• होमपेज
  • समाचार
  • गरीब, पिछडिएको समुदायलाई घर हस्तान्तरण

गरीब, पिछडिएको समुदायलाई घर हस्तान्तरण

  • मङ्लबार, असार ५, २०७५
गरीब, पिछडिएको समुदायलाई घर हस्तान्तरण

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका गास, बास र कपासको समस्याबाट अब नेपाली जनतामुक्त हुने बताएका छन् ।

रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाइटीको संयुक्त प्रयासमा मोरङको धनपाल गाउँपालिका–६ मा नवनिर्मित ८० वटा दुईकोठे पक्की घर उद्घाटनका अवसरमा उनले मुलुकमा तीन तहको सरकारले जनतामा रहेको विकास र समृद्धिको चाहना पूरा गरी गरिबी हटाउने बताएका छन् ।

मुख्यमन्त्री राईले घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणबाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने बताउँदै निर्माण भएको संरचनाको संरक्षणसहित सदुपयोग गर्न आग्रह गरे । उनले मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम’ का लागि प्रदेश सरकारले रु एक अर्ब रकम छुट्याएको बताउदै अब केही वर्षमा ग्रामीण क्षेत्रमा बाटोको कुनै समस्या नहुने धारणा राखेका थिए ।

अन्तर्राष्ट्रिय संघसंस्थाका नाममा सहयोग गरी धर्म परिवर्तन गर्ने कार्य रोक्न सरकार अत्यन्तै चनाखो रहेको बताउँदै उनले सामाजिक संघसंस्थाको आर्थिक पक्ष पारदर्शी हुनु पर्नेमा जोड दिए ।

पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले संसद् विकास कोषबाट प्राप्त हुने रु चार करोड स्थानीयको छलफल एवं सहमतिबाट नदी नियन्त्रण, आयआर्जन, सीपमूलक तालीम आदिमा खर्च गर्ने बताए ।

रहमा इन्टरनेशनल कुवेतका मुख्यदाता शेख वलिदले आगामी दिनमा मानवीय क्षेत्रका विकास र उत्थानमा थप सहयोग गर्ने दृढता व्यक्त गरे ।

धनपाल गाँउपालिका– ६ स्थित उक्त टोलमा गरीब, पिछडिएका मुस्लिम तथा अन्य हिन्दू समुदायका लागि रु दुई करोड २६ लाखमा ८० वटा घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो । सोही स्थानमा आठ कठ्ठामा स्वास्थ्य चौकी, विद्यालय, प्रार्थना स्थल (मस्जिद) को समेत निर्माण गरिएको छ ।

दुई कोठे पक्की घरका साथै प्रत्येक घरमा चापाकल र पक्की शौचालयको व्यवस्था गरिएको सोसाइटीका सदस्य अफजल हुसेन (गुल्जार)ले बताए ।

Facebook Comments

सम्बन्धित समाचार