निर्भीकजङ्ग रायमाझी । गुरु ब्रह्मा, गुरु विष्णु, गुरु महेश्वर । यसै श्लोकबाट पनि के पुष्टि हुन्छ भने प्राचीन हिन्दु परम्पराबाट नै शिक्षा आर्जन गर्ने र गराउने दुवै प्रक्रियालाई अत्यन्त सम्मानित स्थानमा राखिएको छ । विद्याप्राप्त गरेको व्यक्तिको कदर स्वजनहरूको माझमा मात्र हैन, स्वदेशमा मात्र होइन, परदेश र परजनहरूको माझमा पनि सदैव सम्मानयोग्य हुन्छ ।
विद्याको आधुनिक रूप शिक्षा भएता पनि वा यसलाई सिक्ने–सिकाउने प्रक्रियाको रूपमा लिए पनि यसको मूल सार एउटै हो । शिक्षाले मानिसको अन्तर्निहित ज्ञानलाई प्रस्फुटन गरी व्यवहारतः पालन गर्ने प्रक्रियालाई नै बुझाउँछ । भलै विद्वानहरूको शिक्षासम्बन्धी आ–आफ्नै धारणा होलान् । तर, मूल रूपमा शिक्षाको सार एउटै हुन्छ । शिक्षाको अभिप्राय संसारको जुनसुकै स्थानमा पनि एउटै हुन्छ ।
परापूर्वकालमा नेपालको मिथिला (आजको जनकपुर आसपास) संस्कृत शिक्षाको ठूलो केन्द्र थियो । प्राचीनकालको नेपालमा आजको कपिलवस्तु आसपासको एक राज्य एउटा शैक्षिक केन्द्रको रूपमा उदाएको थियो । प्राचीन नेपालको किराँतकालबाट गुरुकुल पद्धतिको संस्कृति र बौद्ध गरी दुई छुट्टाछुट्टै प्रकारको शिक्षाको सुरुवात भयो ।
लिच्छवी र मल्लकालमा पढेलेखेका मानिसलाई दरबारमै लगेर राजघरानका सन्तानका लागि शिक्षादिक्षा दिइन्थ्यो । शाह वंशीय शासनकालको पालामा संस्कृत भाषामा खासगरी कर्मकाण्ड हिन्दु संस्कृति पढाउनको लागि ठाउँ ठाउँमा स्वतःस्फुर्त भाषा पाठशालाहरू खोलिएका थिए तर, गुरुसँगसँंगै ठाउँ सर्ने ती पाठशालाहरू अहिलेको जस्तो नभएर गुरुकुलीन र आवधिक किसिमका हुन्थे ।
नेपालमा प्राचीन अर्थको पहिलो औपचारिक शिक्षालयको रूपमा वि.सं. १९१० मा श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाद्वारा दरबार स्कुल खोलिएको थियो । यो विद्यालयमा ३२ वर्षपछि मात्र शाह र राणा कूलभन्दा बाहिरका विद्यार्थीहरूलाई पढ्ने अनुमति दिइयो भने ३८ वर्षसम्म विभिन्न दरबारभित्रै यो संचालित भइरह्यो ।
यो आम जनताको लागि भनेर खोलिएको स्कुल थिएन । वि.सं. १९९० सालमा नेपालको एसएलसी बोर्ड स्थापना हुँदा देशभरि जम्मा दुईवटा मात्र माध्यमिक विद्यालयहरू थिए । राणाशासन कालको एकसय वर्षपछि २००४ सालमा मात्रै संवैधानिक कानुनमार्फत् नेपालमा विद्यालय खोल्न पाइने नियम आएपछि मात्र विद्यालयहरू खुल्न थाले ।
वि.सं २०२८ सालमा शिक्षा ऐन बनेपछि नेपालको शैक्षिक क्षेत्रले केही नवीनता प्राप्त गरेको भएता पनि हाम्रा शिक्षा योजनाहरू विदेशी मोडलका नै छन् । हालसम्म २०२८ को शिक्षा ऐन सहित ०३९, ०४९, २०५५, र ०५८ गरी पाँच वटा उच्चस्तरीय शैक्षिक समितिहरूले प्रतिवेदन प्रस्तुत गरे पनि सरकारले ०२८ को शिक्षा ऐनलाई नै संशोधन गर्दै आजसम्मको शिक्षा व्यवस्थालाई धानिरहेको छ । भर्खरै शिक्षा ऐन २०७३ संसोधन भएर आए पनि त्यसले संघीय व्यवस्थालाई उचित सम्बोधन गर्न सकेको छैन ।
शिक्षामा दिनप्रतिदिन षड्यन्त्र थपिँदैछ । किनभने मानिसले आजको समयमा शिक्षा र स्वास्थ्यको लागि जति पनि रकम खर्च गर्न उद्यत रहन्छ । फेरि स्वास्थ समस्या हल गर्न पनि त शिक्षाकै आवश्यकता पर्छ । निजी बोर्डिङ खोल्नेदेखि ट्युसन सेन्टर खोल्ने र प्रवेश परीक्षा तयारी सेन्टर खोल्नेको यहाँ दबदबा रहेको छ ।
मानौँ कि उनीहरू नै विश्वविद्यालय हुन् । उनीहरूको सहाराबिना मानिसले शिक्षा नै आर्जन गर्न सक्दैन । फेरि विश्वविद्यालयले यति छिटोछिटो नियमहरू फेर्छ कि पढिरहेका विद्यार्थीलाई नै आफूले के पढिरहेको भान नहुन सक्छ । पाठ्यक्रम बीस वर्षमा पनि फेर्दैन विश्वविद्यालय तर अनेक नियम प्रकिया र प्रणाली भने वर्षैपिच्छे फेर्छ । बजार कता जाँदैछ, उद्योग कलकारखानाको माग के छ ? विश्वविद्यालयलाई केही हेक्का हुँदैन । विश्वबजारमा कस्ता जनशक्तिको खाँचो परिरहेको छ त्यसको कुनै तथ्याङ्क छैन विश्वविद्यालयसँग ।
नैतिक शिक्षाको खडेरी
सही अर्थमा शिक्षा दुई भागमा विभाजित हुन्छन् । पहिलो भागमा मानिसले भाषाको ज्ञान, प्राप्त जानकारी र त्यसलाई जीवनमा प्रयोग गर्ने विधि सिक्छ भने दोस्रो भागमा त्यस ज्ञानलाई प्रयोगको क्रममा के उचित र के अनुचित हुन्छ भन्ने बोधका साथै हाम्रो विचारलाई पनि उच्चकोटिको बनाउने प्रेरणा प्रदान गर्छ ।
आधुनिक शिक्षाले पहिलो भागलाई मात्र अपनाएको छ र दोस्रो भागको ठाउँमा केही नैतिक कुराहरूलाई मात्र पस्केको छ । तर यी सबैको प्रयोग कसरी गर्ने भन्ने प्रयोग गराएको देखिँदैन । अर्थात् त्यो अर्ती केका लागि भन्ने कुरा हामीलाई थाहा नै हुँदैन ।
आजको शिक्षामा देखिएको प्रमुख समस्या भनेको पनि नैतिकताको खडेरी नै हो । नैतिकता विवेकसँग जोडिने कुरा हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– के हो ठूलो जगतमा ? पसिना विवेक । अर्थात् परिश्रम गरी आर्जन गरेको भोजन होस् वा ज्ञान वा कुनै वस्तु, त्यसको उपयोग विवेकी भएर मात्र प्रयोग गर्न सक्नुपर्दछ । अन्यथा त्यसले संकट उत्पन्न गर्दछ । विवेकले नै मानिसलाई सही दिशानिर्देश गर्ने भएकाले यसको संकटमा नैतिकता स्वतः कमजोर भइदिन्छ ।
मानिसले आफ्नो कर्तव्यको पहिचान गर्न पनि विवेकको नै सहारा लिनुपर्छ । किनभने संसारको पनि सीमा छ, कालको पनि आयु छ । यसैबीचमा मानिसले गर्नुपर्ने कर्महरूको सूची पनि छ । यसर्थ आधुनिक शिक्षाले फगत् अक्षरज्ञान मात्र पस्केर कुनै उपयोगिता हुने छैन । प्राविधिका ज्ञान मात्रले हाम्रो अस्तित्वको रक्षा गर्न सक्दैन । ज्ञानको सम्यक चेतनाको भेउ जबसम्म हामीमा हुँदैन तबसम्म हामीलाई आफ्नो अस्तित्वको पनि ख्याल हुँदैन ।
राजनीति र शिक्षा
राजनीति आफैंमा गहिरो शब्द हो । यसको अर्थ व्यापकतासँग जोडिन्छ । नीतिहरू मध्येको श्रेष्ठतम् नीति राजनीति हो । राजनीति विधिसँग जोडिएको छ । यो देशको शासन प्रणाालीसँग गाँसिएको छ । त्यसैले त राजनीति दर्शनबाट निर्देशित छ । राजनीतिसँंग आस्था र विचारसँगै दृष्टिकोण जोडिएको हुन्छ ।
अर्कोतर्फ राजनीतिबाट दर्शन, विचार आस्था वा दृष्टिकोणलाई अलग गर्ने हो भने त्यो राजनीति हुनै सक्दैन । त्यसैले सिंगो राष्ट्रलाई अग्रगति प्रदान गर्ने मुलुक हाँक्ने भनेको राजनीतिले हो । कुनै पनि राष्ट्रको मस्तिष्क नै राजनीति हो । मस्तिष्क कमजोर हुनु भनेको व्यक्ति पालगपन तर्फ उन्मुख हुनु हो । राजनीति कमजोर भएमा, स्पष्ट चीत्र नभएको अपांग अवस्थामा रहेको अपूर्ण सोच, चिन्तन वा विचार नै गलत राजनीति हो । भ्रम हो जसले राष्ट्रलाई अधोगति तर्फ धकेलिदिन्छ ।
राजनीति र राजनीतिक प्रक्रियाबाट शिक्षालाई अलग गर्न सकिन्न । शिक्षा राजनीतिको अनेकौं विषयमध्ये एक विषय हो । तसर्थ राजनीतिभित्र शिक्षा अटाएको छ । हामीले बुझ्ने यसरी हो । शिक्षामा राजनीति अटाउन खोज्यौं भने घ्याम्पोको पानी लोटामा अटाउन खोजेजस्तो हुन्छ । जुन छताछुल्ला भई पोखिन्छ ।
हाम्रो सन्दर्भमा यसो भएको हुनसक्छ । हामीले राजनीतिको मर्म बुझेनौं वा बुझेर पनि हेप्न लाग्यौं । लोटाबाट खन्याउनु पर्नेमा घ्याम्पोबाट लोटामा सार्न खोज्दाको परिणाम हामी भोगिरहेका छौँ । यसैले शिक्षा राजनीतिको अभिन्न विषय बन्नुपर्छ । समयानुकुल र राष्ट्र तथा जनताको आवश्यकता अनि माग बमोजिमको शिक्षालाई राजनीतिले बोक्नुपर्छ ।
तर महत्त्वपूर्ण कुरा के हो भने शिक्षा क्षेत्रभित्र त्यसको रूप नै फेरबदल हुने गरी विद्यार्थी एवं शिक्षकहरूमाथि नै राजनीति हुनु अत्यन्त खराब कुरा हो । शैक्षिक संस्थामा राजनीति व्यक्तिगत हित र पदपूर्तिको लागि हुनु दुर्भाग्य हो ।
यसर्थ नेपालको वर्तमान शिक्षा प्रणालीलाई मध्यनजर गर्दा यो ठूलो चक्रव्यूहमा परेको भान हुन्छ । आर्थिक उपार्जनका लागि जस्तोसुकै हद पार गर्न पटि नपर्ने प्रवृत्तिले गर्दा शिक्षा क्षेत्र नै केही व्यक्ति र समूहको बन्धनमा परेको निश्चित छ । यसबाट मुक्त हुन सानो संघर्ष र चेतनाले सम्भव छैन । राजतिलक साप्ताहिक