएको पनि अमित कुमारले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बिहीबार एउटा पूर्ण वयस्क पोथी गैँडा निकुञ्जमा ल्याइएको छ । वाल्मीकि टाइगर रिजर्भमा डार्ट गरेर उक्त गैँडा ल्याइएको हो ।

यो गैँडासहित भारतबाट उद्धार गरी ल्याइएका गैँडाको संख्या सात पुगेको छ । नेपाल–भारतको सिमानाभन्दा १५ किमी टाढा भारतको भेडीपारिमा पुगेको गैँडाको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

गैँडाको उद्धारका लागि तीनवटा हात्तीसहित ३० जना नेपाली प्राविधिक टोली परिचालन गरिएको छ । वाल्मीकि टाइगर रिजर्भ नेपाली सीमा क्षेत्रको भारतको आरक्ष हो जहाँ दुर्लभ वन्यजन्तु गैँडा भने पाइँदैनन् । वनको संरचनाको हिसाबले त्यो ठाउँ गैँडाका लागि उपयुक्त मानिँदैन ।

बाढीपछिको १५ दिनमा चितवन राष्ट्रिय निकुञ्जबाट बगाएका १० वटा गैँडाको उद्धार गरिएको छ । जसमध्ये सात भारतबाट र तीन नेपालका त्रिवेणी क्षेत्रबाट उद्धार गरिएको हो । बाढीकै कारण दुईवटा गैँडा मृतावस्थामा भेटिएका थिए ।

चितवन निकुञ्जको आसपास हुँदै बग्ने राप्ती, रियु र नारायणी नदीले गैँडालाई बगाएको थियो ।

उद्धार गरिएका गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट छाडिएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)