हाम्रो देशको सुरक्षा व्यवस्था कस्तो छ भन्ने कुरा त विभिन्न समयमा हुने गैरकानुनी क्रियाकलापहरू, विभिन्न अपराधहरू, मानव तस्करीका समाचारहरूले नै प्रष्ट पारेको छ । विभिन्न समयमा समातिएका अपराधीहरू विना सजाय छुट्नुले पनि नेपालको कानुनको अवस्था र कार्यान्वन कस्तो छ भन्ने देखाउँछ ।
विभिन्न आपराधिक घटनाहरूमा ठूला मान्छेहरूको संलग्नता हुनुले पनि यो कुराको पुष्टि गर्छ । कानुन बनाउने तहमा रहेकाहरू नै अपराधी छन् भने त्यो मुलुकको अवस्था कस्तो होला ? हामी सजिलै अनुमान लगाउन सक्छौं, नेपालको जस्तो होला ।
विभिन्न समयमा विभिन्न किसिमको शासन व्यवस्था स्वीकार्यौं हामीले । ती विभिन्न शासन व्यवस्थामा अनेक शासकहरू जन्मिए । तर तिनीहरूले काम गर्ने तरिकामा भने केही परिवर्तन आएन । एउटा स्वाधीन मुलुकको यस्तो दुर्दशा विरलै भेटिने गर्छ ।
भर्खरै ३३ किलो सुन काण्डका मुख्य अभियुक्त भनिने चुडामणि उप्रेती ‘गोरे’ लाई नेपाल प्रहरीले समात्यो । तर यति सजिलै भने समातिएन । यस काण्डमा पूर्व प्रहरी अधिकृतदेखि लिएर ठूला मान्छेहरूको नाम पनि जोडियो ।
अब गोरे समातिएपछि ती अन्य संलग्नहरू जो भागेका छन् या समाजको प्रतिष्ठित पदमा छन् । तिनीहरू समातिन्छन् कि समातिँदैनन् । त्यो देखिनै बाँकी छ ।
यो सुन काण्डमा नेपालको ठूला मान्छेहरूदेखि अण्डर वल्र्ड डन ‘दाउद’ सम्मको नामसम्म जोडिएर आयो । जसलाई समात्न नसकिने प्रहरी अधिकृतहरू स्वीकार्छन् । जसले नेपाल हुँदै भारत पु¥याउनका लागि नेपालको रुट प्रयोग गरेको भन्ने समाचारहरू छापिए ।
नेपालमा किन यस्तो फितलो सुरक्षा व्यवस्था छ ? संसारभरका ठूलो अपराधीले आफ्नो अपराधको जालो नेपालको बाटो भएर जसरी फैलाइरहेछन् । त्यो सिंगो नेपालको लागि पनि लाजमर्दो कुरा हो ।
केही समय अगाडि पनि नेपालमै जेल जीवन बिताइरहेका कुख्यात सिरियल किलर चाल्र्स शोभराजले भनेका थिए, ‘म नेपालको एयरपोर्टबाट हात्ती छिराइदिन्छु ।’ उनको यो अभिव्यक्तिबाट पनि प्रष्ट होइन्छ कि नेपालको सुरक्षा व्यवस्था कतिसम्म फितलो छ भनेर ।
यस्तो फितलो सुरक्षा व्यवस्था हुनुका पछाडिका कारणहरू के के हुन् ? किन यस्तो लाजमर्दो घटनाहरू घटिरहेछन् नेपालमा ? यी जटिल प्रश्नहरूको उत्तर सायद सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीसँग पनि छैन होला ।
तर नेपाल प्रहरी कोबाट र कसरी परिचालन भइरहेछ ? यो सवाल झनै जटिल सवाल हो । तर अब सरकारले हरेक तह र तप्कामा नियन्त्रण गरेर सुरक्षा व्यवस्थालाई मजबुद बनाउनुपर्छ । यसका लागि गृह मन्त्री रामबहादुर थापामाथि ठूलो चुनौती पनि छ । संस्कारजस्तै बनिसकेको यस्तो बेथितीलाई जरैदेखि उन्मूलन गर्नका लागि उनले ठूलो जोखिम उठाउनुपर्नेछ ।
फेरि त्यो जोखिम उठाएर साँच्चै सफल भए भने राम बहादुर थापालाई भोलिका दिनमा नेपाली जनताले श्रद्धाको रुपमा लिनेछन् । एउटा गज्जबको र गतिलो संस्कार बसाउनुपर्ने जिम्मेवारी पनि उनको काँधमा छ ।
अबका आउने दिनमा अरुले त्यो संसार सिकुन् र जनताले न्यायको प्रत्याभूति पाउन सकुन् । राज्य नठगियोस् । ३३ किलो त के ३ आना सुन पनि करको दायराभन्दा बाहिर नजाओस् । अनि पो हुन्छ त समृद्धि ! अनि पो हुन्छ त समुन्नत समाजको निर्माण ! गृहमन्त्री राम बहादुर थापालाई सफल कार्यकालको शुभकामना ।
नेपाली जनताले यस्तै उदाहरणीय कामको अपेक्षा सधैं गरिरहन्छ । र जनताले दिएको भोटको कुनै पनि हालतमा अवमूल्यान नहोस् !