• होमपेज
  • समाचार
  • न्युयोर्क आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ – राष्ट्रपति ट्रम्प

न्युयोर्क आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ – राष्ट्रपति ट्रम्प

  • शुक्रबार, कार्तिक १७, २०७४
न्युयोर्क आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ – राष्ट्रपति ट्रम्प

काठमाडौँ,कार्तिक १७ –

अमेरिकाको म्यानहटनमा गएको मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको छ ।
प्राप्त जानकारीअनुसार आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी बिहीबार अमेरिकामा सार्वजनिक गरिएको समाचारमा आइएसले न्युयोर्कमा हमला गर्ने व्यक्ति आफ्नो सैनिक भएको दाबी गरेका छ ।

उनीहरुको प्रकाशन अल–नबा नामक साप्ताहिक पत्रिकामा आक्रमणबारे जानकारी छापिएको थियो । उक्त साप्ताहिकको पछिल्लो संस्करणमा भनिएको छ, ‘हाम्रा एकजना वीर सैनिकले गएको मङ्गलबार अमेरिकाको म्यानहटनमा आक्रमण गरी केहीलाई कारबाही पनि गरेका छन् ।’
संयुक्त राज्य अमेरिकाको स्थानीय समयअनुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको एक सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थियो । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका थिए ।
न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्यको संज्ञा दिएको छ । न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा नागरिकले ज्यान गुमाएको यो पहिलो पटक हो ।

न्यूयोर्कको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको थियो । आतङ्ककारी हमलापछिको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाउनुभएको थियो । उहाँले बुधबार गर्नुभएको अर्को ट्वीटमा न्यूयोर्कको सो आतङ्ककारीलाई मृत्युदण्डको सजाय दिइनुपर्ने पनि बताउनुभएको छ । उहाँको यस ट्वीटपछि मानवअधिकारवादीहरुको भने कुनै प्रतिक्रिया आएको छैन ।
त्यस्तै उहाँले बुधबार नै सो हमलामा संलग्न व्यक्ति डिभी चिट्ठा प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले डिभी प्रणाली पनि खारेज गर्नुपर्ने बताउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार