• होमपेज
  • समाचार
  • हावाको भरमा जनताले रवीन्द्र मिश्रलाई भोट हाल्दैनन्ः प्रकाशमान

हावाको भरमा जनताले रवीन्द्र मिश्रलाई भोट हाल्दैनन्ः प्रकाशमान

  • सोमवार, कार्तिक २०, २०७४
हावाको भरमा जनताले रवीन्द्र मिश्रलाई भोट हाल्दैनन्ः प्रकाशमान

काठमाडौं,कार्तिक २० –

नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेद्धवार प्रकाशमान सिंहले जनताले हावाको भरमा विवेकशील साझा पार्टीका आफ्ना प्रतिस्पर्धी उम्मेदवार रवीन्द्र मिश्रलाई भोट नहाल्ने दाबी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सपना बाँड्दैमा जनताले विश्वास नगर्ने बताए । प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाव मिलाउन नसक्ने आरोप लगाउँदै उनले भने, ‘प्रश्न सोधेर मात्रै हुन्छ ? उत्तर दिन आउनुपर्यो नि, उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ सिंहले अघि भने,‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन्।’

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा काँग्रेसले जित निकाल्ने समेत उनले दाबी गर्न भ्याए । अर्को प्रसंगमा उनले काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्वार आफु नै भएको दाबी समेत गरेका छन्। उनले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भैसकेको बताउँदै काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्धवार आफु नै भएको दाबी गरेका हुन् ।  उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा समेत गरे । यसैबीच आजदेखि सिंहले घरदैलो अभियान सुरु गरेका छन् ।

सोमबार काठमाडौंको भिमसेनगोलाबाट घरदैलो अभियान सुरु गरेका सिंहले काठमाडौं क्षेत्र नम्बर १ को समग्र विकासका लागि जनताले आफूलाई विजयी बनाउने दावी गरे । निवर्तमान सांसद समेत रहेका उनले काठमाडौं क्षेत्र नम्बर १ मा आफूले सामुदायिक विद्यालय, बाटो, ढललगायतका समग्र विकासमा उल्लेखनीय योगदान दिएको दावी गर्दै त्यसलाई पूरा गर्न पुनः एक पटक जनताले कांग्रेसलाई अवसर दिने विश्वास व्यक्त गरे । नेता सिंहले आफू विजयी भएकै कारण काठमाडौं क्षेत्र नम्बर १ को विकास निर्माणको कामले गति लिएको बताए ।

कांग्रेस नेता सिंह यसअघि २ पटक यस क्षेत्रबाट निर्वाचित भइसकेका छन् । संविधान जारी गर्ने कामको नेतृत्व गरेकाले मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व गर्ने अवसर पनि काँग्रेसलाई नै दिनुपर्ने सिंहको तर्क थियो ।

Facebook Comments

सम्बन्धित समाचार