कोभिड-१९ महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्रलाई प्रभावित बनाएको पाइएको छ। पहिलो लहरबाट तंग्रिन थालेको अर्थतन्त्रमा दोस्रो लहरले गम्भीर संकटमा डोर्याएको अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। उनी आफैले चालु आर्थिक वर्षको संशोधित आर्थिक वृद्धिदर नहुने स्वीकार समेत गरिसकेका छन्।
सरकारले चालु वर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्यांक विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।
आर्थिक सर्वेक्षणमा कोभिडका कारण कुनै पनि क्षेत्र अछुतो नरहेको र उकास्न चुनौती रहेको उल्लेख छ। अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक छैनन्। कोभिड नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण आर्थिक गतिविधि संकुचित भएको छ। र, यो संकुचनले अर्थतन्त्रलाई गतिहीन बनाएको छ।
पहिलो लहरबाट ‘भी सेप’ आर्थिक वृद्धि हुने अपेक्षा राखेपनि दोस्रोबाट भने कडा झट्का लागेको अर्थमन्त्रालयको ठहर छ। कोभिडका कारण वैदेशिक व्यापारको आकारमा संकुचन आएको र वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ। उद्योग क्षेत्रका आर्थिक गतिविधिमा ठूलो संकुचन आएको सर्वेक्षणमा उल्लेख छ।
कोभिडले देशभरिका शिक्षण संस्था र तालिम केन्द्र बन्द हुँदा करीब ८७ लाख विद्यार्थीको नियमित पठनपाठन अवरुद्ध भएको सर्वेक्षणमा उल्लेख छ। निर्माणाधीन सिंचाई आयोजना कोभिड-१९ कारण प्रभावित हुँदा पाँच हजार हेक्टर जमिनको सिंचाई सुविधा एक वर्ष पर धकेलिएको छ।
आर्थिक सर्वेक्षण अनुसार सिंचाई सुविधामा भएको ढिलाइले कृषि उत्पादन र उत्पादकत्वमा प्रभाव पर्ने भएको छ।
कोभिडकै कारण ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको २०७६/७७ को बजेट मध्ये ६ अर्ब रुपैयाँ खर्च हुन नसक्दा पाँच लाख कार्यदिन रोजगारी सिर्जना गर्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ।
२०७७/७८ को फागुन सम्म पनि निर्धारित लक्ष्यभन्दा करिब ७५ हजार कार्यदिन रोजगारी सिर्जना हुन नसकेको सर्वेक्षणमा उल्लेख छ।
निर्माणाधीन आयोजनामा कार्यरत कामदारहरु संक्रमित भइ आइसोलेसनमा बस्नु परेको र लकडाउनका कारण निर्माण सामाग्री तथा ठूला इक्विपमेन्ट ढुवानीमा अवरोध भएकोले ऊर्जा मन्त्रालय अन्तर्गतका काम प्रभावित भएका हुन्।
कोभिडका कारण भएको बन्दाबन्दीले खाद्यान्न, फलफूल र तरकारी लगायतका खाद्यवस्तुको मूल्य वृद्धि भएर मूल्य श्रृङ्खला नै प्रभावित भएको छ।
कृषिसँग सम्बन्धित उत्पादन सामाग्री, मलखाद, बीउबीजन, विषादि र कृषि औजारको आपूर्तिमा असहजता भएकाले उत्पादन प्रभावित भएर मूल्य श्रृङ्खला नै प्रभावित भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। पशुपन्छी तथा मत्स्यपालनका लागि आवश्यक दाना, औषधी, खोप लगायतका सामाग्रीको आपूर्ति पनि प्रभावित भएको उल्लेख छ।
स्रोत बीउमा उत्पादनमा आधारित अनुदान उपलब्ध गराउन ढिलाइ भएको, स्थानीय तहमा खाद्यान्न घर निर्माणमा पनि ढिलाइ भएको र सहकारीबाट हुने ऋण लगानीमा पनि दुई प्रतिशतले कमी आएको सर्वेक्षणमा उल्लेख छ। कोभिडले राजस्व परिचालन समेत प्रभावित भएको छ। कोभिड पहिलो लहरमा राजस्व असुली ७ प्रतिशतले घटेको थियो।
सर्वेक्षण अनुसार असोजपछि राजस्व असुलीमा सुधार आउन थालेको थियो। कोभिडसँगै विलासिता वस्तुको उपभोगमा खर्च कटौती भएर राजस्वमा ठूलो प्रभाव पर्ने अर्थमन्त्रालयको ठहर छ। कोभिडले विकास खर्चमा ठूलो धक्का लागेको छ।
पुँजीगत खर्च ३७ प्रतिशत मात्रै भएको छ। कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६/७७मा कुल निकासी ६ दशमलब ६ प्रतिशतले घटेको छ। कोभिड संक्रमण अघि २०७५/७६मा वस्तु निकासी २५ दशमलब ३ प्रतिशतले बढेको थियो।
आर्थिक वर्ष २०७६/७७मा कुल वस्तु आयात १८ दशमलब १ प्रतिशतले संकुचन आएको छ। पुसदेखि आयात व्यापारमा सुधार आएपनि दोस्रो लहरले फेरि समस्यामा परेको छ। कोभिडका बेलामा रेमिटेन्समा मात्रै सुधार आएको छ।
कोभिड संक्रमणकै समयमा रेमिटेन्स ४ प्रतिशतले बढेको छ। २०७६ चैत र २०७७ वैशाख महिना वाहेक रेमिटेन्स घटेको छैन्। कोभिडका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ। सन् २०२०मा कुल पर्यटक संख्या २ लाख ३० हजारमा सीमित हुन पुग्दा विदेशी मुद्राबाट हुने आम्दानी ७० प्रतिशत कमी आएको छ।