डोल्पा, कार्तिक २–
दुर्गम डोल्पाको जुफाल विमानस्थलमा उडान भर्दै आएको समिट एअरले सहुलियत उडान नभरेपछि सर्वसाधारण मर्कामा परेका छन् ।
नेपालगञ्ज–डोल्पा, डोल्पा–नेपालगञ्ज उडान भर्दै आएका तारा, समिट र मकालु एअरले नेपालगञ्जदेखि डोल्पासम्म दुईतर्फी भाडा लिँदै आएकाले नेपालगञ्जदेखि डोल्पा जाने सर्वसाधारण मारमा परेका हुन् ।
तारा, समिट, मकालु एअरलाइन्सले नेपालगञ्जदेखि डोल्पासम्म प्रतियात्रु रु नौ हजारमा उडाउँदै आएका छन् । तर डोल्पा–नेपालगञ्जको भाडा रु तीन हजार ६०० लिने गरेका छन् ।
दुर्गमका जिल्लामा जहाजलाई रित्तै उडाउँदा घाटा लाग्ने भएकाले दुईतर्फी भाडा लिएर मात्र यात्रु चढाउने गरेका छन् । तर ती एअरलाइन्सले महँगो भाडाको मार कम गर्न हप्तामा एक दिन सहुलियत उडान भर्दै आएका जनाएका छन् ।
समिट एअरले दशैँ लगत्तै डोल्पामा हप्तामा एक दिन सहुलियत उडान भर्दै आएको जनाएपनि तिहारका लागि भने त्यसो नगरेको ठूलीभेरी नगरपालिकाका स्थानीयवासी जीवन शाहीले बताउनुभयो ।
समिट एअरलाइन्सको नेपालगञ्जस्थित स्टेसन प्रमुख दीपक शाह डोल्पामा पनि चाँडै सहुलियत उडान भर्ने तयारी भइरहेको बताउनुहुन्छ । सो एअरलाइन्सले तीन–तीन महिनामा कार्यतालिका बनाउने गरेको छ । “अबको कार्यतालिकामा हामी डोल्पाका लागि पनि सहुलियत उडान राख्छौँ,” उहाँले भन्नुभयो ।
समिट एअरले जुम्ला, हुम्ला, मुगु लगायतका पश्चिमका जिल्लामा सहुलियत उडान भर्दै आएको छ । नेपालगञ्जदेखि तारा एअरले पश्चिमका जिल्लामा हप्तामा एक दिन सहुलियत उडान भर्दै आएको छ । जुफाल विमानस्थल स्तरोन्नति कार्यको नब्बे प्रतिशत काम सम्पन्न भएपछि गत भदौ २३ गते परीक्षण उडानका रुपमा समिट एअरले डोल्पा उडान भरेको थियो ।