• होमपेज
  • अन्तरवार्ता
  • कर्जा दुरुपयोग तत्कालीन एपेक्स बैंकबाट भएको हो

कर्जा दुरुपयोग तत्कालीन एपेक्स बैंकबाट भएको हो

  • शुक्रबार, चैत्र ९, २०७४
कर्जा दुरुपयोग तत्कालीन एपेक्स बैंकबाट भएको हो

नेपालको बैंकिङ इतिहासमै यति ठूलो र गम्भीर प्रकृतिको कर्जा घोटाला काण्ड एनसीसी बैंकको नामबाट बाहिर आएको छ । कुरा फरक छ तर एनसीसी बैंक मुछिएको छ । एनसीसी बैंकका सञ्चालक विष्णुप्रसाद धिताल पक्राउ परेका छन् । हेर्दा र समाचारहरू सुन्दा घोटाला एनसीसी बैंकमै भएको हो जस्तै देखिन्छ तर, यो सत्य होइन । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकसँग मर्जर हुनुभन्दा अगाडि दिएका नक्कली लोन काण्ड अहिले सार्वजनिक भएको हो । करिब २ अर्बभन्दा बढी नक्कली ऋणको राष्ट्र बैंकले निरीक्षण गरी बदमासी भएको पुष्टि भएपछि सीआइबीलाई अनुसन्धान गर्न जिम्मा दिएको थियो

। सीआइबीले अनुसन्धानपछि तत्कालीन एपेक्स बैंकका सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद धिताल लगायत १३ जना कर्मचारी पक्राउ गर्यो भने संलग्न करिब ४० जनाको खोजी भइरहेको बताएको छ । नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिट रातारात लुट्ने यी र यस्ता पात्रहरूका कारण एनसीसी बैंकका ग्राहक, शेयरधनी, डिपोजिटकर्ता त्रसित भएको अवस्था देखिन्छ । के हो त खास यथार्थ ? यसबारे राजतिलक साप्ताहिकका सम्पादक भूपेन्द्र आचार्यले एनसीसी बैंकका डिपुटी सीइओ बन्दना पाठकसँग गरेको कुराकानीको केही अंशः

डिपुटी सीइओ सापको बैंकमा त इतिहासमै नभएको नक्कली लोनको ठगी काण्ड बाहिर आयो नि त ?
यो एनसीसी बैंकमा भएको काण्ड तपाईंले भनेजस्तो होइन । यो हामीसँग मर्जर हुनुभन्दा पहिला तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको कर्जा दुरुपयोग हो । यस घटनामा हामी एनसीसी बैंकलाई मुछेर समाचार बनाइयो । तर यो गलत थियो ।

तपाईंको बैंककै सञ्चालक विष्णुप्रसाद धिताल पक्राउ पर्नुभएको समाचार बाहिर आएको छ नि ?
उहाँ पहिले एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष हुनहुन्थ्यो । पछि हामीसँग अरू चारवटा विकास बैंक मर्जर भएपछि उहाँ सञ्चालक हुनुभयो तर, यो घटना एनसीसी बैंकको होइन ।

तपाईंको बैंकका कर्मचारी र सञ्चालक नै पक्राउ परेपछि हामीले कसरी तपाईंको कुरा मान्ने ?
जति पक्राउ परे सबै तत्कालीन एपेक्स बैंककै जनशक्ति हो । हामीले मर्जरपछि उहाँहरूलाई एनसीसी बैंकमा भित्र्याएका थियौं ।

मर्जरअघि यति ठूलो घोटाला भएको कर्जा काण्डबारे छलफल भएन त ?
हामीले मर्जर गरेपछि कर्जा प्रवाह सीमाभन्दा बढी गर्न नपाउने कुरा थियो । तर पटकपटक गरी मर्जर समितिसँग सहमती नलिई कर्जा प्रवाह भएको भेटियो । मर्जरपछि हामीले अनुसन्धान गर्यौं र राष्ट्र बैंकलाई पत्राचार ग¥यौं । राष्ट्र बैंकबाट स्थलगत निरीक्षण भयो । खराब नियतबाट दिइएको प्रष्ट भयो र उहाँहरू पक्राउ पर्नुभयो ।

एपेक्स विकास बैंकबाट गएको यो कर्जाको प्रोभिजन गर्नुभयो त ?
हामीले गत वर्ष २०७३ मा यो कर्जाको प्रेभिजन गरेका छौं । एनसीसी बैंकको वित्तीय अवस्था राम्रो छ । ग्राहक, शेयरधनी, डिपोजिटकर्ता आत्तिनु पर्दैन । ढुक्क भएर कारोबार गरे हुन्छ । हाम्रो एनसीसी बैंककै आग्रहमा राष्ट्र बैंकले स्थलगत निरीक्षण गरी सीआइबीलाई अनुसन्धान गर्न दिएको हो ।

अब यो पैसा उठ्ने सम्भावना छ त ?
उठ्ने सम्भावना अब चाहिँ बढेको छ । यो कर्जा उठेपछि नाफा बढ्ने हो । कर्जा प्रोभिजन भएको छ । म तपाईंमार्फत् प्रष्ट पार्न चाहन्छु कि यो घटनाले एनसीसी बैंक झनै बलियो भएको छ । कर्जा उठ्ने सम्भावना बढेको छ । यो कुरा त राष्ट्र बैंकका अधिकारीको भनाइबाटै स्पष्ट छ नि । होइन र ’

यो दुई अर्ब कर्जा काण्डपछि बैंकको डिपोजिट घटेको र भएको पनि निकालिएको कुरा बाहिर आएको छ नि ?
यो कति पनि सत्य होइन । हामीले विज्ञाप्ती नै जारी गरेर हाम्रा कुरा राखेका छौं । बजारमा हल्ला के छ मलाई थाहा छैन । तर अब बैंक अझै बलियो र सक्षम बन्ने छ भन्ने विश्वास सबैको छ । ग्राहक तथा डिपोजिटकर्ता आत्तिनुपर्ने कारण नै छैन ।

फेरि पनि तपाईंको एनसीसी बैंकलाई राष्ट्र बैंकले हस्ताक्षेप गर्ने हो कि कसो ?
कर्जा प्रवाह गरेका छौं । यो एनसीसी बैंकबाट गएको कर्जा होइन । मर्जर अगाडि एपेक्स विकास बैंकबाट गएको कर्जा हो । एनसीसी बैंक बलियो र मजबुद् बनेको छ । तपाईंले भनेजस्तो छैन । स्वच्छ र प्रगतिपथमा अघि बढेको छ एनसीसी बैंक । अहिले जो जो पक्राउ पर्नुभयो, सबै एपेक्स विकास बैंककै सञ्चालक र कर्मचारी हुन् । सीआइबीको अनुसन्धानले यो कर्जा उठाउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौं ।

समग्रमा भन्दा त एनसीसी बैंककै बदनाम भयो नि होइन र ?
एपेक्स विकास बैंक हामीसँग मर्जर भएको सत्य हो । तर एनसीसी बैंकबाट कर्जा प्रवाह भएको होइन । हामीले बेहुली भित्र्याएका थियौं । तर उसको बदमासी पछि पत्ता लागेको मात्रै हो ।

मर्जरमा हस्ताक्षर गर्दा गर्दा यस्तो थिएन तर, भित्र्याउनु अगाडि बदमासी भएको फेला प¥यो । मर्जर कमिटीको सहमति विपरीत सीमा बाहिर गएर कर्जा प्रवाह भएको देखियो । सो कर्जा अस्वभाविक र शंकास्पद देखिएको थियो र नै हामीले राष्ट्र बैंकलाई निरीक्षण गर्न भनेका थियौं ।

अन्त्यमा के छ डिपुटी सीइओ साप ?
सम्पूर्ण ग्राहक, शेयरधनी, लगानीकर्ता, प्रमोटर सबैमा आग्रह गर्दछु– यस घटनाबाट एनसीसी बैंकलाई कुनै असर गर्दैन, फाइदा हुनेछ । कर्जा उठ्ने सम्भावना बढेको छ । यो कर्जा एपेक्स विकास बैंकबाट दुरुपयोग भएको हो । तपाईं सबै स्टेकहोल्डर आत्तिनुपर्ने कुनै कारण नै छैन । एनसीसी बैंक कर्पोरेट प्रशासन भएको, पूँजी पर्याप्त भएको, नाफा कमाएको ‘क’ वर्गको वाणिज्य बैंक हो ।

हामीले मर्जर गर्दा ४ वटा विकास बैंकलाई भित्र्याएका थियौं । एउटा विकास बैंकमा यस्तो कर्जा दुरुपयोग भएको देखियो । र हामीले नै राष्ट्र बैंकलाई आग्रह गरेर छानबिन गर्न भनेका हौं । अहिले छानबिन सीआइबीले गर्यो ।
यसले एनसीसी बैंकलाई घाटा छैन भन्न चाहन्छु । बैंकमा रहने जनताको पैसा हो । यसको सुरक्षा गर्नु र प्रतिफल दिनु हामी बैंकरको पहिलो कर्तव्य नै हो । त्यस कारण आत्तिनुपर्ने कुनै कारण नै छैन । राजतिलक साप्ताहिकबाट

Facebook Comments

सम्बन्धित समाचार