यार्सागुम्बा संकलनका लागि जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटन खुला गरिएसँगै सर्वसाधारण धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले हिजोबाट जिल्लाका विभिन्न नाकाबाट इजाजतपत्र वितरण गरी यार्सागुम्बा टिप्नका लागि पाटन जान खुल्ला गरेको हो ।
मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु दुई हजार ५०० र जिल्ला बाहिरकालाई रु तीन हजार ५०० रकम तोकिएको निकुञ्जले जनाएको छ ।
डोल्पामा सयौँको संख्यामा रहेका यार्सागुम्बा पाटनमा दशौं हजार सर्वसाधारण वनस्पती र जीवको दुबै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगिसकेका छन् । यार्सागुम्बा टिप्न गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर पाटन पुगेका छन् ।
आम्दानीको मुख्य स्रोत
बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो । नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने क्षेत्रको रुपमा समेत डोल्पा चिनिन्छ ।
डोल्पाली जनताको जीवनस्तरसँग जोडिएको यार्सागुम्बाको संकलनका लागि वर्षेनी दशौँ हजार सर्वसाधारण बन्दोबस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्सागुम्बा पाटनमा पुग्ने गर्दछन् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि डोल्पामा यार्सागुम्बाको महाकुम्भ मेला शुरु भएको छ ।
यार्सागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभई छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–१ का लोकमान श्रेष्ठ पनि बन्दोबस्तीका सामानसहित भाङ्का पाटनमा यार्सागुम्बा टिप्न पुगिसकेका छन् । साना बच्चाबच्चीलाई कुरुवाको भरमा घरमै छाडेर पाटन हिँडेका श्रेष्ठ यसवर्ष एक महिने अवधिमा दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको बताउँछन् ।
त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाकै जमानसिंह कठायत पनि विगत वर्षमा जस्तै यसपटक पनि यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्ने शुरमा छन् । पाटनमा पुगेर यार्सागुम्बा टिप्ने आफू एक्लैले दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको उनले बताए ।
यार्सागुम्बाबाट धेरैले राम्रो आम्दानी गर्न सकेपनि कतिपयले भने उल्टो नोक्सानी व्यहोर्नु पर्दछ । यार्सागुम्बा टिप्ने समयमा पचासौँ हजारका उधारो सामान लिएर पाटन पुग्छन् भनेजति यार्सागुम्बा नपाएपछि घरको अन्य आम्दानीबाट उधारो रकम चुक्ता गर्नुपर्दछ । त्यसो त यार्साको कमाइको साटो साहुसँग ऋण काढेर व्यापारीको उधारो चुक्ता गर्दा ऋणबाट माथि उठ्न नसकेका थुप्रै उदाहारण छन् ।
यार्साले बनायो सुनसान
यार्सारुपी सुन खोज्नु डोल्पालीको रहर नभई नियति नै हो । वर्षभरिको कमाइ गर्न हिमाली भेगमा पुग्नु उनीहरुको रोजगारी हो । त्यसो त यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि गाउँबस्ती नै सुनसान पारेर डोल्पावासी यार्सागुम्बा पाटनको यात्रा तय गरिसकेका छन्् । यहाँका करेलीकाँडा, पहाडा, सुँ, ल्हा, माझफाल, रह, तल्लो डोल्पाका कालिका, नर्कु, इल, उपल्लो डोल्पाका साल्दाङ, भिजेर, मुकोट, फोक्सुन्डोलगायतका वस्ती सुनसान छन् ।
पशु चौपायासहित दूधेबालक, सुत्केरीसहित पाटनतिर गएपछि यहाँका बस्ती सुनसान बन्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय नैनानन्द देवकोटाले बताउनुभयो । गाउँघरमा वृद्धवृद्धाबाहेक अरु कोही नभेटिने गरेपछि काम गर्ने मान्छे नपाउँदा जेठबाट शुरु हुने धान रोपाइँ गर्नसमेत समस्या हुने गरेको देवकोटाले बताउनुभयो ।
प्रतिगोटा रु ५०० देखि १५ सयसम्म पर्ने यार्सागुम्बा समयको प्रभाव छिमेकी जिल्ला रुकुम, जाजरकोटमा पनि धेरै पर्ने गर्दछ । यार्सागुम्बा समयमा रुकुम जाजरकोटवासी समेत घरमा ताला लगाएर परिवारसहित यार्सागुम्बा खोज्न डोल्पा पुग्छन् ।
मृत्यु जितेर कमाइ
यार्सागुम्बा संकलन गर्नु सोचेजति सहज छैन् । हिमालका उच्च भू–भागसम्म पुग्नु मृत्युलाई जिते सरह हो । चार हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाली पाटनमा मात्र पाइने यार्सागुम्बा संकलन गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो । वर्षेनी थुप्रै सर्वसाधारणको चिसो र लेक लागेर मृत्यु हुनेगर्दछ ।
यार्सागुम्बा पाइने हिमाली पाटनसम्म पुग्न अप्ठेरा र अनकन्टार भिरका बाटा पार गर्नुपर्दछ । यार्सागुम्बा पाटन पुगिसकेपछि पनि भारी हिमपात, वर्षाकाबीच पनि दिनभर घुँडा धसेर खोज्नुपर्ने हुँदा अत्याधिक चिसोका कारण धेरैजना बिरामी पर्ने र कतिपयको त निधनसमेत हुने गरेको त्रिपुरासुन्दरी–१ का कालुप्रसाद हमालले बताउनुभयो ।
विद्यालय बन्द, कार्यालयको कामकाज प्रभावित
बहूमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्ने समय शुरु भएलगत्तै डोल्पाका अधिकांश विद्यालय बन्द भएका छन् । विद्यार्थी मात्र नभई शिक्षक पनि यार्सा टिप्न पाटनतर्फ जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् ।
औपचारिक बिदा नभए पनि सम्पूर्ण विद्यार्थी यार्सागुम्बा पाटन जाने गरेरकाले विद्यालय स्वतःबन्द हुने गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताउनुभयो ।
त्यस्तै यार्सागुम्बा संकलनको समय शुरु भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा सेवाग्राहीको चाँप घटेको छ । सर्वसाधारण सबै यार्सागुम्बा टिप्न पाटन गएपछि सेवाग्राहीको चाप घटेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत भीम धरलाले बताउनुभयो ।
यतिबेला मुख्य बजार समेत सुनसान बन्दै गएका छन् भने यार्सागुम्बा पाइने सयौँ पाटन भने रंगीचंगी पालले रंगिएका छन् ।
तीनवटै सुरक्षा निकाय परिचालन
यार्सागुम्बा संकलनको समयलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तीनवटै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि सुर्खेतबाट ७५ जनाको संख्यामा सशस्त्र प्रहरी डोल्पा आइपुगेको छ ।
त्यस्तै १५० भन्दा धेरै प्रहरी परिचालन गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । निकुञ्ज सुरक्षार्थ नेपाली सेना पनि तोइजुम, छेप्का, सुन्दरलगायतका पोष्टमा सेना बसिरहेको शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो ।
यार्सागुम्बा सिजन अवधिभर हुने हत्या, हिंसा, लुटपाट,चोरी डकैटीलाई नियन्त्रण गर्नका लागि तीनवटै सुरक्षा निकाय परिचारलन गरिएको बताइएको छ । यतिखेर यार्सागुम्बाको कारोबारका लागि करोडौँ रुपैयाँ बोकेर व्यापारी डोल्पा भित्रने गर्दछन् । जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै त्रिपुराकोट, कालागौँडालगायतका नाकामा प्रहरीले विशेष सर्तकता अपनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।