काठमाडौं, भदौं २६–
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो ।
आयोजकका अनुसार कुल ९५ हजार ७२६ भोट आएको थियो । एक भोट बराबर चार फेसबुक लाइक मानिएको थियो । मनोनयनमा परेका पाँच खेलाडी मध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले अवार्ड जितिन् । यही विधामा फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे ।
किरण लिम्बु उत्कृष्ट पुरूष खेलाडी घोषित
फुटबलर किरणकुमार लिम्बु वर्षका उत्कृष्ट पुरुष खेलाडी भएकी छन् ।
पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत उत्कृष्ट खेलाडीको अवार्ड राष्ट्रिय टोलीका गोलरक्षक किरणले जितेकी हुन् । किरण विदेशमा रहेकाले आमालाई अवार्ड प्रदान गरिएको छ । यो अवार्डका लागि उनीसँगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषावकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए ।
नङसल तामाङ उत्कृष्ट महिला खेलाडी घोषित
व्याडमिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।
पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत उत्कृष्ट महिला खेलाडीको अवार्ड नङसलले जितेकी हुन् । यो अवार्डका लागि उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेका थिए ।
तस्विरः विनोदबाबु रिजालको फेसबुकबाट