• होमपेज
  • समाचार
  • काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुन सक्दैनः लेखक

काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुन सक्दैनः लेखक

  • आइतवार, भदौ २५, २०७४
काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुन सक्दैनः लेखक

चन्द्रपुर (रौतहट), भदौ २५–

नेपाली काँग्रेसका नेता तथा स्थानीय तह निर्वाचन२०७४ पार्टी प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले मधेशी जनतालाई पटक–पटक अपमान गर्ने राजनीतिक शक्तिलाई मधेशी जनताले सवक सिकाउनु पर्ने बताउनु भएको छ।

नेपाल प्रेस युनियनले रौतहटको चन्द्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले मधेशी जनतालाई शंकाको दृष्टिले मात्र हेर्ने र चुनावको बेला उपयोग मात्र गर्ने पार्टीलाई मधेशी जनताले सवक सिकाउनु पर्ने बताउनु भएको हो।

तराई मधेशवासी विरोधी संकीर्ण पार्टीको रुपमा एमाले आएको उल्लेख गर्दै लेखकले संविधान संसोधन हुन नदिने एमालेको कदम तराई मधेश माथिको अपमानको रुपमा परिभाषित गर्नु भयो। लेखकले भन्नुभयो, “तराई मधेशको मात्र नभइ देशका अन्य भूगोल, समुदायले चाहेको विषयलाई समेत समेटेर हुन लागेको संविधान संसोधन हुन नदिएर एमालेले मधेशीलगायतका जनता माथि अपमान गरेको छ।”

नेता लेखकले एमालेले मधेशी भावना नबोक्ने र मधेशी दलले मधेशी मुद्दा बोक्ने प्रयास गरेपनि निश्कर्षमा पुर्‍याउन नसक्ने भएकाले मधेशका मुद्दा निश्कर्षमा पुर्‍याउन काँग्रेस बलियो हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “काँग्रेसले बाहेक मधेशको मुद्दालाई कसैले पनि निश्कर्षमा पुर्‍याउन सक्दैन। बलियो जनमत प्राप्त काँग्रेसले नै तराई मधेशलाई बलियो बनाउँछ। यहाँका मुद्धालाई स्थापित गराउँछ।”

नेता लेखकले आफ्ना मुद्दा स्थापित गराउन पनि तराई मधेशले काँग्रेसलाई जिताउने विश्वास व्यक्त गर्नुभयो।

एमाले जस्तो मधेश विरोधी पार्टी र मधेशका नाममा गठन भएपनि विभाजित र कमजोर पार्टीहरुले मधेशको हित गर्न नसक्ने उल्लेख गदैै भन्नुभयो,“मधेशका मुद्धा सम्बोधन काँग्रेसले मात्र गर्न सक्ने भएकाले तराई मधेशले काँग्रेसकै पक्षमा मत प्रदान गर्ने मेरो विश्वास छ।”

प्रदेश नम्वर २ को स्थानीय तहको निर्वाचन तराई मधेशको पक्ष र विपक्षमा रहेका शक्तिहरुबीचको जनमत संग्रह भएको नेता लेखकले बताउनुभयो। मधेशका विपक्षमा रहेकाहरु फेरि जनतालाई भ्रमछर्दै मत माग्न लागि रहेका उल्लेख गर्दै नेता लेखकले तराई मधेशले त्यस्ता प्रवृती र शक्तिलाई निरुत्साहित गर्दै पाखा लगाउनुपर्ने बताउनुभयो।

नेता लेखकले भन्नुभयो,, “काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुन सक्दैन। भ्रम छर्नेको विश्वास गर्नुहुँदैन।”
नेता लेखकले तराई मधेशबाटै हुर्किएको काँग्रेसले बाहेक तराई मधेशको समस्या अरुले बुझ्न नसक्ने र हल पनि दिन नसक्ने दावी गर्नुभयो।

तराई मधेशमा प्रत्येक वर्ष हुने बाढी र डुवानको समस्यालाई दीर्घकालिन हल खोज्न नेपाली काँग्रेस लागिरहेको बताउदै पूर्वमन्त्री लेखकले भन्नुभयो, “प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण ताका समेत नेपाल भारतको साझा समस्या रहेको डुवानको दीर्घकालिन हल खोज्ने प्रयासका लागि द्धिदेशिय कार्यदलले काम थाल्न सहमति भए अनुसार काम शुरु हुन थालेको छ ।”

तराई मधेशको ८ सय किलो मिटर हुलाकी मार्ग बनाउने कामले तिव्रता पाइरहेको र यो काँग्रेसकै सोचबाट अगाडी बढि रहेको नेता लेखकले बताउनुभयो । तेस्रो चरणको चुनावमा नेपाली काँग्रेसमा तराई मधेशकै सबैभन्दा ठूलो पार्टी हुने र यसले समग्रमा नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउने विश्वास नेता लेखकले व्यक्त गर्नुभयो । प्रदेश नम्वर २ का ८ वटै जिल्ला भ्रमणमा रहनु भएका लेखक रौतहटको पार्टी कार्यक्रममा सहभागी भएर सर्लाही जानुभएको छ।

Facebook Comments

सम्बन्धित समाचार