• होमपेज
  • समाचार
  • औद्योगिक करिडोरमा विद्युत्भार कटौती अन्त्य गरिने

औद्योगिक करिडोरमा विद्युत्भार कटौती अन्त्य गरिने

  • सोमवार, चैत्र १२, २०७४
औद्योगिक करिडोरमा विद्युत्भार कटौती अन्त्य गरिने

सरकारले ‘नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकार’को अवधारणासहित आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने भएको छ ।

उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक चार घण्टा विद्युत्भार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रको आज साँझ स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ सालको वैशाख महिनाको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रलाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ साल, नयाँ उत्साह, नयाँ सञ्चार र नयाँ सरकारको अनुभूति दिलाउन वैशाखको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रमा पूर्णरुपमा विद्युत् उपलब्ध गराउनुस् ।”

ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणका उच्च कर्मचारीलाई मन्त्री पुनले सो निर्देशन दिनुभएको हो । औद्योगिक करिडोरमा प्राधिकरणले गर्दै आएको विद्युत्भार कटौती हटाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाले सरकारसँग आग्रह गर्दै आएका थिए ।

नदीमा पानीको प्रवाहसमेत बढ्ने भएकाले विद्युत्भार कटौती अन्त्य गर्ने प्राधिकरणले तयारी गरेको थियो । प्राधिकरणले भने आगामी जेठदेखि औद्योगिक करिडोरमा भइरहेको विद्युत् कटौती अन्त्य गर्ने तयारी गरेको थियो । तर मन्त्री पुनले नयाँ सन्देश दिनका लागि नै भएपनि वैशाखको अन्तिम सातादेखि नै औद्योगिक करिडोरमा विद्युत्भार कटौतीको अन्त्य गर्न निर्देशन दिनुभएको हो ।

हाल साँझको समयमा प्राधिकरणले घरायसी प्रयोजनका लागि विद्युत् आवश्यक भएकाले औद्योगिक करिडोरमा विद्युत् आपूर्ति बन्द गर्दै आएको छ । उद्योगमा साँझको समयमा २५० मेगावाट बराबरको विद्युत् माग हुँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीको मागबारे आफू जानकार भएपनि माग र आपूर्तिमा सन्तुलन मिलाउन साँझको बढी विद्युत् माग हुने समयमा औद्यौगिक करिडोरको विद्युत् कटौती गर्ने गरिएको बताउनुभयो ।

हाल नेपाल विद्युत् प्राधिकरणको उत्पादन ३५६ मेगावाट रहेको छ । त्यसमा कुलेखानी पहिलो र दोस्रो जलाशययुक्त आयोजना हुन् भने अरु सबै आयोजना नदी प्रवाही आयोजना हुन् । प्राधिकरणले मध्यमस्र्याङदी, कालीगण्डकी जस्ता आयोजनालाई अर्ध जलाशययुक्त ढाँचामा दिनभरी पानी जम्मा गरेर साँझमा मात्रै चलाइरहेको छ ।

निजी क्षेत्रका आयोजनाले हाल १४५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेका छन् । नदीमा पानीको प्रवाह घटेका कारण आयोजनाबाट उत्पादित विद्युत्को मात्रा एकदमै न्यून रहेको छ । हाल भारतबाट ४६० मेगावाट विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल विद्युत् माग एक हजार २५० मेगावाट रहेको छ । साँझको समयमा करीब २७० मेगावाट विद्युत् अपुग हुने गरेको छ । अपुग विद्युत् औद्योगिक करिडोरलाई कटौती गरेर घरायसी रुपमा प्रयोग गरिएको छ ।

भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले केन्द्रले दिने सेवा तथा सुविधाका बारेमा मन्त्री, सचिव र कार्यकारी निर्देशकलगायतलाई जानकारी गराउनुभएको थियो । वीरगन्ज, हेटौँडा र विराटनगर औद्योगिक करिडोरमा विद्युत्को माग बढी रहेको छ । साँझको समयमा उद्योगले खपत गर्ने विद्युत्को मूल्य अरु समयको भन्दा बढी महँगो पर्ने भएकाले पनि उद्योगले लिने गरेका छैनन् ।

सो अवसरमा सामान्य प्राविधिक अवस्थामा बाहेक प्राधिकरणले कुनै पनि स्थानमा विद्युत्भार कटौती नगरेको तथा प्राविधिक समस्याका कारण विद्युत् काटिनुलाई ‘लोडसेडिङ’ नभन्न समेत आफूहरुले उपभोक्तालाई आग्रह गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराउनुभएको थियो । –रमेश लम्साल

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)