तिज नजिकिँदै गर्दा चाडपर्वको रौनक चुलिंदैछ, र यही माहोललाई अझै रंगीन बनाउने हेतुले नयाँ तिज गीत “हरियो हरियो चुरि हरियो” सार्वजनिक गरिएको छ। गायक तथा मोडल राज सापकोटाको स्वर र दमदार अभिनयले सजिएको यो गीत सार्वजनिक भएपछि छोटो समयमा नै टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ।
गीतमा तेजश रेग्मी, राधिका हमाल, र राज सापकोटाले स्वर दिएका छन्। यस गीतका रचनाकार तथा संगीतकार तेजश रेग्मी हुन्, जसले परम्परागत तिज शैलीमा आधुनिकता मिसाउँदै गीतलाई सङ्गीतिक रुपमा विशेष बनाएका छन्। संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी आकाश नेपालीले सम्हालेका छन्।
भिडियो निर्देशन र कोरियोग्राफी शिव बिकले गरेका छन्। उनले तिजको मौलिकता झल्किने दृश्य र भावनालाई भिडियोमा सशक्तरूपमा उतारेका छन्। सह-कोरियोग्राफर माधव श्रेष्ठको सहयोगले पनि प्रस्तुतीमा थप ऊर्जा दिएको छ।
भिडियोमा तेजश रेग्मी, सारिका केसी, राज सापकोटा, सरिता दनकुटी र गणेश रेग्मीको आकर्षक अभिनय हेर्न सकिन्छ। विशेषगरी राज सापकोटाको अभिनयले दर्शकको मन जित्न सफल देखिन्छ। भिडियोको छायांकन दीपक गिरी र सम्पादन मिन रावलले गरेका हुन्।
“हरियो हरियो चुरि हरियो” तिजको सांस्कृतिक पहिचान, नेपाली महिलाको पारम्परिक चुरा र पहिरनसँग जोडिएको गहिरो भावना बोकेको गीत हो। यसमा परम्परागत भाकालाई आधुनिक संगीत संयोजनमार्फत नयाँ स्वाद दिइएको छ। गीत “तेजश रेग्मी” युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ।