• होमपेज
  • समाचार
  • भारतीय भूमिमा दुईवटा गैंडा भेट्टिएपछि निकुञ्जको टोली भारतमा

भारतीय भूमिमा दुईवटा गैंडा भेट्टिएपछि निकुञ्जको टोली भारतमा

  • सोमवार, कार्तिक २०, २०७४
भारतीय भूमिमा दुईवटा गैंडा भेट्टिएपछि निकुञ्जको टोली भारतमा

चितवन,कार्तिक २०-

भारतको वाल्मीकि टाइगर रिजर्बनजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैंडा भेट्टिएको छ । रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको अनुमान गरिएको भारत पुग्नुभएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए ।‘नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किमी भारततर्फ दुईवटा वयस्क गैंडा देखिएका छन्, दुई–चार दिनमा उद्धार गर्नुपर्ने देखिएको छ’, डा गैरेले भने ।

भारतको वाल्मीकि टाइगर रिजर्बले गैँडा लैजान अनुरोध गरेपछि अवस्था बुझ्न भारत पुगेको उनले बताए । गैँडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्य सामग्री पनि लैजानेक्रम शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ । गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए । दुई वटा गैँडा भने बाढीका कारण मरेको थियो । बाढीले चितवन निकुञ्जको वन्यजन्तु वासस्थान नै तहसनहस बनाएको थियो । रासस

Facebook Comments

सम्बन्धित समाचार