• Skip this

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

Advertisement area

  • होमपेज
  • विचार/ब्लग
  • सिङ्गो परिवार मूर्ति बनाउन व्यस्त

सिङ्गो परिवार मूर्ति बनाउन व्यस्त

  • शनिबार, माघ ११, २०७६
सिङ्गो परिवार मूर्ति बनाउन व्यस्त

नानीमैया कटवाल|  ः बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोबाट बच्न चोकचोकमा भेला भएका केही मानिसहरू आगो तापेर बसेका छन् । हुस्सु र शीतसँगै चल्ने पश्चिमी चिसो हावाका कारण स्थानीय बासिन्दाको दैनिकी पनि सुस्त छ । ग्रामीण भेगबाट मजदूरी गर्न राजविराज आउनेको सङ्ख्यामा एक महीनायता कमी आएको छ ।

ठिक यसै बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपाका ६५ वर्षीय कुशेश्वर मण्डल र उनको परिवार एकाबिहानै आठ किलोमिटरको दूरी तय गर्दै राजविराज आउँछन् । सडक, चोकमा अरुहरू आगो तापिरहेका बेला कामको चटारोले उनीहरू भने चिसो पानीले माटो मुछ्दै मूर्ति बनाउन व्यस्त हुन्छन् । सरस्वती पूजा नजिकिएकाले माटाका मूर्ति बनाउन उनीहरूलाई भ्याइनभ्याई छ । विद्यालय तथा शैक्षिक संस्थाहरूमा वसन्त पञ्चमीको दिन सरस्वतीको प्रतिमा राखेर पूजा गर्ने भएकाले उनीहरू माटाका मूर्ति बनाउन बिहानै खाना पोको पारेर राजविराज बजार आइपुग्छन् । राजविराजस्थित अस्पताल अगाडि आफ्नो पूरै परिवारसहित मूर्ति बनाउन कस्सिन्छन् मण्डल परिवार । मण्डलले माग आएका ४० वटासहित ६५ वटा माटाका प्रतिमा हरू बुधबारसम्म रङ्गाइसक्नु पर्ने भएकाले उनीहरू दिन रात नभनी मूर्ति बनाइरहेका छन् ।

बिहीबार वसन्त पञ्चमी भएकाले उनीहरूलाई सबै मूर्तिहरू तयार पारेर आफ्ना ग्राहकलाई जिम्मा लगाउनु पर्नेछ । यसै बेला एकमुष्ट कमाइ हुने भएकाले उहाँको सम्पूर्ण परिवार प्रत्येक वसन्त पञ्चमी, दुर्गा पूजा, कृष्ण अष्टमी, विश्वकर्मा पूजा, लक्ष्मी पूजा, रामनवमी, विवाह पञ्चमी जस्ता पर्वका बेला मूर्तिहरू बनाउने गर्छन् । कुशेश्वरका अनुसार थोरैले अनन्त चतुर्दशी, सन्तोषी ब्रत र छठमा समेत मूर्ति बनाउन लगाउँछन् । एक याममा झण्डै एक महीना भन्दा बढी समय लगाएर बनाएको मूर्तिबाट झण्डै साढे एकदेखि दुई लाखसम्म कमाई गर्छन् मण्डल परिवार । कुशेश्वरका भाइ विशेश्वरको व्यस्तता पनि उस्तै छ । उहाँले तोपा गाउँमै माटाका मूर्ति बनाइरहनु भएको छ । विशेश्वरका छोरा इन्द्रनारायण राजविराज–२ स्थित तेतरी गाछी टोलमा मूर्ति बनाउनुहुन्छ ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा राजविराज बाहेक तोपा, विष्णुपुर, हनुमाननगर, कोइलाडी, मन्सापुर, वीरपुर, बोदे बरसाइनलगायतका ठाउँमा मूर्ति बनिरहेको छ । दुई हजारभन्दा बढी स्थानमा सरस्वतीको मूर्ति स्थापना र पूजा गरिने सप्तरीमा मात्रै झण्डै एक करोड रुपैयाँको कारोबार हुने कुशेश्वरको अनुमान छ ।

कालिगढहरूले बाँस र काठको ढाँचा तयार पारी त्यसमा पराल, खर बाँधेर माटो लिप्छन र मूर्तिको आकार दिएर सुकाउँछन् । सुकाएर तयार भएको मूर्ति रङ्गरोगन तथा साजसज्जा गरी तयार पारेर विक्री गरिन्छ । यसरी तयार भएको सरस्वतीको एउटा मूर्ति न्यूनतम एक हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको मूर्तिकारहरू बताउँछन् । बढी मात्रामा दुई हजारदेखि सात हजार मूल्य पर्ने मूर्ति बिक्री हुने गरेको छ । आगामी बिहीबार सबै शैक्षिक संस्थाका साथै टोल–टोलमा सरस्वतीको पूजा हुने भएकाले मूर्तिकारहरू बुधबारै दिने गरी मूर्ति तयार पार्न जुटेका हुन् ।

शैक्षिक संस्थाहरूका साथै टोल–टोलमा विद्यार्थी, युवाको समूहले पूजा महोत्सव गर्न थालेकाले मूर्तिको माग बढ्दै गएको कुशेश्वरका कान्छा छोरो लक्ष्मीले बताउनुभयो । कसैसँग कुरा गर्ने वा अल्मलिने फुर्सद छैन उहाँहरूलाई । माइला छोरा शिवनारायणका अनुसार आफूले नभ्याएको अवस्थामा कामदार समेत राखेर मूर्ति बनाउनु पर्ने हुन्छ । मण्डल परिवार माटाको मात्र नभई सिमेण्टको मूर्ति पनि बनाउँछन् । सिमेण्टको मूर्ति बनाउन उदयपुर, ओखलढु्ङ्गा, खोटाङ लगायत पहाडबाट माग आउने गरेको र पर्व नभएका बेलामा गएर बनाउने गरेको शिवनारायणले जानकारी दिनुभयो ।

पुस्तैनी पेशा भएकाले सानैदेखि माटोको मूर्ति बनाउँदै आएका कुशेश्वर चार महीना आराम गरेर वर्षदिन खान पुग्ने बताउनुहुन्छ । उहाँले बुबा रामप्रसादबाट मूर्ति बनाउन सिक्नुभएको छ । दश वर्षको उमेर नपुग्दै बुबाको मृत्यु भयो । अठार वर्षको हुँदा साथीहरूसँग बाजी परेर पहिलो पटक उहाँले मूर्ति बनाउनुभयो ।

उक्त मूर्ति देखेर सबै आश्चर्यमा परेपछि आफू उत्साहित भएर यही पेशा अङ्गालेको कुशेश्वर सुनाउनुहुन्छ । उहाँले भन्नुभयो – “आम्दानी र धर्म दुबै कमाइने भएकाले भगवान्को मूर्ति बनाउने पेशा अपनाएको हुँ ।” पूजा हुन केही दिन मात्र बाँकी छँदा मण्डल परिवार झै सबै मूर्तिकारहरूलाई भ्याइनभ्याई छ, अहिले । राजविराजभित्र करीब एक दर्जन ठाउँमा सरस्वतीका साढे तीन सय मूर्ति बनाउन मूर्तिकारहरू व्यस्त देखिन्छन् । दिन रात लगाएर माटोको कलात्मक मूर्ति तयार पार्न उनीहरू खटिएका छन् । कतिपय मूर्तिकार ठूलो आकारको मूर्ति बनाउन विद्यालय नै पुग्ने गरेका छन् ।

सप्तरीमा मात्र साढे एक सय मूर्तिकार रहेको कुशेश्वरको अनुमान छ । “सरस्वती पूजा हुने दिन आउनै लागेको छ, अर्डरअनुसारको मूर्ति तयार पार्ने चाप बढेको छ, त्यसैले यो जाडोमा पनि एकाबिहानैदेखि चिसो माटा पानीमा मुछेर मूर्ति लिप्नु पर्छ र आकार दिनुपर्छ,” कुशेश्वरीकी श्रीमती खगरीदेवीले भन्नुभयो । आधुनिकताको प्रभाव बढ्दै गए पनि सरस्वतीको पूजा गर्न यहाँ माटोकै मूर्तिको खोजी हुन्छ । माटोको मूर्ति बनाउनेहरू विशेष गरी कुम्हाले समुदायका हुन्छन् ।

माटोको मूर्ति, भाँडाकुँडालगायतका साम्रग्री तयार पार्ने कुम्हालेको परम्परागत पेशा मानिन्छ । मण्डल परिवार माटोको काम गर्ने कुम्हाले जातको नभई चिरौट धानुक जातिका हुन् तर पनि, चार पुस्तादेखि यसै पेशामा आबद्ध छन् । कुशेश्वरका तीनै जना छोरामा मूर्ति बनाउने कौशल छ । माइला छोरा शिवनारायण र कान्छा छोरा लक्ष्मी उहाँसँगै मूर्ति बनाउनुहुन्छ ।

मूर्तिकै आम्दानीले तोपामा एक बिघा पाँच कठ्ठा जमीन पनि परिवारले किनिसकेको छ । सबै ६ नाति, नातिनीहरू बोर्डिङ्ग स्कूलमा पढ्छन् । यो परिवारले तीन वटा पक्की घर बनाएको छ । तीन गाई र दुई भैंसी पालेको छ । धान कुट्ने मिल पनि घरमा राखेको छ । मूर्तिको कमाइले कुशेश्वरको जीवन फेरिएको छ । (रासस)

Facebook Comments

सम्बन्धित समाचार